पुष्पलाल (मध्यपहाडी) राजमार्ग विवाद र समाधान
- देवशंकर पाैडेल
- २८ श्रावण सोमबार, २०८१ | ०७:०७:०० मा प्रकाशित

नेपालका प्रमुख राजमार्ग मध्ये महेन्द्र राजमार्ग राजा महेन्द्रले सुरु गरे । त्यसपछि वीपी राजमार्ग बनेपा (धुलिखेल)-सिन्धुली-बर्दिवास सडक कम्युनिस्ट पार्टीका सांसदहरूका प्रस्तावमा निर्माण सुरु भयो । पुष्पलाल (मध्यपहाडी) लोकमार्ग कम्युनिस्टकै पहलकदमीमा सुरु भयो ।

अर्को त्यस्तै राजमार्ग मदन भण्डारी राजमार्ग पनि कम्युनिस्टकै प्रस्तावमा निर्माणाधिन छ । बीचबीचमा अरु पार्टीका सरकार बन्दापनि यी राष्ट्रिय गौरवका आयोजना भएका कारण निरन्तरता पायो । अहिले यी सबै राजमार्ग अघि बढिरहेका छन् । यसमा नेपालका कम्युनिस्टले गर्व गर्नुपर्छ । महेन्द्र राजमार्ग आजको परिस्थितिमा साँघुरो भैसकेको छ । यो तत्काल कम्तीमा ६ लेनको बनाउनु पर्ने आवश्यकता टड्कारो छ ।
पुष्पलाल लोकमार्ग कम्युनिस्ट नेतृत्वको सरकारले कामको थालनी गर्यो । तर विचमा यसको रेखाङ्कन सच्याइयो । सच्याउने सिलसिलामा पनि मध्यपहाडी जिल्लालाई न्याय भएन । रामेछाप स्वयम् पुष्पलालको जन्मभूमि हो । पहिले रामेछाप छुवाएको थिएन । पछि रामेछाप छुवाएको भएपनि छेउछेउबाट खनियो । जब सडक खनिसकियो, पुल पनि निर्माण भैसके, कालोपत्रे गर्नमात्र बाँकी भयो, तव हामी बाटो फेरी बदल्ने भनिरहेका छौँ । त्याे पनि कम्युनिस्टकै नेतृत्त्वमा । बाटो मध्य पहाडबाट जानु न्यायसङ्गत हो । तर खनिएका ठाउँमा सडक अलपत्र छाड्नु त्यस ठाउँका जनताप्रति महाअपराध हुन्छ । खनि सकिएको सडकको स्तर यथावत राख्नु पर्ने यहाँ (रामेछाप र सिन्धुली) का प्रभावित गाउँ ठाउँका जनताको माग छ ।
सम्माननीय प्रधानमन्त्रीज्यूका मुखबाट “बाँदरपनि नवस्ने उजाड ठाउँ” भनाइयो । ढेडु, बाँदरलाई राजमार्गको आवश्यकता पर्दैन । यो त्यति हेय ठाउँ होइन । हाेच्याउनु वाञ्छनीय थिएन । यहाँ गुन्सी, बेथान, खनियापानी, राकाथुम, भिरपानी, पकरबास र भलुवाजोरका अनेक ठाउँ पर्दछन् । भलवाडी, डहु, च्याडीटार, सिन्धुरेटार, लुभु, विस्वामीत्रगुफा, कोथवे, बेलघारी, घोर्मास्थान, सित्खाबजार, चहरी, डब्खा, पुछिघाट, सिमलाडी, सान्ने, सेलेघाटआदि रामेछाप जिल्लाका महत्त्वपूर्ण बस्तीहरू छन् । यी बस्तीमा धेरै जसो माझी समुदायका मानिसको बसोवास छ । सवै गाउँ बस्तीका बारेमा प्रधानमन्त्रीलाई थाहा नहुन सक्छ । कसले भन्न लगायो "बाँदर पनि नबस्ने ठाउँ" भनेर । यो ठाउँ बाँदर पनि बस्न नसक्ने हो भने मानिस कसरी छन् ?
