सेवा

कृषि विकास बैंकद्वारा भूकम्प पीडितहरुका लागि रु. ५० लाख सहयोग

कृषि विकास बैंक लि.बाट प्रधानमन्त्रीलाई चेक हस्तान्तरण गर्दै ।

काठमाडाैँ । मिति २०८० साल कात्तिक १७ गते राति ११ः४७ बजे कर्णाली प्रदेश, जाजरकोट जिल्ला, बारेकोट गाउँपालिका वडा नं. १ रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र पश्चिम रुकुम जिल्लामा ठूलो मानवीय तथा जनधनको क्षति भएको छ ।

राष्ट्रिय विपदको यस दुःखद घडीमा खोज, उद्धार र राहतका लागि भूकम्पबाट पीडित एवं प्रभावितका लागि सहायता स्वरुप कृषि विकास बैंक लि. ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु. ५०,००,०००/–  (अक्षरुपी पचास लाख मात्र) को चेक प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरी कृषि विकास बैंक लि.मा रहेको प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषको खाता नं. ०१००२०१००२९०७०१४ मा रकम जम्मा गरेको छ । उक्त चेक कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सम्माननीय प्रधानमन्त्रीलाई हस्तान्तरण गरे । साथै कार्यक्रममा उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, विभागीय प्रमुख बीना शर्मा, वरिष्ठ शाखा प्रमुखद्धय ध्रुव पौडेल र सरोज महत एवं प्रधानमन्त्रीका निजी सचिव गंगा दाहालको समेत उपस्थिती रहेको थियो ।

कृषि विकास बैंक लि.ले  भूकम्पबाट प्रभावित र पीडितलाई राहत पुग्ने गरी नेपाल सरकारलाई आर्थिक सहयोग गरेकोमा सम्माननीय प्रधानमन्त्री दाहालले धन्यवाद ज्ञापन गरे ।

कृषि विकास बैंक लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विगतमा पनि भूकम्पबाट प्रभावित र कोरोना महामारीबाट पीडितहरुको लागि नेपाल सरकारबाट गठित सहायता कोषमा रकम जम्मा गरेको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत