गाउँ सहर

आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का दोषी ठहर, कैदकाे फैसला

काठमाडौं ।  नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । 

गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको अभियोगमा उनी विशेष अदालतबाट दोषी ठहर भएका हुन् ।

शुक्रबार न्यायाधीशत्रय श्रीकान्त पौडेल, शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले उनलाई दोषी ठहर गरेको हो ।

विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार खड्कालाई १ वर्ष ३ महिना कैद सजाय सुनाइएको छ । त्यस्तै, ९ करोड १९ लाख ६ हजार ६३४ रुपैयाँ ६४ पैसा बिगो बमोजिम जरिवाना गराउने भनिएको छ । यसैगरी आरोपपत्रमा जफतको दाबी लिइएको खड्काको घरजग्गा, सेयर नगद बैंक मौज्दात सबै जफत गर्ने आदेश दिइएको योगीको भनाई छ । उता शर्मिला खड्का र अमिता सोदेम्बाको नाममा रहेका ३ कित्ता घरजग्गा बिगो दाबीसम्म जफत गर्न भनिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्कामाथि १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैंया गैरकानुनी रुपमा आर्जन गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारका अनुसार खड्काले गैरकानुनी रुपमा कमाएको रकम श्रीमती शर्मिला खड्का, अमिता लामा साेदेम्बाका नाममा लुकाएर राखेको पनि पाइएको थियो । 

अख्तियारका अनुसार तेह्रथुमको जिरीखिम्ती गाविस वडा नं २ घर भई बूढानीलकण्ठ वडा नम्बर ४ बस्ने अमिता लामा सोदेम्बा कृष्णबहादुर लामाकी छोरी तथा दिपक सोदेम्बाकी श्रीमती हुन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत