तीन कीर्तिमानसहित क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा नेपालको ‘क्लिन स्विप’
- गाउँ सहर संवाददाता
- २९ माघ सोमबार, २०८० | १६:२७:०० मा प्रकाशित
काठमाडौं । नेपालले क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिन स्विप गरेको छ । नेपालले आज भएको तेस्रो खेलमा ९ विकेटको जित निकाल्दै सिरिज क्लिन स्विप गरेको हो ।
क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर ३ बलमा १ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालको जितमा भीम सार्की र अनिल शाहले कीर्तिमानी साझेदारी गरे । दुवैले शतक प्रहार गरे । ४५ रनमा पहिलो विकेट गुमाएको नेपाललाई भीम र अनिलले जितसम्म डोहोर्याए ।
अनिल ११२ र भीम १०१ रनमा अविजित रहे । कुशल भुर्तेलले १३ रनको योगदान दिएका थिए । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन बनाएको थियो ।
क्यानडाका लागि नभनीत धलिवालले अर्धशतक प्रहार गरेका थिए । आरोन जोनसन ४, श्रीमन्था विजयरत्न २२, निकोलस किर्तोन ३ रन, श्रेयस मोभा २९, डिलोन हेलिगर ४ र निखिल दत्त ४५ रन बनाएर आउट हुँदा कप्तान साद बिन जाफर २९ रनमा अविजित रहे ।
बलिङमा नेपालका डेब्यु खेल खेलेका हेमन्त धामीले सर्वाधिक ३ विकेट लिदा कुशल मल्लले २, आकाश चन्द र ललित राजवंशीले १–१ विकेट लिएका थिए ।
नेपालले पहिलो खेलमा ७ रन र दोस्रो खेलमा ४ विकेटको जित निकालेको थियो ।
यस खेलमा नेपालले बनायाे ३ कीर्तिमान
एकै खेलमा दुई शतक
नेपालका लागि अनिल र भीमले शतक बनाउँदै पहिलो पटक ओडीआईको एकै खेलमा दुई शतक बनाए । अनिलले १ सय १२ रनको योगदान दिँदा भीम पनि १ सय १ रनमा नटआउट रहे । अनिलले १ सय २४ बलमा १२ चौका र २ छक्का प्रहार गरे । भीमले १ सय २९ बलमा ११ चौका र १ छक्का जोडेका थिए ।
कीर्तिमानी साझेदारी
अनिल र भीमले ओडीआई क्रिकेटमा नेपालका लागि सबैभन्दा ठूलो साझेदारी पनि बनाए । दोस्रो विकेटका लागि यी दुईले १ सय ८९ रनको साझेदारी गरे । यसअघि सन् २०२३ मा कुशल भुर्तेल र आसिफ शेखले जिम्बावेविरुद्ध १ सय ७१ रनको साझेदारी गरेका थिए ।
घरेलु सिरिजमा क्लिनस्विप
नेपालले पहिलो पटक घरेलु सिरिजमा क्लिनस्विप गरेको हो । यसअघि नेपालले ओमानमा भएको पिएनजीविरुद्ध २ खेलको सिरिज २-० ले जितेको थियो । घरेलु भूमिमा भने नेपालले यूएईविरुद्ध ओडीआई सिरिज २-१ ले विजयी भएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
प्रतिकृया दिनुहोस