नेकपाका संस्थापक पुष्पलालको ४५औँ स्मृति दिवस मनाइँदै
- गाउँ सहर संवाददाता
- ७ श्रावण आइतबार, २०८० | ०७:३३:०० मा प्रकाशित
काठमाडौं । आज नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस विभिन्न कार्यक्रम आयोजना मनाइँदै छ । नेपालका कम्युनिस्ट पार्टीहरूले विभिन्न कार्यक्रम आयोजना गरी पुष्पलालको योगदानको सम्झना गर्दैछन् ।
विसं १९८१ असार १५ गते रामेछापको भंगेरीमा जन्मिएका श्रेष्ठको २०३५ साउन ७ गते भारतको गोविन्दवल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ वैशाख १० मा भारतको कोलकाताको श्यामबजारमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए। पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठको सक्रियतामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।
नेकपा स्थापना गर्नुअघि उनले विसं १९९८ मा प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासंँग मिलेर नेपाली प्रजातान्त्रिक संघ गठन गरेका थिए ।
नेपालका प्रायः सबै कम्युनिस्ट पार्टीले पुष्पलालप्रति श्रद्धा राख्ने गरेका छन् । व्यक्तिगत जीवनमा कठोर निर्वासित जीवन बिताउन, अभावैअभावमा बाँच्न र कष्टपूर्ण अवस्थामा मृत्युवरण गर्न परे पनि उनले राष्ट्र र जनताप्रतिको निष्ठालाई कहिल्यै कमजोर हुन दिएनन् ।
नेपाली कांग्रेसलगायत प्रजातान्त्रिक शक्तिसंँग मिलेर संयुक्त जनआन्दोलन गरी पञ्चायत व्यवस्था ढाल्नुपर्छ भन्नेमा पुष्पलाल सधैँ लागिरहे। अध्ययनशील नेताका रूपमा परिचित पुष्पलालसंँग नेपालको वर्तमान स्थितिका बारेका कार्यदिशा दिने क्षमता थियो । उनले नेपालको गहिरो इतिहास अध्ययन गर्नाका साथै केही पुस्तक पनि प्रकाशन गरेका छन् ।
सहिद गंगालाल श्रेष्ठका माइला भाइसमेत रहेका पुष्पलाल दाजुको हत्या भएपछि १५ वर्षकै उमेरमा राणाशाही विरोधी आन्दोलनमा सक्रिय भएका थिए । पुष्पलाल राजनीतिमा लागेकै कारण पीता भक्तलालललाई सुब्बाको जागिरबाट तत्कालीन सरकारले बर्खास्त गरेको थियो ।
विसं २०१७ को राजा महेन्द्रको कदम पछाडि उनले भूमिगत निर्वासित जीवन बिताएका थिए। सरकारले पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कार स्थापना गरेको छ । पुष्पलालको सम्झनामा आज पुष्पलाल स्मृति प्रतिष्ठानले कीर्तिपुर नगरपालिका–४ स्थित पुष्पलाल स्मृति उद्यानमा विशेष कार्यक्रम आयोजना गरेको छ । रासस
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संसदको बजेट अधिवेशन आव्हान
- शेयरबजार : काराेबार रकम ४ अर्ब नाघ्याे, नेप्सेमा सामान्य अंककाे गिरावट
- रोहित भर्सेस वेस्टइन्डिज ‘ए’ ! तेस्रो हारसँगै नेपालले सिरिज गुमायो
- राष्ट्र बैंकको कारबाहीमा परे ६ बैंक
- जितका लागि वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई विशाल लक्ष्य
- जितका लागि वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई विशाल लक्ष्य
- टी-२० विश्वकप खेल्ने नेपाली टोलीमा समेटिए यी खेलाडीहरू
- काठमाडौंमा सुरू भयाे सीप मेला, २०८१ जनालाई रोजगारी दिने लक्ष्य
- वेस्टइन्डिज ‘ए’सँग फराकिलो अन्तरले पराजित भयाे नेपाल
- साउन १ गतेदेखि पशुपतिमा विद्युतीय शवदाह निःशुल्क
प्रतिकृया दिनुहोस