दृष्‍टिकोण

त्रिभुवन विश्वविद्यालयमा उपकुलपति

नेपालमा अहिले उच्च शिक्षाको मुख्य थलो त्रिभुवन विश्वविद्यालयको उपकुलपति चयनको चर्चा निकै चुलिएको छ । सरकारले खुला प्रतिस्पर्धाबाट उपकुलपति चयनका लागि आवेदन मागको आधारमा ४३ जनाको आवेदन परेको छ । कतिपय आकाँक्षीहरू भए पनि प्रतिस्पर्धामा जान नचाहनेहरूको जमात बाहिर ठूलो छ । उपकुलपति चयनको यो प्रक्रिया उत्तम हो त ? यस विषयमा धेरै बहस भइरहेका छन् । त्रिभुवन विश्वविद्यालयका कुलपति प्रधानमन्त्री छन् तर उनी राज्यसत्ताका कमजोर पात्र रहेका छन कारण संसदमा राजनीतिक गणितीय संख्या । कुलपतिले स्वविवेकले उपकुलपति चयन गर्ने शक्ति कमजोर छ कारण सत्ताको साझेदार काँग्रेसको ग्रीन सिगनल नभएसम्म कुलपतिले केही गर्ने सक्ने स्थिति छैन । दोस्रो सहकुलपति नेकपा एकीकृत समाजवादीका मन्त्री अशोक राई छन् जसको अध्यक्षतामा उपकुलपति छनोट सिफारिस समिति छ । यही समस्याबाट पन्छिन कुलपतिले खुला प्रतिस्पर्धाको आवरणमा पन्छिन खोजेको देखिन्छ । यो कुलपतिको अहिलेको वाध्यता हो ।

भरत पाेखरेल

विश्वका विश्वविद्यालयहरूमा उपकुलपति छनोटका विविध प्रक्रिया छन् । ज्येष्ट र श्रेष्ठको पनि चर्चा हुन्छ । सन १९५६ तिर अमत्र्य सेन बेलायतको क्याब्रिजमा पिएचडी गर्दै थिए । तीन वर्षको पिएचडी उनले एकवर्षमै पूरा गरे तर तीन वर्ष पूरा समय नविताइ थेसिस समिट गर्न पाइदैनथ्यो । दुई वर्ष के गर्ने द्विविधामा रहेको बेला भारत सरकाले सेनलाई २३ वर्षको उमेरमा पश्चिम बंगालको जाधवपुर विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्‍यो सेन भारत आए । कोक्राबाट ल्याएर उपकुलपति बनाइयो भन्ने आरोप पनि खेप्नु परेको थियो तर सेनको योग्यताले सबै आलोचकहरूको मुख बन्द भयो । पछि सेन विश्वभारती विश्वविद्यालयको पनि उपकुलपति भए र अझ पछि मनमोहन सिंह प्रधानमन्त्री रहेको बेला लामो संगतको अनुरोधले सेन नालन्दा विश्वविद्यालयको कुलपति नियुक्त भएका थिए । सन २०१० देखि २०१५ सम्म त्यो पदमा रहे तर नरेन्द्र मोदीसँगको वैचारिक भिन्नताले सेनले नालन्दा छाडे । यो कुरा सेनले आफ्नो आत्मकथा होम इन द वर्ल्डमा लेखेका छन् । स्वतन्त्र भारतका प्रथम विदेश सचिव केपिएस मेनन जसले अक्सफोर्डमा अंग्रेजहरूलाई पनि पढाइमा जितेर प्रथम भएका थिए उनलाई अंग्रेजी उपनिवेशको भारतमा २५ र स्वतन्त्र भारतमा १५ वर्ष काम गरेको अनुभव थियो सेवानिवृत भएपछि इलाहावाद विश्वविद्यालय र केरल विश्वविद्यालयले एकै पल्ट कुलपतिका लागि प्रस्ताव गरे । उनले आफ्नो आत्मकथा पुस्तक मेनी वर्ल्डसमा अरु पनि नियुक्तिका रोचक प्रसंग उल्लेख गरेका छन् । गणितमा कमजोर तथ्यांक आउँदै नआउने मेननलाई तथ्यांक संस्थानको अध्यक्ष बस्नु परेको थियो । रुसमा राजदूत भएका नाताले उनलाई भारत रुसी संस्थानको अध्यक्ष बनाइएको थियो । आफ्नी ११ वर्षिया नातिनी अम्मुसँग अलिअलि फिल्म हेर्न थालेका मेननलाई केन्द्रीय फिल्म पुरस्कार बोर्डको अध्यक्ष बनाइएको थियो त्यतिमात्र कहाँ हो र उनले भैरवी र कल्याणी रागमा फरक छुट्याउन नसक्ने उनलाई संगीत नाट्य एकेडेमीको उपाध्यक्ष बनाइएको थियो प्रधानमन्त्री अध्यक्ष हुन्थे । हङकङका अन्तिम गभर्नर क्रिस प्याटेनले केही वर्ष पहिला प्रोजेक्ट सिण्डीकेटमा एउटा लेख लेखेका थिए । उनले गभर्नर छाडेपछि ६ वटा विश्वविद्यालयका कुलपतिको पद सम्हाल्नु परेको थियो जसमा न्युक्यासल विश्वविद्यालयदेखि विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयसम्म रहेका छन् । योग्यता भए आवेदन दिनु पर्दैन पद आफैँ पछ्याउँछन् तर यस्तो छैन हाम्रो नेपालमा ।

