स्वास्थ्य

मानसिक रोगको बेलैमा उपचार गरेर आत्महत्या रोकथाम गर्न सकिन्छ : मनोचिकित्सक

काठमाडाैं । आज विश्व आत्महत्या रोकथाम दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् २०२१ देखि सन् २०२३ लाई त्रिवार्षिक रूपमा ‘कर्मद्वारा आशाको सिर्जना’ नारा तय गरी यसवर्ष पनि यही नाराका रुपमा मनाउन लागिएको हो । नेपालमा पनि ‘आशा जगाऔँ, जीवन बचाऔँ’ नाराकासाथ विभिन्न चेतनामूलक कार्यक्रम भइरहेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक वर्ष आत्महत्याका कारण विश्वमा ७ लाखभन्दा धेरैले ज्यान गुमाउने गरेका छन् । झण्डै ९९ प्रतिशत आत्महत्या मानसिक रोगका कारणले हुने गरेको छ । मानसिक रोगमध्ये पनि ९५ प्रतिशत डिप्रेसनका कारण आत्महत्या हुने गरेको पाइएको छ । नेपालमा आत्महत्याको दर बढ्दो रुपमा रहेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्मको तथ्याङ्कलाई हेर्दा आत्महत्याको दर बढिरहेको देखिन्छ । गएको वर्ष नेपालमा ६ हजार ९ सय ९३ जनाले आत्महत्या गरेको नेपाल प्रहरीको रिपोर्ट छ । प्रहरीको तथ्याङ्कमा किशोर अवस्थामा महिला र प्रौढ अवस्थामा पुरुषले बढी आत्महत्या गर्ने गरेको देखिन्छ । किशोर अवस्थामा प्रेममा असफलता, पढाइमा असफलता, घरायसी विवाद आदिको कारण किशोरीले बढी आत्महत्या गरेको हुनसक्ने प्रहरी प्रवक्ता कुबेर कडायत बताउँछन् ।

यस्तै, प्रौढ अवस्थामा पुरुषको आत्महत्या दर बढी हुनुमा डिप्रेसन, फ्रस्टेसन अनि आर्थिक कारण हुनसक्ने प्रहरी प्रवक्ता कडायतको भनाइ छ । मनोचिकित्सक डा. लता गौतम आत्महत्याको प्रयास गर्नेमा महिला धेरै र आत्महत्या गर्नेमा पुरुष धेरै रहेको बताउँछन् ।

महिलाहरु आफ्ना कुरा अरुलाई भन्ने र पुरुषहरु धेरै आफ्ना कुरा अरुलाई नभन्ने र एकै पटक आत्महत्याको निर्णय गर्ने भएका कारण यस्तो भएको हुनसक्ने डा. गौतमको तर्क छ । देखासिकी, असफलता र सानो कुरा पनि सहन नसक्ने प्रवृत्तिले व्यक्तिलाई आत्महत्याको अवस्थामा पुर्याउने गरेको छ । अहिले यसमा प्रविधि पनि थपिएको छ ।

सामाजिक सञ्जाल पनि अहिले एउटा कारण बनेको छ । तर, यी सबै अगाडि देखिने कारण भए पनि यसको पछाडि भने मुख्यतया: मनोरोग अर्थात् डिप्रेसन नै कारक भएको डा. गौतम बताउँछन् । मनोरोगको बेलैमा पहिचान गरेर उपचार गर्ने हो भने आत्महत्या रोकथाम गर्न सकिने मनोचिकित्सक डा. गौतमले बताए ।

त्यस्तै, मानसिक रोग विशेषज्ञ डा. गिरिराज भन्तानाले मानसिक रोगीको उपचार गरे निको हुने र उसले सही तरिकाले जीवनयापन गर्न सक्ने बताए । डा. भन्तानाका अनुसार मानसिक रोगको बेलैमा उपचार गरेर आत्महत्या रोकथाम गर्न सकिन्छ ।

आत्महत्याको सोच आउँछ भने त्यो बिरामीको कारणले हो भन्यो भने मात्रै पनि व्यक्तिले आत्महत्या गर्ने सम्भावना कम हुने बताए । कडा खालको मानसिक समस्याको औषधिको उपचारले मात्रै नपुग्ने भन्दै उनले सही व्यवस्थापन पनि गर्नुपर्नेमा जोड दिए ।

विज्ञका अनुसार विभिन्न चरण पार गर्ने क्रममा एउटा व्यक्तिले आत्महत्या गर्नुभन्दा अगाडि आठ पटक आत्महत्याको कोसिस गरेको हुने र त्यसपछि मात्रै आत्महत्या गर्न पुग्छ । नेपालको स्वास्थ्य बजेटको शून्य दशमलव सात प्रतिशत मात्रै मानसिक स्वास्थ्यमा खर्च हुने गरेको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत