पत्र-पत्रिकाबाट

सम्पर्क विहीन ठेकेदार, अलपत्र कालिगण्डकीको पुल

  • ३ मङ्सिर आइतबार, २०८० | ०८:५६:०० मा प्रकाशित

म्याग्दी । ठेकेदारको लापरबाही र ढिलासुस्तीका कारण मुस्ताङको कालिगण्डकी नदीमा निर्माणाधीन पुल अलपत्र परेको छ । पाँच वर्ष अघि नै निर्माण सम्पन्न हुनुपर्ने थासाङ गाउँपालिकाको छयो–कुञ्जो जोड्ने मोटरेबल पुलको हालसम्मको भौतिक प्रगति ३० प्रतिशत छ । समयमै पुल निर्माण नहुँदा करिब ६०० जनसङ्ख्या प्रभावित भएका छन् । 

पटक पटक ठेक्का सम्झौताको म्याद थप भए पनि पुल निर्माण गर्न ठेकेदारले वेवास्ता गर्दै आएको स्थानीयवासीको भनाई छ । समयमै पुल निर्माण सम्पन्न नहुँदा आवतजावतमा समस्या भएको स्थानीयवासी वीर विक्रम विकले बताउनुभयो । कालिगण्डकी कोरिडोर सडक देखि थासाङ गाउँपालिका वडा नम्बर ५ कुञ्जोलाई जोड्न ७ वर्ष अघि मोटरे बल पुल निर्माण थालिएको थियो । 

एक सय मिटर लामो केवल स्टेट प्रविधिको मोटरे बल पुल निर्माणका लागि वि.स. २०७३ भदौ २२ गते तिन वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरी तत्कालीन जिल्ला विकास समिति मुस्ताङ र स्वच्छन्द निर्माण सेवाबिच  ठेक्का सम्झौता भएको थियो । 

निर्माण अवधिसँगै लागत पनि बढेर पछिल्लो पटक भेरियस अर्डर गरी  १४ करोड १९ लाख ६५ हजार ८सय ८१ रुपियाँ पुगेको छ । पुलको दुवै तर्फ पिल्लर निर्माण गरिएको छ भने बाँकी काम अलपत्र अवस्थामा छ । 

कुुञ्जोतर्फको पिल्लर काली गण्डकीको बाढीले कटान गरेर जोखिम बनाएको छ । डिजाइनको समस्याले दुई वर्ष रोकिएको  पुल निर्माणको काम सङ्घीयता कार्यान्वयनपछि प्रदेश सरकारलाई हस्तान्तरण भएको पूर्वाधार विकास कार्यालय मुस्ताङले जनाएको छ । पुल निर्माणका लागि पटक पटक ठेकेदारलाई ताकेता गर्दा पनि अटेर गरेको कार्यालयले जनाएको छ । 

कालीगण्डकीमा मोटरे बल पुल नहुँदा लेते–कुञ्जो सडकमा बर्खामा सवारी साधन आवत जावत अवरुद्ध हुने र मोटरसाइकल झोलुङ्गे पुलबाट तार्ने गरिएको, आलु, साग, किवी लगायत तरकारी तथा फलफूल बजार निकासीका लागि ढुवानीको समस्या भएको स्थानीयबासीहरुले गुनासो पोखे ।गाेरखापत्रमा समाचार छ।

तपाईँको मत