शिक्षा

कोटेश्वर क्याम्पसमा तीन दिने जलवायु परिवर्तन सम्बन्धी प्रस्तुतीकरण सुरु

काठमाडौँ । कोटेश्वर बहुमुखी क्याम्पसमा तीनदिने काठमाडौँ उपत्यकाका अन्तर कलेज जलवायु परिवर्तनसम्बन्धी प्रस्तुतीकरण कार्यक्रमको आयोजना गरिएको छ ।

कोटेश्वर बहुमुखी क्याम्पस, ग्रामीण विकास, समाजशास्त्र र आमसञ्चार तथा पत्रकारिता विभागका साथै रिसर्च म्यानेजमेन्ट सेल, एसक्यूसीकाे आयोजना तथा स्वतन्त्र विद्यार्थी प्रतिनिधिको सहकार्यमा आजदेखि तीन दिने जलवायुपरिवर्तन सम्बन्धी अन्तरक्याम्पस प्रतियोगितात्मक प्रस्तुतीकरण सुरु गरिएको हो ।

"एक्सन अगेनेस्ट क्लाइमेट चेन्ज" नामक प्रस्तुतीकरणमा काठमाडौँ उपत्यकका १६ वटा क्याम्पसका ३० जना विद्यार्थीहरूले जलवायु परिवर्तनले पारेको प्रभाव र त्यसलाई रोक्न गर्नु पर्ने प्रयासका विषयमा आ—आफ्नो प्रस्तुतीकरण गर्ने कोटेश्वर बहुमुखी क्याम्पस ग्रामीण विकास, समाजशास्त्र र आमसञ्चार तथा पत्रकारिता विभागका प्रमुख मनाेज अधिकारीले बताए । उनले भने, “जलवायु परिवर्तनसम्बन्धी १६ कलेजका ३० जना विद्यार्थीहरु कार्यक्रममा सहभागी भएका छन्, आज १३ जना विद्यार्थीहरुले आफ्ना प्रस्तुतीकरण प्रस्तुत गरेका छन् ।”

तीन दिन सम्म सञ्चालन हुने उक्त प्रतियोगीतात्मक प्रस्तुतीकरणको विश्व विद्यालय अनुदान आयोगका पूर्व अध्यक्ष प्रा. डा. भिम सुवेदीले विरुवामा पानी हालेर सुभारम्भ गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. सुवेदीले जलवायु परिवर्तन विद्यार्थीहरुका लागि मात्र नभएर देशकै लागि ठूलो चुनौति भएकाले यसको विरुद्दमा समयमै कदम चाल्नु पर्ने रहेको आवश्यक बताए । डा.सुबेदीले प्रदुषण रोक्न हरेक व्यक्तिले आफ्नो ठाउँबाट योगदान दिनुपर्ने तथा परिवर्तनको प्रमुख कारण मानिसका गतिविधि पनि भएको बताए ।

कार्यक्रममा कोटेश्वर क्याम्पसका क्याम्पस प्रमुख एवं पब्लिक क्याम्पस संघका क्याम्पस महासचिव गोविन्दबहादुर कार्कीले प्राकृतिक प्रकोप सामना गर्नु परिरहेको प्रमुख कारण जलवायु परिवर्तन भएको बताउँदै यसका विरुद्धमा सबै पक्ष जिम्मेवार भएर प्रतिकारमा लाग्नु पर्नेमा जोड दिए । स्वस्थ भएर बाँच्नका लागि हामीले वायु प्रदुषणबाट बच्ने उपाय अवलम्बन गर्नुपर्ने उनको भनाई थियो ।

सान्दर्भिक विषयमा बहस गराएर समधानको बाटो पहल्याउन क्याम्पसको ग्रामीण विकास, समाजशास्त्र र आमसञ्चार तथा पत्रकारिता विभागले राम्रो काम गरेको सहायक क्याम्पस प्रमुख सुमन पाेखरेलले दाबी गरे । यस्तै रिसर्च म्यानेजमेन्ट सेलका प्रमुख सेदुनाथ ढकालले वातावरण संरक्षणमा यस्ता कार्यक्रमकाे उपदेयता बढेर गएकाे बताए ।

कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियनका सभापति सञ्जय बुढाथोकीले वातावरण जोगाउने कुरामा कलेजमा अध्ययनरत विद्यार्थी सम्मको पनि दायित्व भएकाले संयुक्त प्रयास आवश्यक रहेको बताए । यस्तै कार्यक्रम संयाेजक स्वरूप त्रिपाठीले कार्यक्रमले अर्बाैँ जनसंख्याले भाेग्नुपरेकाे जलवायु परिवर्तनकाे डटेर सामना गर्नकाे लागिपनि याे महत्वपूर्ण कार्यक्रम रहेकाे बताए ।

कार्यक्रममा वातावरण अभिन्ता केपी खनालले अरुलाई दोष दिनु भन्दा वातावरण जोगाउन आफैँ लाग्नु पर्ने बेला आएको बताएका थिए ।

तपाईँको मत