खेल

भारतमा नेपालले आज बरोडासँग खेल्दै

काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कप क्रिकेटमा आज बरोडासँग खेल्दैछ । खेल दिउँसो २:४५ मा सुरु हुनेछ ।

नेपाल सुरुवाती तीन खेलमा जितका साथ फाइनलमा पुगेको छ । बरोडा सुरुवाती तीन खेलमा हारका साथ फाइनल दौडबाट बाहिरीसकेको छ ।

नेपालले फाइनल आइतबार गुजरातसँग खेल्ने छ । पहिलो खेलमा नेपालले बरोडालाई २७ रनले हराएको थियो । १५७ रनको लक्ष्य बरोडाले पछ्याउनेक्रममा २० ओभरमा १२९ रनमा अलआउट भएको थियो । बरोडाका बाबा खान, भानु पनिया र कप्तान विष्शु सोलांकी प्रमुख खेलाडी हुन् ।

यता नेपालले बेन्चमा बसेका ललित राजवंशी र आकाश चन्दलाई आज मौका दिनसक्छ । यसअघिको खेलमा करण केसी र दीपेन्द्रसिंह ऐरीलाई विश्राम दिइएको थियो ।

नेपालले गुजरातलाई ८ विकेट र ८ रनले हराएको थियो । उता बरोडा गुजरातसँग ५ विकेट र ५७ रनले पराजित भएको थियो ।

अर्को सातादेखि ओमानमा एसीसी प्रिमियर कप टी–२० प्रतियोगिता हुँदैछ । प्रिमियर कपको विजेताले टी–२० विश्वकपपछि हुने एसिया कप खेल्न पाउनेछ । नेपाल त्यसैको तयारीका लागि भारत भ्रमणमा छ । नेपाल उतैबाट ओमान जानेछ ।

नेपालको टोली : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी, अभिनाश बोहरा र आकाश चन्द ।

गाउँ सहर संवाददाता

तपाईँको मत