विश्व शौचालय दिवस : साढे ३ अर्ब मानिस अझै पनि शौचालयको सुविधाबाट वञ्चित
- गाउँ सहर संवाददाता
- ३ मङ्सिर आइतबार, २०८० | १२:४८:०० मा प्रकाशित

काठमाडौँ । आज १९ नोभेम्बर अर्थात् विश्व शौचालय दिवस, नेपालसहित विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रम गरी विश्व शौचालय दिवस मनाइँदैछ ।
यस वर्ष ‘परिवर्तनको गति बढाउँदै’ भन्ने नारासहित नेपालसहित विश्व शौचालय दिवस २०२३ मनाउन लागिएको छ । हरेक वर्ष १९ नोभेम्बरमा विश्वभर विभिन्न कार्यक्रमका साथ शौचालय दिवस मनाउने गरिएको छ । सन् २०१३ देखि यो दिवस मनाउन थालिएको हो ।
मानव समुदायलाई मानवजन्य दिसापिसाबबाट उत्पन्न हुनसक्ने जीवाणुले ल्याउने रोगव्याधिबाट बचाउन शौचालय निर्माण गर्ने र प्रयोग गर्ने बानी विकसित गराउन संयुक्त राष्ट्रसङ्घले विश्व शौचालय दिवसका रूपमा मनाउने गरेको हो ।
संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने कार्यक्रम तय गरी कार्यान्वयन गरिरहेको छ । दिगो विकास लक्ष्यको छैटौँ लक्ष्यमा स्वच्छ खानेपानी र सरसफाइको विषय समावेश छ । तर सन् २०३० सम्म सबैलाई स्वच्छ र सुरक्षित पानी पुर्याउने र पूर्ण रूपमा सरसफाइको अवस्थामा पुर्याउनमा प्रगति भने सुस्त गतिमा छ । यसै तथ्यलाई विचार गर्दै राष्ट्रसङ्घले यस वर्षको नारा तय गरेको हो ।
राष्ट्र सङ्घका अनुसार विश्वका साढे ३ अर्ब मानिस अझै पनि शौचालयको सुविधाबाट वञ्चित छन् । त्यसमध्ये ४१ करोड ९० लाख मानिस त अझै पनि खुला स्थानमा दिसापिसाब गर्छन् । खुला दिसापिसाबका कारण फैलिने रोगले दैनिक एक हजार बालबालिकाको मृत्यु हुने गरेको छ । सुरक्षित शौचालय, पूर्ण सरसफाइ र सबैका लागि स्वच्छ पानीको लक्ष्य हासिल गर्न अब सात वर्षमात्र बाँकी छ । नेपालले १९ असोज २०७६ मा खुला दिसामुक्त र पूर्ण सरसफाइमा अग्रसर राष्ट्र घोषणा गरेको थियो ।
वि.सं. २०७८ को जनगणनाअनुसार नेपालमा शौचालय प्रयोग गर्ने परिवारमा ९.८ प्रतिशत परिवारले फ्लस भएको (सार्वजनिक ढल) को प्रयोग गर्ने गर्दछन् । यो परिवार सङ्ख्या ६ लाख ५३ हजार ७१० रहेको छ । फ्लस (सेफ्टी ट्याङ्की) भएको शौचालय प्रयोग गर्नेको सङ्ख्या सबैभन्दा बढी ५५.१ प्रतिशत छ । अर्थात् यो सङ्ख्या ३६ लाख ६७ हजार ७८० हो ।
यसरी नै साधारण शौचालयको प्रयोग गर्नेको सङ्ख्या २० लाख पाँच हजार ४८० छ । यो प्रतिशतमा हेर्दा ३०.१ छ । त्यस्तै सार्वजनिक शौचालय प्रयोग गर्नेको प्रतिशत ०.५ छ । यो सङ्ख्या ३२ हजार ३८१ हो । यस्तै, शौचालय नहुनेको सङ्ख्या नेपालमा ४.५ प्रतिशत अर्थात् तीन लाख एक हजार ४९० रहेकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
प्रतिकृया दिनुहोस