गाउँ सहर

जाजरकोट भूकम्पमा घर भत्काएपछि त्रिपालमुनि १६ सय ७६ सुत्केरी !

  • १२ मङ्सिर मंगलबार, २०८० | ०९:२०:०० मा प्रकाशित

जाजरकोट । जाजरकोटको रामीडाँडा केन्द्र भएर गत कात्तिक १७ गते राति गएको ६.४ रेक्टर स्केलको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन्।

त्रिपालका सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई विभिन्न खालका स्वास्थ्य समस्या देखापरेको छ। भूकम्पपीडितको चिसोका कारण ज्यानसमेत गएको छ। भूकम्पबाट  घरबासविहीन भएका सर्वसाधारण मौसम अनूकुल नहुँदा बिरामी पर्ने गरेको पाइएको छ।

अहिले यहाँका स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीको भीड नै लागेको छ। जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार भेरी नगरपालिकामा ४९ हजार ७२ जनसङ्ख्या प्रभावित भएका थिए। ४२ जनाको मृत्यु भएको थियो भने ५५५ जना घाइते भएका थिए। 

भेरी नगरपालिकामा ५ वर्षमुनिका १ हजार ११५ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ६७४ गर्भवती, २८२ सुत्केरी, २ हजार ८३६ ज्येष्ठ नागरिक, १ हजार ६५ दीर्घरोगी र ४०८ अपाङ्गता भएका व्यक्तिसहित ९ हजार ३८० जनसङ्ख्या भूकम्पको प्रभावबाट जोखिममा छन्। स्वास्थ्य संस्था ८ वटा पूर्णरूपमा र ८ वटा आंशिक रूपमा भत्किएको पाइएको छ।

कुशे गाउँपालिकामा २५ हजार ८१५ जनसङ्ख्या प्रभावित भएका थिए। ७ जनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए। ५ वर्षमुनिका २ हजार ९४५ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ५१५ जना गर्भवती, २३० सुत्केरी, ९२० ज्येष्ठ नागरिक, २७७  दीर्घरोगी र ८८ अपाङ्गता भएका व्यक्तिसहित ४ हजार ९७५ जना भूकम्प प्रभावित जोखिममा रहेका छन्। ५ वटा स्वास्थ्य संस्था पूर्णरूपमा र १३ वटा आंशिकरूपमा भत्किएको पाइएको छ।
 
जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिशचन्द्र शर्माका अनुसार छेडागाड नगरपालिकामा १ हजार ३५२ जनसङ्ख्या प्रभावित भएका थिए। १ जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए। ५ वर्षमुनिका ३७२ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ८६ गर्भवती, ६६ सुत्केरी, २०४ ज्येष्ठ नागरिक, १५ दीर्घरोगी र ९ जना अपाङ्गता भएकासहित ७४३ जनसङ्ख्या भूकम्पको प्रभावबाट जोखिममा रहेका छन्। ८ वटा स्वास्थ्य संस्था आंशिकरूपमा भत्किएको पाइएको छ। 

नलगाड नगरपालिकामा २९ हजार २०९ जनसङ्ख्या प्रभावित भएका थिए। ५२ जनाको मृत्यु भएको थियो भने ८६ घाइते भएका थिए। पाँच वर्षमुनिका ३ हजार ३३ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ३३१ गर्भवती, ३७४ सुत्केरी, १ हजार ४८३ ज्येष्ठ नागरिक, २३४ दीर्घरोगी र २५० अपाङ्गता भएका व्यक्तिसहित ३ हजार हजार ९४४ जना भूकम्पको प्रभावबाट जोखिममा छन्। १ स्वास्थ्य संस्था पूर्णरूपमा र ५ वटा आंशिक रूपमा भत्किएको पाइएको छ।

बारेकोट गाउँपालिकामा १९ हजार ६७६ जनसङ्ख्या प्रभावित भएका थिए भने १० जना घाइते भएका थिए। ५ वर्षमुनिका १ हजार ४९९ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने १८१ गर्भवती, ७५ सुत्केरी, ४३९ ज्येष्ठ नागरिक, २२३ दीर्घरोगी र ४५ अपाङ्गतासहित २ हजार ४१७ जनसङ्ख्या भूकम्पको प्रभावबाट जोखिममा छन्। पूर्ण रूपमा १ र आंशिक रूपमा ४ स्वास्थ्य संस्था भत्किएका छन्। भूकम्पबाट शिवालय गाउँपालिका ११ हजार ८४३ जनसङ्ख्या प्रभावित भएका थिए। २ जना घाइते भएका थिए। ५ वर्षमुनिका ४६२ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ४९  गर्भवती, २ सुत्केरी, ५१ ज्येष्ठ नागरिक, दीर्घरोगी र अपाङ्गतासहित ४४६ जनसङ्ख्या भूकम्पको प्रभावबाट जोखिममा रहेका छन्। २ वटा स्वास्थ्य संस्था आंशिक रूपमा भत्किएको पाइएको छ। 

भूकम्पबाट जुनिचाँदे गाउँपालिकामा १ हजार ९५० जनसङ्ख्या प्रभावित भएका थिए। ५ वर्षमुनिका ७८ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ४७ जना गर्भवती, ४७ सुत्केरी, ९३ ज्येष्ठ नागरिक, १८ दीर्घरोगी र २२ अपाङ्गतासहित २८३ जनसङ्ख्या भूकम्पको प्रभावबाट जोखिममा रहेका छन्। १५ वटा स्वास्थ्य संस्था आंशिकरूपमा भत्किएको छ।

भूकम्पबाट १ लाख २८ हजार ९१७ जना प्रभावित भएको पाइएको छ। भूकम्पपछि प्रभावित जोखिम जनसङ्ख्या २२ हजार २०६ रहेको छ। ५ वर्षमुनिका १२ हजार ४०४ बालबालिका प्रभावित भएका छन् भने १ हजार ८८३ गर्भवती त्रिपालमा बस्न बाध्य छन्। त्यसैगरी १ हजार ७६ जना सुत्केरी त्रिपालको सहारामा खुला आकाशमा बस्न बाध्य छन्। १ हजार ८३२ दीर्घरोगी, ८५० जना अपाङ्गता भएका व्यक्ति पनि समस्यमा छन्। पूर्णरूपमा १५ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ भने आंशिक ५५ वटामा क्षति भएको छ।
 
विवरण अझै सङ्कलन हुँदै 

मंसिर ७ गतेभित्र पालिकाले क्षतिको विवरण जिल्ला विपत् व्यवस्थापन समितिलाई पठाउन अनुरोध गरिए पनि अझै विवरण आउन सकेको छैन।  पालिकाले भने मंसिर १० गतेसम्म विवरण पठाउन समय माग गरेका थिए। 

छरिएर रहेका घर, एक ठाउँबाट अर्को ठाउँमा पुग्न धेरै समय लाग्ने भएकाले तथ्याङ्क सङ्कलन गर्न समय लागेको पालिकाका प्रमुखले बताएका छन्।

पटक–पटक बदलिने कार्यविधिका कारण पनि तथ्याङ्क सङ्कलनमा विलम्ब भएको स्थानीय तहका जनप्रतिनिधिले बताएका छन्। अबको २ दिनभित्र सबै विवरण आउने सम्भावना रहेको जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत शर्माले बताए।रासस

तपाईँको मत