खेल

बागमती प्रदेशलाई हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा

काठमाडौं । त्रिभुवन आर्मी क्लबले पोखरामा जारी केपी ओली टि२० कपको पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई ४ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ । आर्मीले उपाधिको लागि दोस्रो सेमिफाइनलमा मधेश र एपिएफबीचको विजेतासँग खेल्नेछ ।

जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले १५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍याे । आर्मीको जितमा भीम सार्कीले ३५ बलमा ५ चौकासहित ३९ रन बनाए । सोमपाल कामी १४ बलमा १ छक्कासहित १५ रनमा नट आउट रहे ।

आर्मीलाई ओपनर तथा कप्तान विनोद भण्डारीले १२ बलमा ३ चौका र २ छक्कासहित २५ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए । कुशल मल्ल ८ बलमा ४ छक्कासहित २७ रनमा आउट । सन्तोष कार्की ७, रोहित पौडेल शून्य र बसिर अहमद ५ रनमा आउट भए ।

बागमतीका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ३४ रन खर्चिदा २ विकेट लिए । प्रतिश जि.सी, ईशान पाण्डे, रित गौतम र सोनु देवकोटाले १-१ विकेट लिए ।

त्यसअघि पोखरा क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो । बागमतीका प्रतिक श्रेष्ठ ३५ बलमा ३ चौका र ४ छक्कासहित ५० रनमा नट आउट रहे ।

सन्दीप लामिछाने २२ बलमा २ चौका र १ छक्कासहित १९, रित गौतम १४, ईशान पाण्डे १२ र गौरव खड्का ८ रनमा आउट भए ।

आर्मीका सोमपाल कामीले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । साहब आलमले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर ४ विकेट लिए । विवेक यादवले १ विकेट लिए । केहि समयपछि दोस्रो सेमिफाइनलमा मधेश र एपिएफ भिड्नेछन् । फाइनल शुक्रबार हुनेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत