क्याल्सियमको कहानी : ज्वानोको प्रयोग, 'एक पन्थ दो काज'
- डा. अरूणा उप्रेती - जनस्वास्थ्यविद्
- १३ पौष शनिबार, २०८१ | १४:५१:०० मा प्रकाशित
आजकल विभिन्न स्वास्थ्यकर्मीहरूले शरीरमा क्याल्सियमको कमी भएर हुने समस्या बारेमा भन्न थालेका छन् । शरीरमा क्याल्सियमको कमी भएपछि समस्या हुने समस्यामध्ये धेरैलाई थाहा पाएको समस्या हड्डी कमजोर हुँदै जाने समस्या हो । महिनावारी सुकेपछि वयस्क महिलालाई पनि क्याल्सियम कम भएपछि उनका हाड फुसफुसे हुँदै जाने सम्भावना हुन्छ । स्वास्थ्यको यो समस्यालाई कम गर्न 'औषधी' बनाइएको छ, क्याल्सियमको चक्की ।
पोषण समस्या समाधान गर्न प्राकृतिक तरिकाभन्दा औषधी प्रयोग गरिने प्रवृत्ति बढेकोले धेरै औषधी कम्पनीहरूले आजकल क्याल्सियम चक्की बनाइरहेछन् । तर नेपालीहरूले मीठो मानेर खाने गुन्द्रुक केवल स्वादको लागिमात्रै होइन, यसमा क्याल्सियम पनि छ भन्ने तथ्थ हामीमध्ये कमैलाई थाहा छ । स्वस्थ रहन एक दिनमा कति क्याल्सियम चाहिन्छ भन्ने धेरैलाई थाहा हुँदैन । तर
४-८ वर्षसम्मका बालबालिकालाई क्याल्सियम १००० मिग्रा -मिलिग्राम) एक दिनमा चाहिन्छ भने गर्भवती महिला र दूध ख्वाइरहेकी महिलालाई केही १३०० मिग्राजति क्याल्सियम चाहिन्छ । बूढो मान्छे वयस्क महिलालाई भने १२०० मिग्रा क्याल्सियम एक दिनमा चाहिन्छ ।
४० वर्ष पुगेपछि क्याल्सियम र भिटामिन ‘डी’ खानै पर्छ भनेर मान्यता स्थापित भएको वर्तमान समयमा यस मान्यताविरुद्धको एउटा लेख ब्रिटिस मेडिकल जर्नलमा छापिएको छ । यो लेखमा ‘क्याल्सियम चक्की खाँदा शरीरको हाड भाँचिने कम हुन्छ भन्ने पुष्टि हुँदैन, बरु धेरै क्याल्सियम खाँदा स्वास्थ्यमा विभिन्न समस्या पर्न सक्छ’ भन्ने कुरा उल्लेख गरिएको छ । यो अध्ययन प्रतिवेदनमा ‘महिलाहरुले हरेक दिन १ हजार मिलिग्राम चक्की क्याल्सियम खाना खाएपछि खाँदा उनको हड्डी भाँचिने प्रक्रिया कम हुन्छ’ भन्ने कुरा पनि ‘ठीक नभएको’ उल्लेख गरिएको छ । यसको सट्टा प्राकृतिक तर क्याल्सियमले भरिपूर्ण भएको खानाले महिला स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ भन्ने कुरा लेखिएको छ
(https://www.bmj.com/content/342/bmj.d2040)
ज्वानोको झोल हाम्रो संस्कृतिमा सुत्केरी र गर्भवती महिलाहरूले खाने भनेर बडो महत्त्व दिइएको छ । हाम्रा पुर्खाहरूले सायद क्याल्सियमको मात्रा धेरै छ भन्ने थाहा पाएर नै यस्तो भएको हो कि ? ५ ग्राम- एक चिया चम्चामा ज्वानोमा ७५ मिग्रा ज्वानो पाइन्छ । यदि दस चिया चम्चा ज्वानो खाइयो भने गर्भवती र दूध ख्वाइरहेकी महिलालाई चाहिने ५० प्रतिशत क्याल्सियम त १० चम्चा ज्वानोले नै पुग्छ ।