हो मध्यपहाडी लोकमार्ग राणाकालीन मध्यपहाडी पैदल मार्ग भएर जानु न्यायसङ्गत हो । विज्ञान सङ्गत पनि हो । सडकमार्ग सहि ठाउँबाट लानु पर्दथ्यो । हिजो अन्याय भयो । निर्णय कार्यान्वयन गरौँ । तर कसैको जन्मभूमिलाई सम्मानपूर्वक बोलेर, नहोच्याए हुँदैन । यी ठाउँ त्यहाँका जनताका निम्ति स्वर्गभन्दा पनि गरिमामय छन् र नै ती त्यहाँ पुर्खौँदेखि मानिस बसोबास गरिरहेका छन् । उसबेला आज उठाइएका कुराको सुनुवाई भएन । त्यसवापत मैले आमजनता र नेतृत्व वर्गलाई जानकारी होस् भनेर राजधानी राष्ट्रिय दैनिकमा वि.सं. २०६९ असार ६ गते गुनासोका रुपमा एउटा लेख लेखेको थिएँ । त्यसपछि पनि हामी सत्तामा रह्यौँ । सहि आवाज सुनेनौँ । गरिब मुलुकको धेरै बिग्रियो, बल्ल होस खुल्यो, खुलेकोमा पनि धन्यबाद !
बाह्रवर्ष पहिले काभ्रे, रामेछाप र ओखलढुङ्गा र खोटाङका जनताको माग बमोजिम आज सडकको गन्तव्य बदलिने भएकोमा हामी हर्षित छौँ । यस बापत प्रधानमन्त्रीलाई धन्यवाद दिन चाहन्छौँ । नेपालको अर्को विकासको आयोजना सुनकोसी-२ ले सुनकोसी र तामाकोसीमा दह जमाउने योजना पनि थपिएको छ । मेरो उक्त लेख तयार हुँदासम्म त्यसको सर्वे भएको थिएन । अहिले तयार छ । ढिलो चाँडो त्यो योजना बन्ला । त्यसले बनाएको पोखरीलाई छलेर पुष्पलाल लोकमार्गको यस खण्डको नक्साङ्कन गर्नु बुद्धिमानी हुनेछ । काभ्रेपलाञ्चोक, रामेछाप र ओखलढुङ्गा जिल्लाका तहतहका जनप्रतिनिधिज्यूहरू अझ सचेत रहनुहोस् ।
जानिजानी मध्य पहाडी जिल्ला छुटाएर हिजो कसले नक्साङ्कन गर्यो । गरिव मुलुकको अरवौँ रुपैयाँ किन सत्यानास गरियो । यो पनि एक किसिमको अनियमितता हो । गरिव मुलुकका निम्ति यो फजुल खर्च भयो । प्रत्येक नेपालीका टाउका माथी ऋणको भारी बोकाएर गरिने यस्ता फजुल काम निन्दनीय छन् । हिजो यहाँका सरोकारवालाका निम्तिमात्र चासोको विषय थियो । अव राष्ट्रिय स्तरका पत्रकार, अर्थविद् वातावरणविद्, जलस्रोतका विज्ञहरू सवैको यसमा ध्यानाकर्षण होस् । राष्ट्र सवैको साझा हो । जनप्रतिनिधि हौँ, जे गर गर भनेर विस्वास गर्दा आज अरवौँको फजुल खर्चमा परियो । आजसम्म त्यहाँदेखि त्यहाँ (दोलालघाट वनदेउ देखि जयरामघाट) सम्म कति खर्च भयो ! अब नयाँ खडक खन्दा कति खर्च व्यहोर्नु पर्ने हो ! त्यो सबै सार्वजनिक होस् । अव आइन्दा आदेश र सनकमा होइन विज्ञहरूका रायमा विकास निर्माण गर्ने प्रवृत्तिको विकास होस् । (पाैडेल पूर्वसांसद एवम् नेकपा एसका केन्द्रीय कमिटी सदस्य हुन्)
प्रतिकृया दिनुहोस