गाउँ सहर

उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ना दोषी ठहर, दुई वर्ष कैद

फाइल तस्बिर

काठमाडौं । उपप्राध्यापक प्रेम चलाउनेमाथि ज्यान मार्ने उद्योग गरेको आरोप लागेका ७ मध्ये ६ जना दोषी ठहर भएका छन् ।

उनीहरुलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ । रुपेश शाह, रविनकुमार लामा, निरज रानामगर, सयुज श्रेष्ठ, हरि आचार्य र योगेन्द्र रावल दोषी ठहर भएका हुन् ।

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका कार्यकर्ताले त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि निर्घात कुटपिट गरेका थिए ।

यस्तै चलाउनेले दाबी गरेको उपचार खर्चवापतको २८ लाख १७ हजार ५९३ रुपैयाँ कसुरदारबाट दामासाहीले असुल गर्ने पनि फैसला भएको छ ।

उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमणसम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंमा बुधबार फैसला सुनुवाइ सुरु भएको थियो । दिनभरि दुवैतर्फका वकिलहरुको बहस सुनेपछि न्यायाधीशले मुद्दालाई हेर्दाहेर्दैमा राखेका थिए ।

जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासमा मुद्दाको सुनुवाइ सकिएर आज फैसला आएको हो । इजलास नम्बर २६ मा भएको सुनुवाइमा चलाउनेको पक्षबाट अधिवक्ताहरु ओमप्रकाश अर्याल, सुरेन्द्र भण्डारी, राधिका खतिवडा, बसन्त जोशी, श्रीकान्त बराललगायत ९ जना वकिलले बहस गरेका थिए ।

यस्तै सरकारी वकिलहरु चन्द्रप्रसाद सञ्जेल, दिनेश श्रेष्ठ र श्रीकान्त खनालले पनि बहस गरेका थिए । प्रतिवादीको तर्फबाट योगेन्द्रबहादुर अधिकारी, शेरबहादुर केसी, दयानाथ खरेल, उज्ज्वलराज घिमिरेलगायतले बहस गरेका थिए ।

यसअघि गत असोज ९ गते फैसला सुनुवाइ सुरु भएको थियो । तर, न्यायाधीश उत्तम सिलवालले डाक्टर बोलाउने आदेश दिएर फैसलालाई धकेलिदिएका थिए । प्रतिवादीका वकिलको बहस सुनेपछि न्यायाधीशले चलाउनेको उपचार गर्ने डाक्टरलाई अदालतमा भौतिक रुपमै उपस्थित गराउने आदेश गर्दै सुनुवाइ स्थगित गरिदिएका थिए । सो आदेशअनुसार समबन्धित डाक्टरले अदालतमा आएर बकपत्र गरिसकेका छन् ।

आफूमाथि आक्रामण भएको केही दिनमा नै चलाउनेले ७ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । सर्वोच्च अदालतले गत ९ साउनमा यो मुद्दालाई यथाशीघ्र टुंगो लगाउन जिल्ला अदालतलाई आदेश गरेको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत