खेल

एसीसी वुमन्स प्रिमियर कपमा नेपालले हङकङलाई हराउँदै सुखद् सुरुआत

  • २७ माघ शनिबार, २०८० | १०:५१:०० मा प्रकाशित

काठमाडौं । मलेसियामा आजदेखि सुरु भएको एसीसी महिला प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ । समूह चरणको पहिलो खेलमा हङकङ माथि ८ विकेटको जित निकाल्दै नेपालले जित सहित सुरुवात गर्न सफल भएको हो । 

हङकङले दिएको ९४ रनको लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेट गुमाएर पुर्यायो । नेपालका लागि कप्तान इन्दु बर्माले ३३ बल खेल्दै ३ चौका र १ छक्का सहित सर्वाधिक ४० रन बनाइन् । यस्तै सिता राना मगर ३८ बल खेल्दै १ चौका र १ छक्कासहित ३६ रनमा अविजित रहिन् । 

दोस्रो विकेटका लागि इन्दु र सिता मिलेर ७६ रनको साझेदारी गरेका थिए । यो नेपालका लागि महिला अन्तराष्ट्रिय टि-२० मा तेस्रो सर्वाधिक साझेदारी हो । नेपालको सर्वाधिक चार साझेदारीमा नै यी दुईको नाम रहेको छ । 

अर्कोतर्फ़ रुबिना छेत्री शुन्यमा नटआउट रहिन् । ओपनर कविता कुँवर १२ बल खेल्दै ४ रन बनाएर आउट भएको थिइन् । हङकङका लागि इक्रा सहर र चान का यिंग क्यारीले समान एक-एक विकेट लिए । 

त्यसअघि टस हारेर मलेसियाको सेलाङ्गोर टर्फ क्लबमा पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ९३ बनाएको हो । हङकङका लागि कप्तान चान का यिंग क्यारीले ३१ बल खेल्दै ३ चौका सहित सर्वाधिक २१ रन बनाइन् । यस्तै मर्यम बिबीले १९ बल खेल्दै सर्वाधिक १८ रन बनाइन् । यस्तै यास्मिन दस्वानीले २१ बल खेल्दै १५ रन बनाएर हिट विकेट हुन पुगिन् ।   

ओपनर नताशा माइल्सले १९ बलमा ११ रनको योगदान गरिन् । हङकङका अन्य ब्याटरले दोहोरो अंक पनि छुन सकेनन् ।

नेपालका लागि रुबिना क्षत्रीले र पुजा महतोले सर्वाधिक २-२ विकेट लिए । रुबिनाले ४ ओभरमा १५ रन खर्चिंदै २ विकेट लिइन् भने पूजाले ४ ओभरमा १९ रन खर्चिन् । यस्तै सिता राना मगरले ४ ओभरमा २२ रन दिँदै १ विकेट लिइन् ।   

एसीसी महिला प्रिमियर कपमा १६ टोलीको सहभागिता रहेको छ । १६ टोलीलाई ४ समुहमा विभाजन गरिएको छ भने फाइनल पुग्ने दुई टोलीले एसीसी महिला एसिया कप खेल्ने छन् । यस्तै सेमिफाइनल पुग्ने चार टोली इमर्जिङ एसिया कप खेल्ने छन् ।  नेपाल रहेको समूह डी मा हङकङ बाहेक माल्दिभ्स र भुटान रहेका छन् ।  

तपाईँको मत