कला

सयपत्रीलाई प्रेमपत्र

  • एमबी खड्का
  • १६ कार्तिक शुक्रबार, २०८१ | ०८:५२:०० मा प्रकाशित

मेरी प्रीय सयपत्री !

मुटुभरीको माया र आँखाभरिको सम्झना !!

तिमी भित्रका एकएक पत्रहरु

मैले तिमीलाई लेखेका प्रेमपत्र हुन क्यारे

आज यो १०० औं पत्र लेखिरहेको छु-

र तिमी सयपत्री हुँदै छ्यौ

तिमी फूलिरहनु सँधै मेरा प्रेमसित

युगौंयुग सम्म यसैगरी

मेरो घरमा एउटा कुकुर छ

हिजो मात्र देखें तिमीलाई ऊ सित

कुकुरको गला र सयपत्री माला

आह !

कुकुर यसरी गमक्क थियो कि

मानौं उसले लोकसेवा पास गर्यो

मानौं उसले चुनाव जित्यो

मानौं उसलाई अमेरिकी डिभी पर्यो

मानौं ऊ राजदूत नियुक्ति भयो...

के सबैलाई यस्तै एस्तै लाग्छ र ?

जसको गलामा तिमी हुन्छेउ

आज गोरु तिहार परेको छ

साँढेहरुको गलामा हुन्छेउ होला तिमी

साँढेहरु

जो सत्ययुगमा श्रीमहाँदेवजी सीत गठबन्धन गर्थे

र शासन गर्थे

जो अचेल अरु साँढेहरुसित गठबन्धन गर्छन्

र शासन गर्छन्

भोलि भाइतिहार हो

सयपत्री माला नल्याउनु भनेको छु दिदीलाई

तिमीलाई पहिरिएर

शासन गर्ने रहर छैन कसै माथि

अलिअलि आँखामा बिझाएको

अलिअलि मनमा घोचेको

सहुँला बुझाँउला

तर गलामा अब मखमली माला नै पहिरिन्छु

प्रिय सयपत्री !

माफ गरिदिनु मलाई

र जलाईदिनु ती सारा प्रेमपत्रहरु

किनकि

अब देखि म तिमीसित होइन

मखमलीसित प्रेम गर्छु ।

तपाईँको मत