त्रिभुवन विश्वविद्यालयमा अहिलेसम्म १९ उपकुलपतिले आफनो कार्यकाल पूरा गरेका छन् तर अद्वितीय रूपमा कोही देखिएनन् । हाल आवेदन दिने ४३ जना नै इक्वली लाइक्ली छन् सबैको सम्भावना २.३२ प्रतिशत । सिफारिस समितिको तीन जनामा परेभने एकैपल्ट ३३.३३ प्रतिशतको सम्भावना हुन्छ । सबैले आआफ्ना बायो डाटा दिएकै छन् । मैले यहाँ केही बायो डाटाको विवरण राख्दा सान्दर्भिक होला । त्रिभुवन विश्वविद्यालयमा एक समय पदाधिकारी रहेकाको बायो डाटामा लेखिएको थियो पुस्तक र लेखहरू गरी ६२ कृति । बुझदै जाँदा उनको एउटा मात्र पुस्तक सहलेखन थियो बाँकी सबै गोरखापत्र, साप्ताहिक पत्रिकाका लेख र उनले पदाधिकारीको रूपमा भाषण गरेका अभिलेख । अर्का एकजना प्राध्यापक आफूले एक दर्जन पुस्तक लेखेको तर कुनै नियुक्ति नपाएर विरक्त भएका थिए । बुझ्दै जाँदा उनका आधी दर्जन पुस्तक सम्पादन थिए बाँकि सहलेखन आफै एक्लो लेखेका एउटा पुस्तक पनि थिएनन् । ४३ आवेदकहरूको बायोडाटा राम्ररी विश्लेषण गर्ने हो भने धेरैको धोती खुस्किन सक्छ । आगे सरकारको मर्जी ।

आवेदकहरूमा नियुक्तिका लागि कसको सम्भावना बढी छ ? मेरो विश्लेषणमा तीन मोडालिटी हुन सक्छन् । पहिलो आवेदन दिएका कसैमा पनि सहमति नभए बाहिर रहेका कुनै व्यक्तिमा गठबन्धन सरकारको सहमति भए त्यस्तो व्यक्तिको चयन हुन सक्छ तर अहिले त्यो सम्भावना अति न्युन छ किनभने एउटा नयाँ प्रक्रिया सुरू भइसकेको छ । दोस्रो गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र प्रदीप नेपाल शिक्षामन्त्री भएका बेला विश्वविद्यालयको दोस्रो वरियताको पद त्रिवि सेवा आयोगको अध्यक्षमा शौभाग्यजंग कार्की नियुक्ति भएकाले उपकुलपति एमालेले पाउनुपर्ने कुरामा कोइरालाई कन्भिन्स गरेका थिए र माधवप्रसाद शर्माको नियुक्ति भएको थियो । अहिले पनि सेवा आयेगको अध्यक्ष काँग्रेसका घनश्याम भट्टराईको नियुक्ति भइसकेकाले काँग्रेसको चित्त बुझाउन सक्यो भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच उपकुलपतिका लागि प्रतिस्पर्धा चल्ने छ र एकै समूहका तीनजनाको नाम सिफारिस हुन सक्छ तर यो प्रक्रियामा गयो भने बाँकी ४० जनाले त्यसै छोड्नेवाला छैनन् पूर्वाग्रहको आरोप खेप्नु पर्ने छ । तेस्रो मोडालिटी काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृतको एकएकजनाको नाम सिफारिस । यस्तोमा कसको नियुक्ति होला ? एकताका चर्चामा रहेको २०१२ मा प्रकाशित ह्वाइ नेसन्स फेलका एक लेखक डारोन एसमग्लुको सहलेखनमा २०२३ मा एउटा पुस्तक प्रकाशित भएको छ पावर एण्ड प्रोग्रेस त्यसमा एउटा सन्दर्भ छ एउटा पसलमा पाउरोटीको एउटा पोका छ त्यो पाउरोटी किन्ने दुईजना छन्, पाउरोटी उसैले किन्न सक्ने छ जसको पावर छ । त्यस्तै सिफारिस भएका तीनजनामा त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा उसैको नियुक्ति हुनेछ जसको सत्ताको पावरमा पहुँच रहने छ बाँकी एजेन्डा त देखाउने दाँतमात्र ।

पाेखरेलकाे सञ्जालबाट ।

तपाईँको मत