विश्व

भारतमा कहालीलाग्दाे रेल दुर्घटनामा २८८ जनाको मृत्यु

  • २१ जेठ आइतबार, २०८० | ११:०२:०० मा प्रकाशित

काठमाडाैं । भारतकाे ओडिशा राज्यमा शुक्रवार भएको उक्त दुर्घटनामा कम्तीमा २८८ जनाको मृत्यु भएको छ भने ८०० भन्दा बढी घाइते भएका छन्।

अधिकारीहरूका अनुसार दुर्घटनास्थलमा फसेका सबै यात्रु तथा घाइतेलाई त्यहाँबाट निकालिएको छ।

प्रधानमन्त्री मोदीले घटनालाई ‘पीडादायी’ भनेका छन्। उनले शनिवार घटनास्थलको भ्रमण गरेका थिए।

उनले घटनामा दोषी पाइएका मानिसहरूलाई "कडा सजाय" दिइने बताएका छन्।

उनले अस्पतालमा उपचाररत घाइतेहरूलाई पनि भेटे र सरकारले उनीहरूको "उपचारमा कुनै कसर बाँकी नराख्ने" बाचा गरे।

भारतमा भएको चार दशकयताकै सबैभन्दा घातक रेल दुर्घटनाको कारण अझै स्पष्ट हुन सकिरहेको छैन।

ओडिशाको बालासोर जिल्लामा भएको उक्त दुर्घटनामा एकै पटक धेरै वटा रेलहरू जुध्ने अवस्था बनेको थियो।

दुर्घटनाको कारण पत्ता लगाउन पूर्ण खालको अनुसन्धान सुरु गरिएको छ।

दक्षिण पूर्वी रेलवेका प्रमुख जनसम्पर्क अधिकृत केएस आनन्दका अनुसार प्रारम्भिक विवरणहरूले ‘सिग्नल फेल’ भएर दुर्घटना भएको सङ्केत गरेको छ।

दुर्घटनाका क्रममा आपसमा ठोकिएका दुई वटा यात्रुवाहक रेलमा करिब दुई हजार यात्रुहरू रहेको अनुमान गरिएको छ।

अधिकारीहरूका अनुसार कोलकाताबाट चेन्नई जाँदै गरेको कोरोमण्डल एक्सप्रेसले शुक्रवार साँझ ७ बजेतिर रोकिएको मालवाहक रेललाई ठक्कर दिएपछि उसका डिब्बाहरू पटरीबाट खसेको बताएका छन्।

तर उक्त रेल कसरी मालवाहक रेलको लिकमा प्रवेश गर्‍यो भन्ने अस्पष्ट छ।

त्यसपछि कोरोमण्डल एक्सप्रेसका धेरै डिब्बाहरू विपरीततर्फको लिकमा पुगेका थिए।

ती डिब्बाहरू यशवन्तपुरबाट हावडा जाँदै गरेको विपरीत दिशामामा रहेको अर्को रेल हावडा सुपरफास्ट एक्सप्रेससँग ठोकिन पुगे।

अझै पनि धेरैले आफ्ना प्रियजनहरूलाई खोजिरहेका छन् र उनीहरू कहाँ छन् भन्ने थाहा पाउन सकिरहेका छैनन्।

आफ्नो परिवारका सदस्यहरू पत्ता लगाउन नसक्नेका लागि सहयोग गर्न एउटा काउन्टर स्थापना गरिएको छ। त्यहाँ भिड छ र सूचीहरू लामा छन्।

तपाईँको मत