गाउँ सहर

मधेस कास्की सम्पर्क समाजको दशैं तालचोकमा

पोखरा । मधेस कास्की सम्पर्क समाजको नवदुर्गा पूजन तथा दशैं पोखरा महानगरपालिका वडा नं २७ को तालचोक स्थित लेखनाथ महोत्सव स्थलमा हुने भएको छ ।

यस वर्षको बडा दशैंका १० दिनसम्म बनारसबाट ल्याइएका २ पुजारी सहित विश्व शान्तिको कामना गर्दै विशेष पूजा सुरु भएको छ ।

मधेस वा निकटवर्ती भारतका विभिन्न ठाउँमा जन्मथलो भई पोखरा कर्मथलो बनाएर बस्दै, व्यापार व्यवसाय र काम गर्दै आएकाहरुलाई समेटी मधेस कास्की सम्पर्क समाजले कार्यक्रम आयोजना गरेको हो ।

मधेस कास्की सम्पर्क समाजका अध्यक्ष सत्यन्द्रकुमार दासले शुभकामना आदान प्रदान एवम् पत्रकार भेटघाटको आयोजना गरी पहिलो पटक गर्न लागिएको यस प्रकारको कार्यक्रमले आपसी सद्भाव कायम गर्न टेवा पुग्ने आशा गरेको वताए । मधेसी समुदायका मुस्लिमले पनि आप्नो विधिले पूजा गर्न सक्ने उनले बताए ।

विश्वमा भैइरहेको युद्ध तथा प्राकृतिक प्रकोपवाट मानवीय तथा भाैितक क्षती नहोस् भन्दै शान्तिको कामनार्थ घटस्थापनादेखि दशमीसम्म पुजारीहरूले पुजास्थलमा नै बसेर विधिपूर्वक नवदुर्गा पूजन गर्ने पूजा समिति संयोजक रविन्द्रप्रसाद जयसवालले बताए । यसका लागि माता दुर्गाको मूर्ति स्थापना गरिसकिएको उनले जानकारी दिए ।

पोखरा महानगरपालिका वडा नं २७,२९ र ३३ को संगमस्थलमा रहेको नर्वदेश्वरधाम नजिकै सेती नदीसम्म घटस्थापनाका दिन  कलशयात्रा गरी जल ल्याएर विधिवत पुजास्थलमा प्रवेश गराएर कार्यक्रम अघि बढिसकेको छ ।  

 बडा दशैंको फुलपातीमा नेत्रआवरण गरी पुजा गरिने अष्टमीको दिन मध्यरातमा कालरात्रीको पूजा र नवमीमा पञ्चवली दिने सन्दर्भमा भने काटमार नगरी  कुभण्डोको बली दिइने बताइएको छ  ।

मधेस कास्की सम्पर्क समाजका अध्यक्ष सत्यन्द्रकुमार दासको अध्यक्षतामा भएको कार्यक्रममा विजयकुमार जयसवाल,रामभोला मिश्र,पण्डित आचार्य सञ्जीव, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष कविराज खनाल, सचिव विष्णुहरि पौडेल, निवर्तमान अध्यक्ष भीमपाणि बराल लगायतले  शुभकामना दिएका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत