काठमाडौँको ढलमा देखियो पोलियो भाइरस
- गाउँ सहर संवाददाता
- ५ श्रावण शनिबार, २०८१ | ०९:२४:०० मा प्रकाशित

काठमाडौं । काठमाडौंको ढलमा पोलियो जीवाणु (भाइरस) देखिएको छ । स्वास्थ्य सेवा विभागले आज यहाँ आयोजना गरेको ‘पोलियो रोग र निगरानी’ विषयक अन्तरक्रिया कार्यक्रममा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले काठमाडौँको टुकुचा खोला र बागमती नदीको सङ्गम स्थल टेकुको ढलमा पोलियो जीवाणु भेटिएको बताए ।
दुई नदीको सङ्गम स्थलबाट सङ्कलन गरिएको ढलको नमुनामा पोलियो जीवाणु भेटिएको प्रमुख डा. गौतमले बताए । ढलमा पोलियो जीवाणु देखिएको पहिलो पटक हो । नेपालमा सन् २०१० मा अन्तिम पटक मानिसमा पोलियो जीवाणु देखिएको थियो । नेपाल सन् २०१४ पोलियोमुक्त मुलुक भएको थियो । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ ।
'अहिले पोलियो जीवाणु ढलमा देखिएको हो । पोलियोको जीवाणु जहाँ देखिए पनि संवेदनशील विषय हो,' उनले भने, 'ढलमा देखिनुले कतै व्यक्तिमा पनि छ कि भन्ने आशङ्का छ ।'
खोप शाखा प्रमुख डा गौतमले ढलमा जीवाणु देखिनु संवेदनशील भएको उल्लेख गर्दै व्यक्तिमा जीवाणु छ कि भनेर खोजबिन गरिने बताए । उनका अनुसार थाइल्यान्डको बैंककमा ढलमा सङ्कलन गरिएको नमुना परीक्षण गर्दा गत असार २९ गते पोलियो जीवाणु देखिएको पुष्टि भएको हो । ढलको नमुना सङ्कलन भने गत जेठ १३ गते दुई नदीको सङ्गम स्थलबाट गरिएको हो ।
नेपाल पोलियो उन्मूलन भएपछि १० वर्षपछि पोलियोको जीवाणु भेटिएको हो । उनका अनुसार उक्त पोलियोको जीवाणु प्राकृतिक रूपमा पाइने ‘वाइल्ड पोलियो’ नभएर ‘भ्याक्सिन डिराभ्ड पोलियो टाइप–३’ जीवाणु हो । 'टुकुचा र बागमतीको सङ्गम स्थल टेकुमा देखिएको हुनाले पोलियो भाइरस काठमाडौँ उपत्यकाबाट नै आएको हुनसक्छ,' उनले भने ।
उपत्यकामा पोलियोको जीवाणु भेटिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ, ललितपुर र भक्तपुरमा पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्दैछ । परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई घरघर गएर पोलियो रोगविरुद्धको ‘आइपिभी’ खोप अभियान सञ्चालन गर्न थालिएको बताए । उनका अनुसार खोप यही साउन ९ देखि १२ गतेसम्म दुई लाख ८० हजार बालबालिकालाई उक्त खोप लगाइने छ ।
अभियानसँगै घर र अस्पताल पोलियोको जीवाणु छ कि छैन भनेर पनि परीक्षण गरिने उनले उल्लेख गरे ।
कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले पोलियो भाइरसले मानिस सङ्क्रमित नहुन् भनेर खोप अभियान सञ्चालन गरिएको बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
प्रतिकृया दिनुहोस