फोटो

तस्बिरमा हेर्नुहाेस् द्वन्द्वग्रस्त इजरायलबाट मातृभूमिमा टेकेपछि छचल्किएकाे आँसुमिश्रित खुसी

  • २६ असोज शुक्रबार, २०८० | ०८:१८:०० मा प्रकाशित

काठमाडाैं । इजरायलमा रहेका २५४ नेपाली नागरिक शुक्रबार बिहान स्वदेश आइपुगेका छन् । सकुशल स्वदेश फर्किन पाउँदा नेपाली विद्यार्थीहरू एकतिर खुसी देखिन्थे त अर्कातिर सहकर्मी तथा सहपाठी १० जना साथीहरू गुमाउनुपर्दा पीडा पनि आँसुमा झल्किन्थ्याे ।

शुक्रवार बिहान ३ बजेतिर २५४ जना नेपाली सरकारले व्यवस्था गरेको चार्टर विमानमार्फत स्वदेश फर्किएका हुन् । हमासको आक्रमणबाट घाइते भएका धनबहादुर चौधरीसहित नेपाली विद्यार्थीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्दा उनीहरूका आफन्तमा आँसुमिश्रित खुसी छाएको थियो । भेट्नेबित्तिकै उनीहरुले अंगालो मारेर खुसी साटेका थिए  ।

नेपाल एयरलाइन्सको विमानबाट उनीहरुलाई सरकारले उद्धार गरेर ल्याएको हो । प्यालेस्टाइनको हमास समूहले गत शनिबार इजरायलमा गरेको आक्रमणमा परी घाइते भएका कैलालीका धनबहादुर चौधरीसहित २५४ नेपाली लिन परराष्ट्रमन्त्री एनपी साउद आफैँ चार्टर विमानमा इजरायल पुगेका थिए । 

परराष्ट्रमन्त्री साउदले मन्त्रिपरिषद्ले नै यसका लागि आवश्यक निर्णय गरिसकेको बताउँदै नियमित र चार्टर उडानमार्फत नेपालीहरुलाई स्वदेश ल्याइने प्रतिबद्धता जनाए । उनका अनुसार नेपाली दूतावासको अनलाइन प्रणालीमा ५५७ जनाले आफ्नो विवरण उपलब्ध गराएका छन् । जसमध्ये ५०३ जनाले नेपाल फर्किन अनुरोध गरेकामा आज २५४ जना स्वदेश फर्किएका हुन् । 

इजरायलमा गरेको आक्रमणमा परी घाइते भएका कैलालीका धनबहादुर चौधरी स्वदेश फर्किएका छन् । खुट्टामा गोली लागेका उनलाई स्थानीय अस्पतालले डिस्चार्ज गरिदिएपछि  चार्टर विमानमार्फत फर्किएका हुन् । उनी अझै  हिँड्नसक्ने भने भइसकेका छैन । विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै उनले घटनामा बाँचेर फर्किएको बताए । 

कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट लर्निङ एण्ड अर्निङ कार्यक्रममार्फत इजरायल पुगेकी शोभा पासवानले इजरायल र गाजाबीचको युद्धको अवस्था देख्दा उनलाई सकुशल नेपाल फर्किन्छु जस्ता लागेको थिएन । तर, ढिलै भए पनि नेपाल सरकारले देखाएको सक्रियताले आफू निकै खुसी रहेको उनको भनाई छ । 

तपाईँको मत