गाउँ सहर

भारतले दिने भयाे भुटानपछि सबैभन्दा बढी नेपाललाई आर्थिक सहायता

काठमाडौं । भारतले नेपाललाई उपलब्ध गराउने आर्थिक सहायता रकम वृद्धि गरेको छ ।

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले बिहीबार संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०२४/०२५ को बजेटमा नेपाललाई उपलब्ध गरिने आर्थिक सहायता वृद्धि गरेको उल्लेख छ । 

भातरले नयाँ बजेटमा आर्थिक वर्ष २०२४/०२५ मा नेपाललाई सात अर्ब भारतीय रुपैयाँ (११.२ अर्ब नेपाली रुपैयाँ) उपलब्ध गराउने घोषणा गरेको छ । यो सम्पूर्ण रकम अनुदान सहयोगमार्फत उपलब्ध गराउने बजेटमा उल्लेख गरिएको छ । 

अघिल्लो आर्थिक वर्ष २०२३/०२४ को बजेटमा भारतले नेपाललाई पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ (आठ अर्ब ८० करोड नेपाली रुपैयाँ) उपलब्ध गराउने घोषणा गरेको थियो । 

चालु आर्थिक वर्ष २०२४/०२५ मा भारतले भुटानपछि नेपाललाई सबैभन्दा ठूलो रकम आर्थिक सहायता स्वरुप उपलब्ध गराउने घोषणा गरेको हो ।

भारतले आर्थिक वर्ष २०२४/०२५ मा भुटानलाई २० अर्ब ६८ करोड ५६ लाख भारतीय रुपैयाँ (३३ अर्ब ९ करोड ६९ लाख ६० हजार नेपाली रुपैयाँ) उपलब्ध गर्ने घोषणा गरेको छ ।

अघिल्लो आर्थिक वर्ष भारतले भुटानलाई २४ अर्ब ५८ लाख भारतीय रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेको थियो । 

भारतले चालु आर्थिक वर्षमा अफगानिस्तानलाई दुई अर्ब, बंगलादेशलाई एक अर्ब २० करोड, श्रीलंकालाई ७५ करोड र माल्दिभ्सलाई ६ अर्ब भारतीय रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । 

भारतले आर्थिक वर्ष २०२२/०२३ मा सात अर्ब ५० करोड भारतीय रुपैयाँ र २०२१/०२२ मा चार अर्ब ४६ करोड ४३ लाख भारतीय रुपैयाँ उपलब्ध गर्ने घोषणा गरेको थियो । 

गाउँ सहर संवाददाता

तपाईँको मत