बागमती सुधारकाे गुरुयोजनाको २० वर्षमा पानी, ढल, करिडोर, सहायक नदी सफा गरिने
- गाउँ सहर संवाददाता
- १७ जेठ बुधबार, २०८० | १४:०१:०० मा प्रकाशित
काठमाडौं । बागमती नदी र त्यसका सहायक नदीमा करिडोर निर्माण तथा नदी सफा बनाउने उद्देश्यले बीस बर्षीय गुरुयोजना बनाइने भएको छ । सन् २०४३ सम्म बागमतीलाई सफा बनाएर त्यसको दुवैतर्फ करिडोर सडक निर्माणको योजना बनाइएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । गुरुयोजनाका लागि खाका (ड्राफ्ट) बनेको र त्यसलाई अन्तिम रुप दिनका लागि विभिन्न सारेकारवाला निकायसँग छलफल भइरहेको समितिका इन्जिनियर कमल अर्यालले बताए । यस वर्ष अन्तिम रुप दिइने गरी तयारी अघि बढाइएको उनको भनाइ छ ।
उनले भने, “अबको २० वर्षमा बागमतीमा बाँकी रहेका सबै काम सम्पन्न हुने अपेक्षा गरिएको छ ।” गुरुयोजना अनुसार बागमतीको पानी सफा गर्ने, दुवैतर्फ ढल, करिडोर निर्माण गर्ने, यसका सहायक र उपसहायक नदी सफा गरिनेलगायत विषय समेटिएका समितिले जनाएको छ । ठोस फोहरमात्र नभइ तरल फोहर पनि व्यवस्थापन गर्न जरुरी रहेकाले तरल फोहर व्यवस्थापनका क्षेत्रमा पनि काम गरिने समितिका इन्जिनियर अर्यालले बताए । उनका अनुसार तरल फोहर व्यवस्थापनका लागि ढल निर्माण गर्नुपर्ने भएकाले नदी किनारामा ढलको लाइन बिच्छाइने छ । “ढलको लाइनलाई प्रशोधन केन्द्रमा लगेर प्रशोधन गरेपछि सफा भएको पानी मात्रै खसाल्ने योजना छ”, अर्यालले भने । उनले यो काम कतिपय नदीमा भइरहेकाले बाँकी नदीमा पनि अघि बढाइने बताए ।
समितिले अहिले उपत्यकाका ११ खोलामा तरल फोहर व्यवस्थापनको काम गरिरहेको छ । बागमतीसँग जोडिने सहायक खोला तथा सहायक खोलासँग जोडिएका उपसहायक खोलामा काम भइरहेको इन्जिनियर अर्यालले बताए । उनका अनुसार ती सबै खोला बागमतीमा मिसिने हुँदा सबैमा काम गरिएको हो । उपत्यकामा विष्णुमती, मनोहरा, धोबीखोला, टुकुचा, बल्खु, मच्छे खोला, महादेव खोला र मनोमती खोला, नख्खु, कर्मनाशा, हनुमन्ते खोला छन् ।
ती सबै खोला तथा सहायक खोला सफा बनाउन दुबैतर्फ ढलको लाइन बिच्छाउने इन्जिनियर अर्यालले बताए । करिडोर बनाउने, तटबन्ध निर्माण गर्ने, बाँध बनाउने, नदी किनारामा रहेका मठमन्दिरको पुनर्निर्माण पनि गरिने उनको भनाइ थियो । बागमतीमा मिसिने खोलाहरुमा फोहर पानी प्रशोधनको काम हुन बाँकी रहेको इन्जिनियर अर्यालले बताए । “विष्णुमतीमा ढलको लाइन बिच्छाइएको भए पनि विष्णुमती र बागमती मिसिएको ठाउँमा पाँच सय मिटरमाथि जाँदा दाहिनेतर्फ मनोमती खोलाबाट ढल आइरहेको छ”, उनले भने । १३ किमी लम्बाइको उक्त खोलामा दुवैतर्फ १३÷१३ गरी २६ किमी ढलको लाइन नजोड्दासम्म खोला सफा नहुने इन्जिनियर अर्यालले बताए । उनले भने, “मनोमतीसँग जोडिने ससाना खोल्साहरु जुनमा तल ढल बग्छ र माथि गाडी गुड्छन् । त्यसलाई पनि व्यवस्थित नगर्दासम्म बागमती सफा हुँदैन ।”
सरकारले विसं २०६६ मा पाँच वर्षको बागमती कार्ययोजना बनाइएको थियो । अहिले सोही कार्ययोजनालाई परिमार्जित गरेर २० वर्षे गुरुयोजना बनाउन लागिएको समितिले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संसदको बजेट अधिवेशन आव्हान
- शेयरबजार : काराेबार रकम ४ अर्ब नाघ्याे, नेप्सेमा सामान्य अंककाे गिरावट
- रोहित भर्सेस वेस्टइन्डिज ‘ए’ ! तेस्रो हारसँगै नेपालले सिरिज गुमायो
- राष्ट्र बैंकको कारबाहीमा परे ६ बैंक
- जितका लागि वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई विशाल लक्ष्य
- जितका लागि वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई विशाल लक्ष्य
- टी-२० विश्वकप खेल्ने नेपाली टोलीमा समेटिए यी खेलाडीहरू
- काठमाडौंमा सुरू भयाे सीप मेला, २०८१ जनालाई रोजगारी दिने लक्ष्य
- वेस्टइन्डिज ‘ए’सँग फराकिलो अन्तरले पराजित भयाे नेपाल
- साउन १ गतेदेखि पशुपतिमा विद्युतीय शवदाह निःशुल्क
प्रतिकृया दिनुहोस