पूर्वाधार

म्याग्दीमा एउटै गाउँले बेच्यो डेढ करोडको सुन्तला

  • २३ पौष सोमबार, २०८० | ०८:०७:०० मा प्रकाशित

म्याग्दी । बेनी नगरपालिका–३, भकिम्ली राखुगाउँका कृषकले सुन्तला बिक्री गरेर  डेढ करोड रुपैयाँभन्दा बढी रकम गाउँ भित्र्याएका छन्। यो वर्ष जिल्लामा समग्रमा सुन्तलाको उत्पादन घटेको जनाइएको छ। 

राखुगाउँका एउटै किसानले पाँच लाखदेखि नौ लाखसम्म सुन्तला बिक्री गरेर आम्दानी गरेका छन्। राखुकी मनकुमारी पुनले यस वर्ष नौ लाखको सुन्तला बिक्री भएको बताइन्। उनले विगत डेढ दशकदेखि नर्सरी स्थापना गरी सुन्तलाको बिरुवा उत्पादन गर्दै आएकी छन्। 

अगुवा कृषक पुनले यस वर्ष अन्यत्र जिल्लाबाट आएका व्यापारीलाई बोटबाटै सुन्तला बिक्री गरेको बताइन्। सुन्तला उत्पादनका लागि जिल्लामै प्रख्यात मानिने तल्लो र माथिल्लो राखुमा रहेका ६५ घरधुरीले यो वर्ष करिब डेढ करोडको सुन्तला फलाएको अर्का अगुवा कृषक खिम पुनले जानकारी दिइन्। गाउँका कृषकले न्यूनतम ३० हजारदेखि नौ लाख रुपैयाँसम्मको सुन्तला उत्पादन गरेका छन्। 

यो वर्ष नयाँ बोटले समेत फल दिएकाले आम्दानी बढेको सुन्तला जोन कार्यक्रमका संयोजकसमेत रहेका खिम पुनले जानकारी दिए। ुउत्पादन घटे पनि आम्दानी घटेको छैन, सुन्तला खेतीमा लागेका कृषकले घरआँगनमै लाखौँ कमाएका छन्’, उनले भने। राखुबाट सुन्तला खरिद गरी सुर्केमेलाको सडकमा ग्रेडिङ गरी काठमाडौँ पठाउन लागेका कृषक पुनले जिल्लामा सबैभन्दा धेरै सुन्तला उत्पादन हुने राखु क्षेत्रको सुन्तला खरिदमा व्यापारीले प्रतिस्पर्धा गर्दा किसानले उचित मूल्यसमेत पाएको बताए। यहाँका सुन्तला यस वर्ष काठमाडौँका व्यापारीले बोटबाट नै खरिद गरेका उनले जानकारी दिए। 

राखुमा कुलबहादुर गर्बुजा, जशीकला रोका, भीमकुमारी घर्ती, खिरमती राना, थबहादुर पुन, जसबहादुर घर्ती मगरलगायते सात लाखभन्दा बढीको सुन्तला फलाएका छन् भने सुन्तला बिक्री गरेर रु चार लाखभन्दा धेरै कमाउने कृषकको सङ्ख्या हरेक वर्ष बढ्दै गएको छ। परम्परागत खेतीबाली लगाउन छाडेर व्यावसायिक सुन्तला खेती गर्दै आइरहेका राखुका राजेन्द्र रोका र  मनबहादुर  बुढाथोकीले यस वर्ष नयाँ बिरुवा थपेका छन्। सुन्तला खेतीले कृषकको जीवनस्तरमा समेत परिवर्तन आएपछि गत वर्षदेखि गाउँभरि नै सुन्तलाका थप बिरुवा रोपेको वडाध्यक्ष पदम पुनले बताए। 

अन्नबालीभन्दा बढी आम्दानी हुन थालेपछि राखुका स्थानीय सुन्तला खेतीमाआकर्षित भएका छन्। अहिले बाँझो जमिनसँगै घरबारी र करेसा समेत सुन्तलाले पहेँलपुर भएको छ।रासस

तपाईँको मत