गाउँ सहर

दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा

काठमाडौं । हरेक चैत्र शुक्ल चतुदर्शीका दिन मनाइने तेमाल जात्रा आइतबारबाट शुरू भएकाे  छ । सो जात्रामा पितृ र वर्ष दिनभित्र दिवङ्त भएका आफन्तहरुको संझनामा तामाङ समुदायले बौद्ध चैत्य परिक्रमा गरी बत्ति बाल्ने गरिन्छ । 

उपत्यका वरपरका काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ र रसुवालगायतका जिल्लाबाट काठमाडौंको बौद्ध, स्वयम्भु र बालाजुमा ‘तेमालजात्रा’ मामेला भर्न बौद्धमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।

सो जात्रा कहिलेदेखि सुरु भएको भनेर यकिनकासाथ भन्न नसकिए पनि काभ्रेस्थित तिमालका अन्तिम राजा रिञ्जेन दोर्जे वलले आफ्ना जनतालाई दिवङ्गत आत्मको शान्तिका लागि बौद्धमा गएर बत्ती बाल्नका लागि व्यवस्था मिलाएर राजकीय मान्यता दिएको जनविश्वास छ ।

स्वयम्भू पुराणका अनुसार विपस्सी बुद्धले काठमाडौं उपत्यकामा आएर आजकै दिन कमलको फूल रोपेको प्रसङ्ग छ ।केही भक्तजनले त्यहाँको दर्शन गरिसकेपछि राति बालाजुस्थित बाइसधारामा स्नान गरी स्वयम्भूनाथ चैत्यको समेत पूजा गर्ने गर्दछन् ।

काठमाडौं उपत्यकामा पानीको दह भएका बेला डाँडाडाँडामा रहेका बस्तीमै यस दिन दिवङ्गत पितृलाई सम्झने विधि प्रचलनमा रहे पनि तेमालका अन्तिम तामाङ राजा रिन्छिन दोर्जेकोकालदेखि यो पर्वलाई राष्ट्रिय मान्यता दिई बौद्धमा आएर मेला लाग्ने परम्परा बसेको भनाइ छ । 

तामाङहरूले परम्परागत रूपमा प्राचीन कालदेखि मनाउँदै आएको थुप्रै चाडपर्वमध्ये एउटा प्रमुख पर्व हो- तिमालजात्रा। चैत पूणिर्माको अघिल्लो दिन बौद्ध स्तूप र चैत पूणिर्माका दिन बालाजुको बाइसधारा स्नान गर्दै स्वयम्भू स्तूपसम्म लाग्ने यस जात्राको नाम तिमालजात्रा रहनुमा तिमाल भेगका तामाङहरूको प्राचीन कालदेखि नै जात्रामा घना सहभागिता रहनु हो ।

तिमाल क्षेत्र काभ्रेपलाञ्चोक जिल्लाको झिगु खोला, सुनकोसी र रोसी खोलाको मध्यपहाडी एवं बेंसी भागमा पर्छ जसलाई तामाङहरूले आफ्नो उद्गम थलोका रूपमा स्विकार्दै आएका छन् । यद्यपि जात्रामा नेपालका साथै भारत, बर्मा, भुटानदेखि नै तामाङहरू स्वयम्भू र बौद्धमा आउँछन् ।

बौद्ध स्तूपको प्रदक्षिणा गरी, मानेहरू घुमाउँदै स्तूपको उत्तरतर्फको तेस्रो तल्लामा रहेको १०८ खोपामा दाहिने पारी घुम्न थाल्ने गरिन्छ अनि लामा पुरोहितलाई मृतकको मुक्तिका लागि पाठपूजा पनि गर्न लगाउँछन्। यसरी तीर्थस्थलमा बत्तीहरू बाल्दा धर्मका साथै मृतकको आत्मा भड्किरहेको भए पनि मुक्त भई अभिताम लोक (स्वर्ग) मा पुग्छ भन्ने विश्वास तामाङहरू गर्छन्।

गाउँ सहर संवाददाता

तपाईँको मत