गाउँ सहर

नेपाल र भारतबीच चार बुँदे सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक सम्पन्न भएको छ । बैठक बिहीबार काठमाडौंको होटल याक एण्ड यतीमा बसेको थियो । 

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारतका विदेशमन्त्री एस जयशंकरले गरेका थिए । 

बैठकमा नेपाल–भारत सम्बन्धका सम्पूर्ण आयामहरूमा छलफल गरिएको थियो । नेपाल–भारतबीचको आर्थिक सम्बन्ध, कनेक्टिभिटी, व्यापार तथा पारवहन, उर्जा तथा जलस्रोत, शिक्षा तथा संस्कृति, राजनीतिकलगायत विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल–भारत संयुक्त आयोगको बैठक सकिएपछि दुई देशबीच चार वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । दुई देशका विदेशमन्त्रीको उपस्थितिमा सम्बन्धित अधिकारीले सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । 

बिहीबार नेपाल र भारतबीच भएका सम्झौता तथा समझदारी पत्रमा १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्नेसम्बन्धी विद्युत् सम्झौता, सामुदायिक विकास परियोजनामा सहयोग गर्नेसम्बन्धी सम्झौता, नेपालले बनाएको स्याटलाइट भारतले प्रक्षेपण गर्नेसम्बन्धी सम्झौता र नविकरणीय उर्जाको विकासमा सहयोग गर्नेसम्बन्धी समझदारीपत्र रहेका छन् । 

बिहीबार नै बैठक सकिएपछि दुई विदेशमन्त्रीले नेपाल र भारत जोड्ने तीन वटा विद्युत् प्रसारण लाइनका स्वीच् थिची उद्घाटन गरेका थिए । ती प्रसारण लाइनमा रक्सौल–परवानीपुर, कुशहा कटैया र नौतनुवा– मैनिया विद्युत् प्रसारण लाइन छन् ।      

गाउँ सहर संवाददाता

तपाईँको मत