गाउँ सहर

कमल थापाकाे चेतावनी : माधवजी, गणतन्त्र र धर्मनिरपेक्षतामा जनमत गर्न सक्नुहुन्छ ?

काठमाडाैं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई हिन्दूराष्ट्र एवम् गणतन्त्रका विषयमा जनमत संग्रहमा जाने हिम्मत छ भनी प्रश्न गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा नेपाललाई खुलापत्र लेख्दै नेपालले राजालाई चुनावमा लड्न आउ भनेको समाचारप्रति इंगित गर्दै यस्तो बताएका हुन् ।

‘हिन्दुराष्ट्र वा धर्मनिरपेक्षता, राजसंस्था वा गणतन्त्र र संघीयता वा अखण्ड नेपाल मध्य के राख्ने भन्नेबारे जनमत संग्रह गरौँ’, उनले लेखेका फेसबुकमा लेखेका छन्, ‘सँधैको लागि यो विवादको छिनोफानो गरौँ। वर्तमान संविधानमा पनि जनमत संग्रहको प्रावधान छ । तपाईँ स्वयं सत्तारुढ गठबन्धनको प्रमुख नेता हुनुहुन्छ । सक्नुहुन्छ हुन्छ जनमत संग्रह गर्न ? यो राजावादीको तर्फबाट तपाईँलाई चुनौती भयो माधव जी ।’

यस्ताे छ खुलापत्र

प्रीय माधव जी, राजालाई चुनाव लड्न आउ भन्नुभएको समाचार सुनेँ । डेढ दशकदेखि राज्यसत्ता छोडेर स्वतन्त्र र सचेत नागरिकको जीवन निर्वाह गरिरहनु भएका राजा ज्ञानेन्द्रलाई गाली गरेर वा उहाँको राष्ट्रप्रतिको चिन्तालाई आलोचना गरेर लोकप्रिय भईन्छ भन्ने भ्रमबाट पूर्व प्रधानमन्त्री समेत भैसकेको तपाईं अझै मुक्त हुन नसकेको देख्दा उद्देक लागेको छ ।

२०६२/६३ को आन्दोलन दरबारसँग सम्झौता गरेर टुङ्गिएको घटनाको तपाईं स्वयं साक्षी हुनुहुन्छ । राजा ज्ञानेन्द्रबाट २०६३ बैशाख ११ गते राति भएको घोषणाको मस्यौदाकार मध्ये तपाईं पनि एक हुनुहुन्छ । त्यसबेला राजासँग भएको भद्र सहमतिको उल्लंघन गरेर विदेशीको दवाव र प्रभावमा षड्यन्त्रपूर्वक राजसंस्था पाखा लगाएर खडा गरिएको संघीय गणतन्त्र अहिले भ्रष्ट व्यवस्थामा रुपान्तरण भएको छ । ललिता निवास जग्गाकाण्ड, सुन तस्करी र नक्कली भुटानी शरणार्थी काण्ड लगायतका दर्जनौँ भ्रष्टाचार काण्डमा स्वयं प्रधानमन्त्री, मन्त्री र सरकार नै संलग्न रहेका छन् । शायद तपाईंको पनि नाम मुछिएको छ ।

अहिले चुनाव लड्न, सत्तामा पुग्न र पुगेपछि सरकार टिकाउन विदेशीको नेपालमा आशिर्वाद र सहयोग लिने आत्मसमर्पणवादी प्रवृत्ति हावी भएको छ ।

देशभित्र सामान्य जागिर नपाएर लाखौं युवाहरु बिदेशिन बाध्य भएका छन् । धर्मपरिवर्तनको डढेलोले देश आक्रान्त भएको छ । यो अवस्थामा जनताले भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति खोजेका छन् । नैतिक शक्ति बोकेको साझा अभिभावकको रुपमा राजसंस्था खोजेका छन् । त्यसैले राजसंस्थाको लोकप्रियता बढेको छ ।

वंश परम्परामा आधारित राजसंस्था तपाईंलाई मन नपरेको होला । तपाईँलाई त्यस्तो धारणा राख्ने अधिकार भएजस्तै राजासहितको प्रजातन्त्र नेपालको निम्ति उपयुक्त हुन्छ भन्ने अधिकार हामीलाई पनि छ ।

यदि तपाईलाई संघीय गणतन्त्र र धर्मनिरपेक्षता साह्रै लोकप्रिय छ, जनताले खोजेका छन् भन्ने लाग्छ भने एकपटक यो विषयमा जनतालाई नै सोधौँ न । हिन्दुराष्ट्र वा धर्मनिरपेक्षता, राजसंस्था वा गणतन्त्र र संघीयता वा अखण्ड नेपाल मध्य के राख्ने भन्नेबारे जनमत संग्रह गरौँ । सधैँको लागि यो विवादको छिनोफानो गरौँ । वर्तमान संविधानमा पनि जनमत संग्रहको प्रावधान छ । तपाईँ स्वयं सत्तारुढ गठबन्धनको प्रमुख नेता हुनुहुन्छ । सक्नुहुन्छ जनमत संग्रह गर्न ? यो राजावादीको तर्फबाट तपाईँलाई चुनौती भयो माधव जी ।

तपाईँको मित्र - कमल थापा

गाउँ सहर संवाददाता

तपाईँको मत