राष्ट्रिय सभा

राजीनामामा अल्झियाे संसद, एमालेद्वारा दुवै सदन अवरूद्ध, प्रधानमन्त्रीले स्पष्टीकरण दिने

काठमाडाैं । हिजाे (बुधबार) प्रतिनिधिसभाकाे बैठक अवरूद्ध पारकाे प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले राष्ट्रिय सभाको बैठकको कामकारबाही पनि अवरुद्ध गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग्दै प्रतिनिधिसभाकाे बैठक अवरोध गरेको एमालेले राष्ट्रिय सभाको बिहीबारको बैठकमा पनि राजीनामा माग्दै बैठक अवरूद्ध गरेकाे हो । प्रतिनिधसभा र राष्ट्रिय सभाको अर्को बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ ।

एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहालले असार १८ गते दिएको अभिव्यक्तिले नेपालको स्वाभिमान, राष्ट्रियता र राष्ट्रिय स्वाधिनतामाथि आँच आएको भन्दै राजीनामा दिनुपर्ने बताए । 'प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ । आज फेरि पनि हामी कुनै रहरले सदन बन्द गर्न गइरहेका छैनौं बाध्य छौं । स्वाधिन राष्ट्रलाई आँच आउने कुरा हुन्छ भने सह्य हुँदैन,' श्रेष्ठले भने ।

श्रेष्ठले प्रधानमन्त्री कहाँबाट परिचालित छन् भनेर पनि प्रश्न गरेका थिए । 'देशको हितअनुकूल हुने गरी बोल्नुपर्नेमा हाम्रो देशको प्रधानमन्त्री कसबाट परिचालित हुनुहुन्छ ?,' उनले प्रश्न गरे । 'प्रधानमन्त्री दाहालले पटकपटक भारतको निर्देशन, सल्लाह, सुझाव चाहिन्छ' भनिरहेको पनि सांसद श्रेष्ठको दाबी थियो ।

प्रधानमन्त्रीले राजीनामा नदिएसम्म राष्ट्रिय सभाको कामकारबाही अगाडि बढाउन नहुने सांसद श्रेष्ठको भनाइ थियो । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भने बजेटमाथिको छलफल अगाडि बढाउने वातावरण बनाउन आग्रह गरेका छन् । उनले संवादबाट सबै विषय समाधान गर्न तथा प्रधानमन्त्रीले संसद्‍मा आएर आफ्ना कुरा राख्ने वातावरण बनाउन पनि आग्रह गरेका छन् ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शिर्षकहरूमध्ये अर्थ मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विनियोजनमा छलफल गर्ने कार्यसूची थियो । बैठकको सुरुमै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक, २०८० सभामा पेस गर्ने कार्यसूची रहेको थियो ।

प्रधानमन्त्रीले 'विवादास्पद अभिव्यक्ति'बारे संसद्‍मा स्पष्टीकरण दिने

प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिन पहिले आफूले दिएको विवादास्पद अभिव्यक्तिबारे प्रतिनिधिसभामा स्पष्टीकरण दिने भएका छन् । सरकारमा सहभागी राजनीतिक दलहरूको बिहीबार बिहान बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने र संसद्‍मा आफ्ना कुरा राख्नुपर्ने निष्कर्ष निकालेको हो । माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले प्रधानमन्त्री दाहालले संसद्‍मा आफ्नो अभिव्यक्तिबारे प्रस्ट पार्ने समझदारी बनेको बताए ।

नेपालमा पहिलोपल्ट ट्रक भित्र्याउने व्यवसायी प्रितम सिंहबारे किरणदीप सन्धुले लेखेको पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री दाहालको आलोचना भइरहेको छ । प्रमुख प्रतिपक्षी एमालेले राजीनामा मागेको छ भने रास्वपालगायतका दलहरूले जवाफमा मागेका छन् ।

प्रधानमन्त्री दाहालले सत्तारुढ गठबन्धनको बैठकमा उक्त प्रसंग आफूले नभई सिंहलाई उल्लेख गरेको र अहिलेको प्रसंग नभएको प्रष्टीकरण दिएका थिए । बुधबारको प्रतिनिधिसभा बैठक एमाले, रास्वपा र राप्रपाको अवरोधका कारण स्थगित भएको थियो ।

प्रधानमन्त्री दाहालले बोलाएको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, जसपा अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डे, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्तिका अध्यक्ष तथा मन्त्री रञ्जना श्रेष्ठ, माओवादी महासचिव देवप्रसाद गुरुङ, जसपा नेता राजेन्द्र श्रेष्ठलगायतको उपस्थिति थियो ।

 

 

गाउँ सहर संवाददाता

तपाईँको मत