क्याप्टेन राेहित चम्किँदा चितवनलाई हराउँदै लुम्बिनीकाे पहिलाे जित
- २५ मङ्सिर मंगलबार, २०८१ | १२:२६:०० मा प्रकाशित
काठमाडौं । कप्तान रोहितकुमार पौडेल चम्किँदा लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा चितवन राइनोजलाई हराउँदै पहिलो जित हासिल गरेको छ ।
मंगलवारको पहिलो खेलमा लुम्बिनीले चितवनलाई ३३ रनले पराजित गरेको हो । लुम्बिनीले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन मात्र जोड्न सक्यो । चितवनका लागि ल्युक बेनकेनस्टनले सर्वाधिक ३१ रन बनाए । चौथो विकेटका रुपमा ११औं ओभरको दोस्रो बलमा ल्युकलाइ अभिषेस गौतमले आउट गराए ।
कप्तान कुशल मल्लले १७ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन जोडे । रवि बोपारा १६ बलमा १२ रन बनाउँदै कप्तान रोहितको बलमा आउट भए । ओपनर सन्तोष कार्की पनि तेस्रो ओभरको अन्तिम बलमा आउट भएका थिए । उनलाई रामोन सिमण्डले आशुतोष घिरैयाबाट क्याच आउट गराए । चौथो ओभरको पहिलो बलमा सोहेल तन्भिर कप्तान पौडेलको बलमा कट एण्ड बोल्ड आउट भए । तन्भिर १ रनमा आउट भएका थिए ।
रोहितले नै चौधौं ओभरको तेस्रो बलमा जान निकोललाई एलबिडब्लु आउट गराए । जानले ७ बलमा ६ रन जोडेका थिए । कप्तान रोहितकुमार पौडेलको बलमा चितवनका ओपनर विपीन रावलले प्रहार गरेको बाउन्ड्रि बचाउने क्रममा तीव्र गतीका बलर दुर्गेश गुप्ता घाइते भएर मैदान बाहिरिएका थिए । घाइते दुर्गेशको स्थानमा फिल्डिङ गर्न सुर्य तामाङ मैदान प्रवेश गरेका थिए । त्यस लगत्तैको अर्को बलमा विपिन पहिलो विकेटका रुपमा आउट भए ।
लुम्बिनीका लागि कप्तान रोहितले ४ ओभरमा १७ रन खर्चिएर ४ विकेट लिए । रामोन सिमोण्डसले २ तथा साद विन जाफर र अभिषेस गौतमले समान १ विकेट लिए ।
त्यसअघि टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो । लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ८० रन जोडेका थिए । उनले ६८ बलमा ६ चौका र ५ छक्का प्रहार गरेका थिए । प्रतियोगितामा आफ्नो दोस्रो अर्धशतक रोहितले ४३ बलमा पूरा गरेका थिए । रोहित लिगमा दुई अर्धशतक पूरा गर्ने पहिलो नेपाली क्रिकेटर हुन् । रोहितले यसअघि पोखरा एभेन्जर्सविरुद्ध ९५ रन बनाएका थिए ।
रोहित २ सय ६१ रनका साथ सर्वाधिक रनकर्ताको शीर्ष स्थानमा छन् । पाँचौ विकेटका लागि कप्तान रोहितले साद विन जाफरसँग मिलेर १ सय १४ रनको शतकीय साझेदारी गरे । यो प्रतियोगितामा पाँचौ विकेटका लागि भएको सर्वाधिक रनको साझेदारी हो । प्रतियोगिताका चौथो शतकीय साझेदारी हो ।
रिजन ढकालले दोस्रो ओभरमा नै २ विकेट लिएर चितवनलाई सुरुवातमै हाबी बनाएका थियो । तर, रोहित र जाफरको शतकीय साझेदारीले लुम्बिनी खेलमा फर्किएको थियो ।
जाफरले ३५ बलमा ५२ रन बनाए । उनले ४ चौका र १ छक्का प्रहार गरेका थिए । १०औं ओभरको अन्तिम बलमा साद विन जाफरले जीवनदान पाएका थिए । उनी कप्तान कुशलको बलमा सोहेल तन्भिरले सहज क्याच छोडेका थिए । जाफर त्यस समय पाँच रनमा रहेका थिए । अर्जुन साउद १२ बलमा १५ रन बनाउँदै आउट हुँदा सन्दीप जोरा ४ रनमा नट आउट रहे ।
रिजनले दोस्रो ओभरको पहिलो बलमा आशुतोष घिरैयालाई १ रनमा बोल्ड आउट गराएका थिए । तेस्रो बलमा उनले उन्मुक्त चन्दलाई शुन्य रनमा विकेटकिपर विपीन रावलको हातबाट क्याच गराएका थिए ।
आठौं ओभरको पहिलो बलमा कप्तान कुशल मल्लको बलमा टम मुर्सले जीवनदान पाएका थिए । मुर्सलाई रिजन ढकाल र जान निकोल लफ्टी इटनबीचको दुविधाको कारण क्याच मिस भएको थियो । त्यही ओभरको चौथो बलमा छक्का प्रहार गरेका मुर्स लगत्तैको बलमा फेरी छक्काको प्रयास गर्दा बाउन्ड्रीमा लफ्टीबाट नै क्याच भए ।
लुम्बिनीले चितवन सामू पावर प्लेमा २ विकेटमा ३३ रन बनाएको थियो । पाँचौं खेलसम्म आईपुग्दा चितवनले कुनै टोलीविरुद्ध ५० रनमाथीको रन खर्चिएको छैन । चितवनले पावर प्लेमा सुदूरपश्चिम रोयल्सविरुद्ध ३ विकेट लिदै सर्वाधिक ४८ रन खर्चिएको थियो ।
चितवनका लागि रिजन ढकालले २ तथा रञ्जित कुमार र कप्तान कुशलले समान १ विकेट लिए । सुरुवाती सबै ४ मा पराजित लुम्बिनी दबाबमा रहेको थियो । पहिलो अंक पाएको लुम्बिनी पाँचौ स्थानमा उक्लिएको छ । यसअघि लुम्बिनी विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।
चितवनले भने ५ खेलमा ३ जित र २ हारसहित तेस्रो स्थानमा छ । चितवनले जितका साथ शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । सुरुवाती दुई खेल जितेको चितवन तेस्रो खेलमा भने पराजित भएको थियो । काठमाडौं र पोखरालाई पराजित गरेको चितवन कर्णालीसँग हारेको थियो ।
पछिल्लो खेलमा भने चितवनले प्रतियोगिताकै बलियो मानिएको टोली सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो । शतप्रतिशत जितका साथ जनकपुर बोल्ट्स शीर्ष स्थानमा छ ।
लुम्बिनीले अर्को खेलमा बुधवार दिउँसो काठमाडौं गुर्खाजको सामना गर्नेछ । चितवनले भने शुक्रवार दिउँसो विराटनगर किंग्सको सामना गर्नेछ । आज नै हुने दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्ससँग खेल्दैछ ।
प्रतिकृया दिनुहोस