गाउँ सहर

अन्तर्राष्ट्रिय कार्बन व्यापारका लागि नेपालकाे ऐतिहासिक सम्झौता

काठमाडौं । नेपाल र स्विडेनबीच कार्बन व्यापारसम्बन्धी दुईपक्षीय सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । अजरबैजानको बाकुमा जारी राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२९ का क्रममा नेपाल र स्विडेनबीच कार्बन व्यापार सम्बन्धी सम्झौता भएको हो ।

सम्झौतापत्रमा नेपालका तर्फबाट वन तथा वातावरण मन्त्रालयका सचिव दीपक खराल र स्वीडेनका तर्फबाट ऊर्जा मन्त्रालयका महानिर्देशक क्यारोलिन एसर्फले हस्ताक्षर गरेका छन् । यो नेपालको तर्फबाट अन्तर्राष्ट्रिय कार्बन व्यापारमा गरिएको पहिलो दुई पक्षीय सम्झौता हो ।

सम्झौतापत्रमा उल्लेख भएअनुसार स्वीडेन सरकारले नेपालको राष्ट्रिय निर्धारित योगदान (एनडीसी) कार्यान्वयनमा सहयोग गर्ने छ । साथै हरितगृह ग्यास न्यूनीकरणमा स्वीडेनले सहयोग गर्ने वन तथा वातावरण मन्त्रालयका जलवायु महाशाखा प्रमुख डा.सिन्धु ढुंगानाले जानकारी दिए ।

पेरिस सम्झौताको धारा ६ दशमलब २ मा देशहरूले पेरिस सम्झौताको लक्ष्य प्राप्तिका लागि सरकार सरकारबीच दुई पक्षीय सम्झौता गरेर जलवायु अनुकूलनका कार्यक्रम अघि बढाउन सक्ने उल्लेख छ । सोही प्रावधान अन्तर्गत सन् २०२२ मा सहकार्यका लागि स्विडेन सरकारबाट नेपाल सरकारलाई प्रस्ताव आएको थियो । नेपालको मन्त्रिपरिषद् बैठकले गत कात्तिक २५ गते स्वीडेन सरकारसँग हुने दुईपक्षीय सम्झौता गर्न स्वीकृति दिएको थियो ।

ऊर्जा लगायतका क्षेत्रमा हरितगृह ग्याँस उत्सर्जनमा कटौती गर्ने परियोजनामा स्विडेन सरकारले सहयोग गर्ने र यसबाट दुवै देशका एनडीसी कार्यान्वयनमा सहयोग पुग्ने देखिन्छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को कात्तिक २५ गते बसेको बैठकले स्विडेन सरकारसँग हुने दुई पक्षीय सम्झौताको स्वीकृति गरेको थियो । अब सरकारले एनडिसी अनुसारका कार्य सम्पादनका लागि जलवायु न्यूनीकरणका क्षेत्रमा स्विडेनको सहयोग प्राप्तिको ढोका खुलेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत