सडक/यातायात

नागढुंगाको आपत्‌कालीन सुरुङ मार्ग निर्माणमा ‘ब्रेक थ्रु’

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आपत्‌कालीन उद्धार सुरुङ ‘ब्रेक थ्रु’ गरिएको छ । सोमबार धादिङ र काठमाडौं दुवैतर्फबाट उक्त सुरुङको ‘ब्रेक थ्रु’ गरिएको हो । यो सुरुङको कुल दूरी २.५५७ किलोमिटर हो । सडक विभागका अनुसार अब आपत्‌कालीन सुरुङ खन्ने काम सकिएको र फिनिसिङको काम गरिने छ ।

मुख्य सुरुङ निर्माणको काम भने जारी छ । उक्त सुरुङमा पनि अबको चार महिना भित्र ‘ब्रेक थ्रु’ गरिने दाबी आयोजनाको छ । यो सुरुङ कुल दूरी २.६८८ मध्ये २.१६३ किलोमिटर खनिसकिएको छ । अब ५२५ मिटर खनिए निर्माणमा ‘ब्रेक थ्रु’ हुने छ । सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राज्यमन्त्री नन्दा चपाईं, सचिव केशवकुमार शर्मासहितको टोलीको उपस्थितिमा सुरुङको ब्रेक थ्रु गरिएको हो ।

निर्माणमा कुनै समस्या नआए २०८१ पुसमा सुरुङबाट यातायात चल्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको दाबी छ ।अहिले काठमाडौंको चन्द्रागिरिस्थित टुटीपाखा र धादिङको धुनीबेंसी नगरपालिकास्थित सिस्नेखोलामा निर्माणको काम भइरहेको छ । यो सुरुङको निर्माण २०७६ कात्तिकबाट सुरु भएको हो । सम्झौतामा उल्लेख भएको समयअनुसार काम नसकिएपछि २०८० साउन ४ सम्म म्याद थपिएको हो । उक्त समयभित्र पनि काम नसकिने भएपछि दोस्रो पटक फेरि ०८१ वैशाख १३ सम्म म्याद थपिएको छ ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत