कला

विदुर तिमल्सिनाकाे कविता : भाग्य र कर्म

एक थुङ्गो फूल चिहानमा झर्‍याे
अर्को थुङ्गो फूल मन्दिरमा चढ्यो ।

चिहान वा मन्दिर
भाग्यको कुरा हो, 
झर्नु वा चढ्नु 
भाग्यको कुरा हो ।

एउटा चिल्लो पत्थर मूर्ति बन्यो
मन्दिर भित्र स्थापित गरियो,
एउटा खस्रो पत्थर, पत्थर नै रह्यो
मन्दिर उक्लिने सिँढीमा प्रयोग गरियो,
भक्तहरू खस्रो पत्थरको सिँढी चढेर 
चिल्लो पत्थरको दर्शन गर्न जान्छन् ।

चिल्लो वा खस्रो
भाग्यको कुरा हो,
मन्दिर वा सिँढी
भाग्यको कुरा हो,
पैताला मुनि वा शिर माथि 
भाग्यको कुरा हो ।

मेरो ठुलो असहमति त छैन ! 
तर 
म आफूलाई फूलसँग किन दाँजौँ ?
फूल मालीको सम्पति हो
म मेरै सम्पति हुँ 
म फूल हुँ, मै माली हुँ 
म आफूलाई मन परेको ठाउँमा, आफ्नो खुसीले फुल्छु 
आमाको हृदय र प्रियतमाको शिरमा फुल्छु
भाग्यले मेरो अंकुरणमा हस्ताक्षर गर्‍याे 
मेरो पल्लवन र पुष्पनमा म आफैँ हस्ताक्षर गर्छु ।

म आफुलाई 
मूर्ति वा पत्थरसँग किन दाँजौँ ? 
चिल्लो र खस्रोसँग किन दाँजौँ ?
म सँग जीवन छ
म खस्रो भाग्यलाई चिल्लो बनाउँने कर्म गर्न सक्छु 
म पत्थर भाग्यलाई मूर्ति बनाउँने कर्म गर्न सक्छु ।

भाग्य र भरोशाले नखुलेका कयौँ ढोका 
कर्म र निरन्तरताले खुल्छन् मित्र ! 
जस्तो कि, 
भाग्यले तिमी मान्छे बन्यौ 
कर्मले तिमीलाई असल मान्छे बनाउँछ 
अमर मान्छे बनाउँछ ।

तपाईँको मत