गाउँ सहर

कोरला नाका खुल्यो, चीनतर्फ भब्य भौतिक पूर्वाधार नेपालतर्फ छैन संरचना

पाेखरा । मुस्ताङमा रहेको चीनसँगको कोरला नाका खुलेको छ । आज साेमवारदेखि नाका खुला गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । आज बिहान दुवै देशका अधिकारीले औपचारिकरूपमा नाका सञ्चालनका लागि उद्घाटन गरेका हुन् ।

नेपालतर्फबाट मुस्ताङका संघीय सांसद योगेश गौचन, गण्डकी प्रदेशसभा सांसदहरू नम्डु गुरुङ र विकल शेरचन, पोखराका मेयर धनराज आचार्य, मुस्ताङका सिडियोसहित उपल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष र चिनियाँ पक्षबाट सिगात्सेका मेयरसहितका प्रतिनिधिको उपस्थितिमा नाका सुचारु भएको घोषणा गरिएको पोखराका मेयर आचार्यले जानकारी दिए ।

उद्घाटनको बेला आतिसबाजी गरिएको थियो भने माथिल्लो मुस्ताङका दुई पालिका लोमान्थाङ र लोघेकरलाई चिनियाँ पक्षले सहयोग सामग्री हस्तान्तरण गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले झन्डै एक हजार सीमा पार पास वितरण गरेको छ । मुस्ताङका लो–घेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिकाका स्थानीयवासीलाई पास वितरण गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । सीमा पार पास प्राप्त गरेकाहरूमध्ये कतिपय आजै चीनतर्फ गएका छन् ।

नाका खुलेसँगै उत्तरी मुस्ताङका नागरिकमा खुशीयाली छाएको छ । २०७६ साल अघि वर्षमा दुई पटक कोरला नाका नजिकै मेला लाग्ने गर्थ्याे । त्यही मेलामा खरिद गरिएका सामान बेचेर मुस्ताङीले दैनिकी चलाउँथे । तर कोरोना सङ्क्रमणलाई देखाएर नाका र मेला दुवै बन्द भएपछि स्थानीयहरू समस्यामा थिए । यो नाकाबाट खासगरी पिठो, खुर्सानी, बिजुलीका सामान, पेय पदार्थलगायतको कारोबार हुन्छ । चाडबाडको समयमा भेडा च्याङ्ग्रा पनि आयात निर्यात गरिन्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा गएका बेला नाका खोल्ने सहमति भएको थियो । नाकाका लागि चीन सरकारले भौतिक पूर्वाधार निर्माण गरेको छ । नेपालतर्फ भने खासै संरचना बनाइएको छैन । चीनले नाकामै भव्य संरचना बनाउँदा नेपालले भने बोर्डर आउटरिच पोस्ट (बीओपी) पनि नाका भन्दा १८ किलोमिटर वर नेचुङमा बनाएको छ । कोरला २४ नम्बर पिलरमा पर्छ । नाका सञ्चालन गर्न नेपालतर्फ कुनै भौतिक संरचना नभएका कारण चीन सरकारले अस्थायी भवन निर्माणका लागि कन्टेनर उपलब्ध गराएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले जानकारी दिए ।

जोमसोमदेखि कोरला नाकासम्म कच्ची सडकको पहुँच पुगेको छ । कोरला नाकाबाट ४५ किलोमिटरको सडक यात्रामा तिब्बतमा रहेको बजार क्षेत्र पुगिन्छ । यो बाटो भएर हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश जान पनि सहज रहेको छ ।

गाउँ सहर संवाददाता

Chandramani Bhujel लेख्नुहुन्छ २८ कार्तिक, २०८० १०:५६ am

कतिखेर कसरी हात पसार्ने बाटो पाइन्छ भनेर कुरेर बसेको मगन्ते देश भनेर चिनाउन र त्यहि भजाएर आलीशान जीवनयापन गर्ने तरक्की भएको छ त किन बनाउने ? मलाई के हुन्छ भन्ने डिमाण्ड त पूरा हुनैपर्छ....... ?

तपाईँको मत