अर्थतन्त्र

नेप्से दोहोरो अंकको घटेपछि लगानीकर्ता तनावमा

काठमाडौं । शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ताहरूमा तनाव थपिएकाे छ । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) पूँजीबजार नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से) सूचक २८.६८ बिन्दुले घटेको छ । २२० कम्पनीका शेयरधनीले घाटा ब्यहोरेका छन्‌ ।

नेप्सेमा दोहोरो अंकको पहिरो चल्दा सूचक १९७२.०९ बिन्दुमा झरेको छ । पछिल्लो समय मनोवैज्ञानिक विन्दु भनिएको २००० बिन्दुबाट नेप्से स्वाट्टै तल झरेको हो । हिजो ०.८७ अंकले घट्दा नेप्से २०००.७७ बिन्दुमा अडिएको थियो ।

बिहीबार भएको कारोबारमा जम्मा १७ कम्पनीको मात्रै शेयरमूल्य बढेको छ । ११ वटा कम्पनीको शेयरमूल्य स्थिर छ ।

जसमा बोटलर्स नेपाल बालाजु लिमिटेड र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा क्रमशः १० र ९.८६ प्रतिशत सर्वाधिक वृद्धि भएको छ । आजको कारोबारमा जोशी हाइड्रोपावर र अपर अपर स्याङ्गे हाइड्रोपावरका शेयरधनीले क्रमशः १० र ८‍.६२ प्रतिशत मूल्य गुमाएका छन्‌ । 

बिहीबार सर्वाधिक बढी शेयर कारोबारमूल्य सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको रहेको छ, जुन कम्पनीको ११ करोड १३ लाख १० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

बजारमा गिरावट आए पनि अघिल्लो दिनको भन्दा कारोबार रकम भने केही बढेको छ । बुधबार २ अर्ब ३ करोडको कारोबार भएकोमा बिहीबार २ अर्ब ५९ करोड ८७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत