पुरुषले रुनु हुँदैन ?
- सुरेन्द्र सिटाैला
- २७ जेठ आइतबार, २०८१ | १०:१२:०० मा प्रकाशित

आज प्रचण्ड गर्मी छ
झुत्रे बस्त्रधारी
एक अर्धबैँसे पुरुष
खेतमा हलो जोत्दैछ
टोपीले पसिना पुछ्दै
ऊ समयलाई जित्न खोज्दैछ
प्रचण्ड गर्मीमा
ऊ हलो जोत्दैछ
तापको रापले जति डामे पनि
प्रारब्धको कोराले जति हाने पनि
समयको चक्रब्युहले अभागी ठाने पनि
ऊ रुँदैन
कारण ऊ पुरुष हो
उसलाई रुँदा लाज लाग्छ
त्यसैले ऊ आँशुलाई
छात्ति भित्रै बगाउँछ
जवानी उर्जाका रहरहरु
मुटु भित्रै जलाउँछ
मस्त निद्रामा होइन
बिपना मै ऊ सपना देख्छ
सपनाको बार्दलीमा बसेर
आफ्नै सन्तानहरुको
सुन्दर भविष्यको कथा लेख्छ
कथामा उनीहरुकै
सुन्दर भविष्य देख्छ
ऊ आमा भएको भए
समाजले देख्ने गरि
सजिलै ऊ रोइदिन्थ्यो
मन भित्रका पीडाहरु
आफ्नै आँशुले निसन्कोच धोइ दिन्थ्यो
कसलाई सोधुँ म
कुन ईश्वर हो त्यो
आमालाई बसेर रुँने आजादी दिँदै गर्दा
बाबुलाइ लुकेर रुने फुर्सद दिएन
के शृष्टी निर्माण गर्दै गर्दा
बाबुलाई माया गर्ने
ईश्वर त्यहाँ थिएन ?
अनौठो छ उसको नियति
आफुलाई ऊ सधैँ आकाश ठान्छ
दासताको चक्रब्युहमा रमाउँदै
आफुले आफैँलाई स्वामी मान्छ
ऊ भन्छ
आमाको आखाबाट निशृत
भाग्यमानी आँशुजस्तो म होइन
म त आफ्नै अभागी आँशुको मलामी हुँ
बहिष्कृत सम्मानको सलामी हुँ
बिजयको निजी कमाइले
मलाई कहिँ कतै छुँदैन
चिताग्नीमा जिउँदै जले पनि
समाजले भन्छ
पुरुषले रुँनु हुँदैन
प्रतिकृया दिनुहोस