छठ पर्वको उपलक्ष्यमा बसहिया प्रहरीद्वारा सरसफाइ र रंगरोगन
- रबिन्द्र यादव
- २ मङ्सिर शनिबार, २०८० | २०:५२:०० मा प्रकाशित
पश्चिम नवलपरासी । मधेसी समुदायको महान पर्व छठको उपलक्ष्यमा छठ घाटको सरसफाइ गरिएको छ । छठको पहिलो दिनदेखि छठ पर्वको लागि बनाइएका घाटहरु स्थानीय तथा नेपाल प्रहरीको सक्रियतामा सरसफाइ गरी सजाएर चिटिक्क पारिएका छन् । जिल्लाको प्रतापपुर गाउँपालिका-५ बसहियास्थित पोखरी छठ घाटको सरसफाइ तथा रंगरोगन गरिएको हो ।
बसहिया प्रहरी चौकीका प्रमुख जनार्दन यादवको नेतृत्व तथा वडा अध्यक्ष रमेश बानियाको विशेष पहलमा स्थानीयहरुको सहयोगमा पोखरी छठ घाटको सरसफाइ तथा त्यहा बनाइएको बेदीहरुको रंगरोगन गरिएको हो ।
बसहिया प्रहरी चौकीका इन्चार्ज यादवकाे पहलमा बैदौलीस्थित सार्वजनिक प्रतिक्षालयमा पंखासमेत लगाएको स्थानीय प्रदेशी नेटुवाले बताए । यादवले बसहिया प्रहरी चौकीका इन्चार्ज सम्हालेदेखि नै स्थानीय जनतालाई प्रहरी हाम्रो साथिको अनुभूती हुन थालेको नेटुवाले बताए ।
छठ पूजाको लागि घाटमा व्रतालुहरुलाई रातभर जाग्राम बस्न उपयुक्त हुने किसिमले इलाका प्रहरी कार्यालय बेलाटारी मातहतका सम्पूर्ण प्रहरी चौकीस्थित रहेका छठ घाटहरुको सुरक्षा व्यवस्था मजबुत बनाईको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रमुख प्रहरी निरीक्षक श्याम प्रकाश यादवले बताए ।
छठ पर्वको व्रत सुरु भएकोले छठको अवसरमा शान्ति सुरक्षालाई कायम राख्न जिल्लाभर निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रमुख प्रहरी उपरीक्षक काजी कुमार आचार्य बताए । छठ पर्वको समयमा हुन सक्ने अपराधिक घटनालाई लिएर जिल्लाका हरेक छठघाटमा शान्ति सुरक्षा व्यावस्था मजबुत बनाइएको उनले बताए ।
प्रतिकृया दिनुहोस