गाउँ सहर

कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाले गरे लोबुचे हिमालको सफल आरोहण

  • २९ मङ्सिर शनिबार, २०८१ | ०९:१३:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासहित ५ जना युवाले संसद् दिवसको सन्दर्भ पारेर ६ हजार १४५ मिटर उचाइको लोबुचे हिमाल आरोहण गरेका छन्। 

यही मङ्सिर २१ गतेदेखि खुम्बु पदयात्रामा रहेका शर्मा र उनका साथीहरूले यही मङ्सिर २७ गते राति साढे ११ बजे लोबुचेको बेसक्याम्पबाट आरोहण शुरु गरेर आज मङ्सिर २८ गते विहान ६:४५ बजे सफल आरोहण गरेको उनको सचिवालयले जनाएको छ।

महामन्त्री शर्मा सङ्घीय संसद्का दुवै सदनको वर्तमान कार्यकालका तर्फबाट लोबुचे हिमाल आरोहण गर्ने पहिलो सांसद बनेका छन्। साथै उनी मुख्य राजनीतिक दलका मुख्य पदाधिकारीमध्ये यो हिमाल आरोहण गर्ने प्रथम पदाधिकारीसमेत बनेका छन्।

आरोहण दलमा रहेका अनुसन्धानकर्ता प्रकाश लामिछाने, इन्जिनियर सुभाष अधिकारी, पदम शर्मा तथा कीर्तिमानी आरोहीद्वय मिङ्मा शेर्पा र लाक्पा शेर्पाले लोबुचेको सफल आरोहण गरेका हुन्। 

आरोहण दलका सदस्य प्रकाश लामिछानेका अनुसार हिमाल आरोहणमार्फत जलवायु परिवर्तनले हिमालमा पुर्‍याएको असरको स्थलगत अध्ययन गरेर संसद्, सरकार र संसारको गम्भीर ध्यानाकर्षण गराउने रहेको छ।

पूर्वदेखि पश्चिमसम्मको समग्र हिमाली क्षेत्रका नागरिकले भोग्नुपरेको चुनौतीको थप अध्ययन गरेर समाधानका लागि सम्बन्धित सबै तहको ध्यानाकर्षण गराइनेछ। 

खुम्बु पदयात्रा क्रममा लुक्ला, फाक्दिङ, नाम्चे, तेङ्बोचे, दिबुचे, दिङ्बोचे, थुक्ला र लुबुचे हाइक्याम्प हुँदै पदयात्रा क्रममा टोलीले लोबुचे हिमाल आरोहणका अतिरिक्त थामसेर्कु, आमादब्लम, चोलात्से, आइल्याण्ड पिक, तबुचे, पुमरी, मकालुलगायतको हिमालको अवस्थालाई (खुम्बु)पदयात्रा क्रममा नजिकबाट दृश्यावलोकन र स्थानीयवासीसँग व्यापक संवाद गरेको थियो।

संसद्को आगामी अधिवेशनमा सांसद शर्माले जलवायु परिवर्तनले हाम्रो हिमाली क्षेत्रमा परेको असरबारे स्थलगत अध्ययनको विवरण राख्ने बताए।

 

तपाईँको मत