ज्वानोको बारेमा क्याल्सियमको महत्त्वपूर्ण स्रोत हो भनेर यसलाई किशोर-किशोरीलाई खान दिनुपर्छ भनेर कतै छलफल हुँदैन । सायद कुनै बाहिरको डाक्टर वा पोषणविदले आएर ज्वानोको महत्त्वबारे र यसमा कति धेरै क्याल्सियम छ भनेर जानकारी दिएर लेख लेख्यो भने अनि हाम्रो स्वास्थ्य मन्त्रालयको पोषण विभाग शाखाले बल्ल यसको महत्त्व बुझ्नेछ ।
त्यो बेलासम्म चाहिँ ज्वानो केवल सुत्केरी महिलालाई दिने खानाको रूपमा रहिरहनेछ ।
तर गृहिणी, आमा र बिरामी व्यक्तिहरूको हेरचाह गर्ने व्यक्तिहरूले विचार गर्नुस् कि घरमै सहजै रूपमा पाइने, सजिलोसँग बनाउन सकिने र स्वादिलो तरिकाले विभिन्न परिकार बनाउन सकिने ज्वानो एक उत्तम पोषणयुक्त र सस्तो खाना हो ।
अर्को कुरा पनि के विचार गर्नुपर्छ भने ज्वानोमा शरीरलाई चाहिने अन्य विभिन्न सूक्ष्म पोषणतत्त्व पनि पर्याप्त हुन्छ ।
त्यसैले ज्वानोको प्रयोग 'एक पन्थ दो काज हो ।'
युवक वा युवतीको भएको कालो तिलले सौन्दर्य बढाउँछ । विभिन्न कवि गायकहरूले यसलाई भावपूर्ण तरिकाले लेखेका छन्, गाएका छन् । तर हामीलाई सायदै थाहा छ कि घरमा पाइने तिलले चाहिँ क्याल्सियम दिएर हाम्रो हड्डी मजबुत गर्छ । माघे संक्रान्तिमा तिलको लड्डु त हामी सबैले मीठो मानेर खान्छौं । तिलको अचारले त हाम्रो भोजनमा एक महत्त्वपूर्ण स्थान ओगटेको हुन्छ । तिलको छोप टिम्मुर र गोलभेडा हालेर लेदो अचार बनाएपछि खानाको स्वाद नै भिन्नै हुन्छ । तर यो स्वादसँगै यति धेरै क्याल्सियम पनि पाइन्छ भन्ने थाहा पाएपछि पक्कै पनि तिललाई कुपोषण र क्याल्सियमको कमी कम गर्ने तत्त्व भनेर स्वास्थ्य मन्त्रालयले पनि जनस्तरमा यसको सन्देश प्रवाह गर्ला ।
सस्तोमा पाइने लट्टेको साग पोषणले भरिपूर्ण पोषण हो र त्यसमा क्याल्सियम पनि प्रशस्त पाइन्छ भन्ने तथ्य हामीलाई कमै जानकारी छ । तर कुनै पनि पोषणबारे हुने तालिममा लट्टेमा पाइने प्रोटिन र क्याल्सियमबारे जानकारी दिइँदैन ।
कर्कलोको सुकेको साग पनि क्याल्सियमले भरिपूर्ण हुन्छ । १०० ग्राम कर्कलाको सागमा १५४६ मि.ग्राम क्याल्सियम पाइन्छ । कर्कलाको सागलाई पनि विभिन्न तरिकाले खान सकिन्छ । मस्यौरा बनाएर खान सकिन्छ । यी सबै खाद्यपदार्थहरू हाम्रो मस्यौरामा जहिले पनि प्राप्त हुन्छन् । तर तिनलाई क्याल्सियम पोषणको भण्डार भनेर विचार गरेर प्रयोग गरियो भने क्याल्सियम चक्की किन पैसाको बचावट हुँदैन र ?
डा. उप्रेतीकाे सामाजिक सञ्जालबाट ।
प्रतिकृया दिनुहोस