कला

लघुकथा 'नचिनेको मान्छे'

निकै हतार थियो मलाई, यसैले बतास जस्तो बतासिएर हिँडिरहेको थिएँ। आफ्नै धुनमा हिँड्दै थिएँ, सोच्दै थिएँ, सेक्टरी कस्ता छन् कोनी, कुरा बुझ्छन् की बुझ्दैनन्, की हुन्छ हुन्छ मात्र भनेर कुरा टार्ने हुन् की! कि टेबल मुनीबाट हात मिलाउन पर्यो भने त आफ्नो औकातले भ्याउने छैन। घरमा टमाटर पनि लानु छ, यसो हरियो परियो सब्जी पनि लानु छ। सेक्टरी साबलाई कति बेरसम्म पर्खनु पर्ने हो!" यस्तै के के सोच्दै हिँडिरहेको थिएँ अचानक एक व्यक्तिसँग ठोकिन पुगें।

झनक्क रिस उठ्यो। यत्रो बाटोभरीको कल्पना सब भताभुङ्ग भो। म प्राय: नै आफ्नो गल्तीलाई लुकाउन छिटो हुन्छु यसैले उ भन्दा म पहिला बोलें- "ओ दाई ,आँखा हेरेर हिँड्नुन। किन धक्का लाउँदै हिँडेको"? रिसको आवेगमा मेरो जिब्रो पड्की हाल्यो । उ सोझो थियो या सहनसील थियो थाह भएन तर सरी हजुर भनी राखेर उ तर्किन खोज्यो। मैले पुन: थपें "धक्का लगाई सकेर सरी भन्दा हुन्छ?, हेरेर हिंडे भै गो त, सरी भन्नै पर्दैन त"।

त्यो व्यक्ति केही रातो भयो आत्मग्लानिले हो या रिसले हो तरै पनि फेरी सरी भन्यो र मैले केही बोल्नु भन्दा अघि नै उ आफ्नो बाटो लाग्यो अनि बजार बिचमा खै कहाँ हरायो।

म रिसले रन्थनिंदै अगाडि बढ़ें। केही बेर पश्चात पुग्नुपर्ने स्थानमा पुगें। गेटमा बसी रहेका सुरक्षाकर्मीलाई सोधें- "सेक्टरी साबलाई भेट्नु छ,अहिले भेट्न मिल्छ?"

सुरक्षाकर्मीले भित्रको चौकीसम्म पुर्याएर पर्खदै गर्ने आग्रह गरे।

म एउटा कुर्सीमा बसें।

निमेषभर मै भित्र जाने संकेत पाएर भित्र गएको त सेक्टरी साबको चौकीमा बस्ने त अघि धक्का लाउने व्यक्ति पो रहेछन्।

यति बेला पो थाह भो नचिनेका मान्छे कस्ता हुन्छन् भनेर।

रुम्तेक सिक्किम।

तपाईँको मत