गाउँ सहर

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने अधिकृतविरुद्ध मुद्दा

काठमाडौं । सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गर्ने शाखा अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणअन्तर्गत बागमतीनगर जग्गा एकीकरण आयोजनाको कार्यालय बौद्धमा कार्यरत शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

कार्कीले सरकारी जग्गालाई गैरकानुनी रुपमा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ । कार्की २०५८ साउनमा सरकारी सेवामा प्रवेश गरेका थिए । ३० चैत २०७९ सम्म उनले ३ करोड ७७ लाख १३ हजार आम्दानी गरेको र ६ करोड ९८ लाख ४६ हजार रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको अख्तियारले जनाएको छ ।

कार्कीको ३ करोड २१ लाख ३२ हजार रुपैयाँ बराबर सम्पत्तिको स्रोत नखुलेको अख्तियारको भनाइ छ । उक्त रकमलाई बिगो कायम गरी गैरकानुनी रुपमा आम्दानी गरेको सम्पत्ति जफत गर्नसमेत अख्तियारले मागदाबी गरेको छ ।

कार्कीले छोरी गृष्मा कार्कीको नाममा समेत विभिन्न स्थानमा जग्गा जोडेको देखिएकाले उनको नामको जग्गा पनि जफत गर्नुपर्ने अख्तियारले दाबी गरेको छ । अख्तियारले उनकी पत्नी देवका अधिकारीलाई समेत प्रतिवादी बनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत