ब्लग

विधिको उल्लंघन र शक्तिको दुरुपयोगकाे दुर्गति

सामान्यतया नियम, कानुन र पद्धतिको पालनालाई विधि भनिन्छ । विधिको शासनमा नियम, कानुन र पद्दतिलाई पूर्ण पालना गरिन्छ । विधिले सबैलाई सकारात्मक मार्गमा हिड्न डोराउँछ । विधिको पालना गर्नेले कसैसँग डराउन वा हार्न पर्दैन । विधिको पालन नगर्दा अराजकता निम्तिएको हामिले देखेका छौँ ।

राज्य संचालन, राजनीतिकदल संचालन, लडाइँ, झगडा चाहे जेमा होस् यो अदृश्य विधिले मनोवैज्ञानिक सुरक्षा दिइरहेको हुन्छ । विधि नमान्दा चक्रवर्ति सम्राट हुन् या निरंकुश चाहे लोकतान्त्रिक हुन् वा अरु कुनै ध्वस्त, विनास र नष्ट भएका धेरै उदाहरण छन् ।

हरेक राजनीतिक दल संचालनको पनि एउटा विधि हुन्छ । विधिमा टेकेर नेतृत्व अगाडि बढ्दा सधैँ सफलता प्राप्त गर्छन् भने विधि उल्लघंन गर्दा नेतृत्व मात्र हाेइन दल नै संकटग्रस्त रहेको समेत हामीले देखेका छौँ ।

आजको नेतृत्वले राप्रपालाई नयाँ राप्रपा बनाउन आफ्नो कार्ययोजना मै विधि, विधि, विधि भनेर उल्लेख गरेको छ । विगतमा हाम्रा नेतृत्वले विधिलाई चुनौती दिँदा हामीले निकै संकट व्यहोर्नुपरेको थियो । 

विषेशत ०५१ देखि ०५६ सम्मको समयमा हाम्रो नेतृत्वले पट-पटक विधि को उलङ्घन गर्दा एउटा मध्यमार्गी धारको रुपमा स्थापित भइसकेको राप्रपा थिलथिलो भएको थियो ।
पटक-पटक विधिलाई कुल्चिँदा राप्रपा सैद्धान्तिक र वैचारिक रुपमा नै राष्ट्रिय राजनीतिबाट झन्डै ओझेल पर्दै गएकाे ईतिहास हाम्रै सामु छन् ।

पटकपटक राप्रपा टुटफुट हुनुमा विधिको उलङ्घन नै कारक थियो । तात्कालिक समयमा राप्रपा टुट र फुटमा विधि उलङ्घन गर्दाको बखत आज राप्रपामा रहेका महत्त्वपूर्ण नेताहरु दुईतिर विभाजित थिए र त्यस अवधिमा भएका र गरेका हर्कतहरु आज सम्झना लाएक छैनन् ।

केन्द्रीय सदस्यदेखि माननीयसम्म खरिद-बिक्रीदेखि अपहरणसम्मका कहालिलाग्दो दिनलाई पुन विधिमा फर्काउन राप्रपाले निकै ठुलो मेहनत गर्नु परेको थियो । राप्रपाका तत् समयका विधि उल्लघन गर्ने र विधि पालना गर्ने नेताहरुले कस्ता-कस्ता हर्कत गरेका थिए आफैँ म:म भनुन् ।

विधि यस्तो सुरक्षा कवज रहेछ जसलाई मान्यो पूर्ण सुरक्षित मानेन असुरक्षित मात्र हाेइन धराशायी । फेरि विधि बोल्ने विषय मात्र होइन यो त पालना गर्ने विषय हो । 

आज नयाँ नेतृत्व, नयाँ विचार, नयाँ चिन्तन, नयाँ संकल्प र नयाँ शक्तिको साथ राप्रपा पुन राजनैतिक मञ्चमा उपस्थित छ । यो समय नेतृत्वको लागि अमर कृति राख्ने अवसर र चुनौती दुवै छ । हिजोको जस्तो दिन आउन नदिन एकमात्र मन्त्र विधि, विधि र विधि नै हो ।

दलको विधानलाई शिरोधार्य गरेर महाधिवेशनले कोरेको मार्गचित्रमा हिडदा विधिको पूर्ण पालना हुन्छ तर यसलाई तलमाथि गरियो भने विधिले नै औँला उठाउँछ । कसले के गर्न पाउँछ वा पाउदैन त्यो विधान मै प्रष्ट उल्लेख छ ।

नेतृत्वले विधि मिच्दा पनि भलै केही समय कोहि नबाेल्लान्, कसैले आवाज नउठाउँलान् तर त्यो मौनतामा मेरो समर्थन छ भनी सोच्नु मुर्खता हो । विधि पालन नगरि आफुलाई सर्वोचच्ता ठान्दा वा वैधानिक लौरो जथाभावी घुमाउँदा त्यसले आफ्नो शक्तिको पहिचान त गराउला अन्तत त्यो दुर्भाग्यमा सावित हुन्छ । हामीले विगतको राप्रपाको इतिहास हेर्दा हुन्छ ।

म मा सर्वोच्चता छ, मैले गरेपछि हुन्छ भनी आत्मरतिमा रमाउन पनि सकिएला कालान्तरमा त्यसको परिणाम सुखद हुँदैन । 

अर्काको अपमान गरेर आफ्नो मान खोज्नु, अर्कालाई जुधाएर सुरक्षित भइन्छ भनेर सोच्नु वा सुख पाएपछि दु:खका क्षण बिर्सनु यो सबै चिन्तनबाट विधिले मात्र सुरक्षित राख्छ । हिजोका साथ आज नरहन सक्छन् आजको साथ पनि निरन्तर नहुन सक्छ । राजनीतिमा थुप्रै घुम्ति र मोडहरु पार गर्नु पर्ने हुन्छ । राजनीति केवल एकक्षणको लागि हुँदैन ।
यो सबैबाबाट पनि सुरक्षित रहने मन्त्र केवल विधि, विधि र विधि नै हो । विधि उलङ्घन गरेर आफुमा भएको शक्तिको दुरुपयोग गर्दाको परिणाम हामीले राम्रोसँग देखेका र भोगेका छौँ ।

साउनको मकै बारीमा साँढे मडारिए झैँ अधिकार सम्पन्न व्यक्ति दलभित्रै मडारिन थाल्य‍ो भने त्यहाँ अराजकता निम्तन्छ र विधि मर्छ । त्यसतो अवस्था आयो भने विधिले चुनौती दिन्छ त्यो निकै कष्टकर हुन्छ र  सामाना गर्नको लागि कठिन हुन्छ । तसर्थ हाम्रो मुल मन्त्र विधि, विधि र विधि नै हुनु पर्छ । (पाठक राप्रपाका निर्वाचित केन्द्रिय सदस्य हुन् ।)                            

तपाईँको मत