गाउँ सहर

ईः र काठमाडौं महानगरबीच भयाे यस्ताे ४ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं । काठमाडौं महानगरपालिका र आन्दोलनरत अभियन्ता ईः बीच सहमति भएको छ ।

बुधबार बेलुका भएको वार्तामा उनीहरुबीच चार बुँदे सहमति भएको हो । सहमितसँगै अभियन्ता ईःको आन्दालन रोकिने भएको छ ।

सहमतिमा फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत भएका सामग्रीहरु महानगरले सम्बन्धित धनीलाई फिर्ता दिने उल्लेख छ ।

त्यस्तै, महानगरले अनौपचारिक क्षेत्रमार्फत हुने व्यापारलाई व्यवस्थित गर्न अध्ययन समिति बनाउने सहमति भएको छ । समितिमा महानगर, अभियन्ताका प्रतिनिधि तथा सरकार प्रतिनिधि रहने उल्लेख छ ।

मंगलबार ईःका तर्फबाट विवेकशील अभियानका सहसंस्थापक गोविन्द नारायण र महानगरका तर्फबाट नविन मानन्धरको नेतृत्वमा ५/५ सदस्यीय वार्ता टोलीले छलफल गरेर चार बुँदे सहमति गरेको थियो । त्यसमा कोटेश्वर चोकदेखि जडिबुटी जाने बाटो, तिलगंगा अगाडि, चाबहिल मालपोत अगाडि, बालाजु क्षेत्र, भृकुटीमण्डप र सम्भावित अन्य क्षेत्रमा तत्कालका लागि व्यापार गर्न दिने गरी अध्ययन गर्ने भनिएको थियो ।

‘दशैं–तिहार र छठसम्मका लागि वैकल्पिक व्यापार गर्ने स्थल उपलब्ध गराउने सम्बन्धमा एक हप्ताभित्र स्थलगत अध्ययन, अवलोकन र पहिचान गरी व्यवसायीहरुलाई निश्चित समय र निश्चित स्थानमा व्यवसाय गर्न दिइने’ भनिएको थियो ।

तर, यो सहमतिको खाकामा काठमाडौंका मेयर बालेन शाहले संशोधन गरेर तोकिएका स्थानका नाम हटाएका थिए । उनका सचिवालयका सदस्यहरु वडाध्यक्षबाट दबाब आएपछि स्थानको नाम हटाइएको बताउँछन् । त्यो संशोधनपछि वार्ता बिथोलिएको थियो ।

बुधबार फेरि चौथो बुँदामा केन्द्रित रहेर महानगर र अभियन्ता ईः पक्षबीच छलफल भएको थियो । त्यसक्रममा चौथो बुँदालाई थप संशोधन गर्न दुवै पक्ष लचक बनेका छलफलमा सहभागीहरु बताउँछन् । त्यसक्रमपछि सहमतिको वातावरण बनेको छलफलमा सहभागी एक अधिकारीले बताए ।

चौथो बुँदाको तेस्रो शंशोधनमा पनि स्थान तोकिएको छैन । अनलाइनखबरलाई प्राप्त सहमतिको खाकामा भनिएको छ, ‘साविकमा फूटपाथ, सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुका लागि महानगरपालिकाभित्र कानुनले निषेध गरेका स्थान बाहेक अन्यत्रका उपयुक्त स्थल पहिचान गर्न महानगरपालिकाले आजको मितिले एक हप्ताभित्र पहल गर्नेछ ।’

यस्ता छन् सहमति

१. फुटपाथ / सार्वजनिक स्थलमा व्यापार गर्ने विषयलाई सम्बोधन गर्ने ११९ घण्टा देखि राष्ट्रिय सभागृहको मूल गेटमा निरन्तर उभिएर प्रदर्शन गरिरहनु भएका अभियानकर्ता ई र सहभागी साथीहरुको स्वास्थलाभको कामना गर्दै सो प्रदर्शन आजैबाट स्थगित गर्ने।

२. फुटपाथ / सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत गरिएका सामानहरु महानगरपालिकाको स्टोरमा भएसम्म यकिन गरी सम्बन्धित सामानका धनीलाई महानगरले फिर्ता गर्ने।

३. अनौपचारिक क्षेत्रमार्फत हुने व्यापार व्यवसायलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थान उपलब्ध गराउने विधि, प्रक्रिया तथा कानूनी व्यवस्था समेतको प्रबन्ध गर्नुपर्ने विषयमा ठोस सुझाव सहित अध्ययन गरि २ महिनाभित्र महानगरपालिकामा प्रतिवेदन पेश गर्न देहाय बमोजिमको समिति गठन गर्नेः

क. महानगरपालिकाले तोकेका ३ जना

ख. अभियानकर्ता ई. को तर्फबाट तोकिएका प्रतिनिधि २ जना ग. भौतिक तथा यातायात मन्त्रालयको प्रतिनिधि १ जना

घ. सहरी विकास मन्त्रालयको प्रतिनिधि १ जना

ङ. ट्राफिक प्रहरीको प्रतिनिधि १ जना

४. साविकमा फुटपाथ / सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुका लागि महानगरपालिका भित्र कानुनले निषेध गरेका स्थान बाहेक अन्यत्रका उपयुक्त स्थलहरु पहिचान गर्न महानगरपालिकाले आजको मितिले एक हप्ताभित्र पहल गर्नेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत