विश्व

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई १० वर्ष जेल सजाय

  • १६ माघ मंगलबार, २०८० | १५:२१:०० मा प्रकाशित

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई राज्यका गोपनीय दस्तावेज सार्वजनिक गरेको आरोपमा १० वर्ष जेल सजाय सुनाइएको छ । गोपनीयता अधिनियमअन्तर्गत स्थापित त्यहाँको विशेष अदालतले पूर्वप्रधानमन्त्री खानसँगै पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि १० वर्ष जेल सजाय सुनाएको छ ।

कुरैशीलाई कूटनीतिक पत्राचार चुहावट गरेको आरोपमा सजाय सुनाइएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्।

वासिंटनर इस्लामाबादबीचको कूटनीतिक दस्ताबेज सार्वजनिक गरेको आरोपमा उक्त सजाय सुनाइएको हो ।

पूर्वप्रधानमन्त्री खानले आफूविरुद्ध लगाइएको आरोप अमेरिकी षड्यन्त्र भएको दाबी गर्दै आएका छन् । उनको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ(पीटीआई) ले झूटो मुद्दामा सजाय सुनाइएको प्रतिक्रिया दिएको छ ।

पीटीआईले भनेको छ, 'झूटो साइफर मुद्दामा पूर्वप्रधानमन्त्री इमरान खान र विदेशमन्त्री महमूद कुरैशीलाई १० वर्ष जेल सजाय सुनाइएको छ । यसमा न मिडियालाई पहुँच दिइएको छ न यसको ट्रायल सार्वजनिक गरिएको छ ।' पीटीआईले यस फैसलाविरुद्ध उच्च न्यायालयमा चुनौती दिने र उक्त सजाय उल्टिने अपेक्षा गरेको जनाएको छ । पाकिस्तानमा आम चुनावको केही दिनअघि इमरानमाथि सजाय सुनाइएको हो । पाकिस्तानमा फेब्रुअरी ८ मा आम चुनाव हुँदैछ ।

विश्वासको मत पाउन नसकेपछि सन् २०२२ मा उनी प्रधानमन्त्रीबाट हट्नुपरेको थियो । भ्रष्टाचारको आरोपमा दोषी ठहर भएर उनी अहिले तीन वर्षको जेल सजाय भोगिरहेका छन्। उनले आफूमाथि लगाइएका सबै आरोपहरू राजनीतिक उद्देश्यबाट प्रेरित भएको बताउँदै आएका छन्।

तपाईँको मत