ब्लग

राप्रपा स्थापनाको ३४ औँ दिवस: अलोकप्रिय व्यक्तिहरुको झुन्डलाई लिएर गन्तव्यमा पुग्न सकिँदैन

राप्रपा स्थापनाको ३४ औँ दिवस

राजसंस्था सहितको प्रजातन्त्र र सर्व धर्म सापेक्ष हिन्दु राष्ट्रको जगमा अडेको सबल, सुरक्षित, सम्बृद्ध, राष्ट्रको रुपमा नेपाललाई विश्व समुदायमा उभ्याउने लक्ष्यका साथ स्थापना भएको राप्रपा टुट-फुट, आरोह-अवरोह व्यह‍ोर्दै नयाँ नेतृत्व सहित स्थापनाको ३४ औँ वर्षमा प्रवेश गरेको छ । यो दिनमा पार्टीका सबै नेता कार्यकर्ता, शुभचिन्तक तथा आलोचक सबैमा शुभकामना व्यक्त गर्दछु ।

नेपालमा राष्ट्रिय चरित्र भएको संस्था भनेकै राजसंस्था हो । मुलुक स्थापना र निर्माणमा यसको उल्लेख्य योगदान रहेको छ । हिमाल, पहाड, तराई सबै भेगका जनतालाई आपसमा जोड्न सक्ने राजसंस्थालाई संवैधानिक रुपमा स्थापना गरेर राष्ट्रिय एकतालाई अझ बलियो बनाउनुपर्ने आवश्यकता देखिएको छ ।

नेपाली राष्ट्रियताको संरक्षणको लागि चलेको संघर्षमा एकीकरणको शक्ति र एकतालाई बल पु-याउन अनि प्रजातन्त्रलाई थप मजवुद बनाउन संविधान भित्रको राजसंस्थाको पक्षमा राप्रपा रहेको छ । यो परिणाम प्राप्त गर्न ध्रुविकृत राजनीतिमा राप्रपाले तत्काल निर्वाचन मार्फत सफलता प्राप्त गर्न सकेन अब यसको लागि संघर्ष र आन्दोलनको विकल्प छैन ।

सबै धर्मलाई सम्मान गर्दै नेपालीको पहिचान हिन्दुराष्ट्र कायम हुनुपर्छ भन्ने दरिलो अडान र दृष्टिकोणका साथ हिन्दु र बाैद्ध सभ्यताको साथै मौलिक पहिचान रहेको संस्कृति समेतलाई सुरक्षित राख्न मन, वचन र कर्मले यसलाई अपनाएर हिँड्ने दल राप्रपा मात्र हो । धर्मभिरुको रुपमा प्रवेश गरेका पश्चिमाहरुको खतरनाक चाल लाई राप्रपाले बुझेको छ ।

तसर्थ हिन्दु, किरात, बाैद्ध, मुसलमान सबै एकमतका साथ नेपालको पहिचान हिन्दु राष्ट्र हुनुपर्छ भन्ने भनाइको नेतृत्व राप्रपाले गर्नुपर्छ ।

मुलुकमा स्थापित शक्तिशाली दलहरु यसको विपक्षमा छन् । दलहरुको कारण जनतासमेत ध्रुविकृत वर्तमानको विश्लेषण गर्दै राप्रपाले आन्दोलनको ज्वारभाटा उठाउनु पर्छ । राप्रपाले यसलाई संसदमा पनि जोडतोडले उठाइरहेको छ । तर संसदबाट यसको समाधान प्रायः असम्भव छ । तसर्थ मूल नीति प्राप्त गर्न राप्रपा आन्दोलित हुनु जरुरी छ ।

शोषण र भ्रष्टाचारलाई मूलधारमा रहेका दलहरुले एकमतका साथ स्वीकार गरेका छन् । खाने ठाउँ आयपछि काले काले मिलेर खाउँ भाले भने झैँ हालैको मानत तस्करको घटना हेरौ राप्रपा बाहेक कुनै ठूला दल चोखा छैनन् । सत्ताधारीहरुको यस्ता गलत विषयलाई समेत मानेर जनताले हिँड्नुपर्ने अवस्थाको सृजना गरिएको छ ।

विश्व बैंक वा अन्यत्रबाट ऋण समेत उपलव्ध नभएको अवस्थामा राजा महेन्द्रको सफल र प्रभावकारी कुटनीतिमार्फत् अमेरिका, चीन, भारत, रुस, बेलायतजस्ता देशहरुवाट सहयोग लिएर बनेको मुलुकको मुख्य आधारशीलाको रुपमा रहेको बाँसवारी छालाजुत्ता कारखाना, जचुकाली, विरगंज चिनी कारखाना, लुम्बिनी चिनि कारखानालगायतका दर्जनौँ कारखानाहरु व्यवस्था परिवर्तनको नाममा खलास गरिएको छ । यो परिवेशमा रहेको चंगुलबाट मुलुकलाई जोगाउन फरकधारमा रहेको राप्रपाबाहेक अरुले सक्दैनन् ।

जनतालाई जगाउँदै व्यापक आन्दोलन मार्फत यो व्यवस्था फाल्न राप्रपाले नेतृत्व गर्नु पर्छ ।

जनता परिवर्तनको पक्षमा छन् । यसको नेतृत्व राप्रपाले किन गर्न सकिरहेको छैन, आश्चर्य यहाँ छ ।

संविधानमा अभिव्यक्त भावना अनुरुप जनताको हित र अधिकार संरक्षणको लागि सरकार केन्द्रित हुनुपर्छ भन्ने चिन्तनबाट शासकहरु च्युत भएका छन् । कुरा अग्रगमन, व्यवहारमा लुट आजको यथार्थ हो । सत्तालाई अधिकारको दुरुपयोग गरि संस्थागत कुत असुल्ने अखडा बनाइँदैछ ।

फलस्वरूप सत्तामा जान दलहरु जस्तोसुकै हतकन्डा गर्न तयार छन् । केवल सत्ताको लागि पैसा, पैसाको लागि भ्रष्टाचार । यहि गोलचक्कर भित्र आज मुलुक फसेको छ । यो सबै परिवेशबाट मुलुकलाई निकास दिने दल राप्रपा बाहेक छैन । तर राप्रपा किन सुस्त छ ? राप्रपा किन सधैँ कमजोर छ ?

यो चिन्तनको परिवेशमा देशभरिका कार्यकर्ताले राप्रपाको उन्नतिको बाधक पुरानो पुस्तालाई ठानेर नया नेतृत्व समेत स्थापित गरे । राप्रपाको लोकप्रियता दिनानुदिन बढदो छ । यसमा गोलवद्द हुनेको संख्या बढिरहेछ । अझ बढ्नेछ तर नयाँ नेतृत्व पनि सुस्त देखिन थालेको छ । आन्तरिक व्यवस्थापनमा चुस्तता छैन । आन्तरिक व्यवस्थापनमा चुस्तता ल्याउन सकिएन भने हाम्रो लोकप्रियता कमजोर नहोला भन्न सकिन्न ।

राजा, धर्म, संस्कृति, कुल परम्परा मान्ने यत्रो वर्गको साथ हामीलाई छ । पञ्चायत व्यवस्थामा काम गरेका बहुदलीय व्यवस्थालाई समेत नेतृत्व दिएका क्षमता र दक्षवान, निष्कलंक नेताहरु एक भएर उभिएका छन् तर पनि किन राप्रपा उठन नसक्ने ?

संसदमा १५,२० सिट हुने चार जना मन्त्री बन्ने राप्रपाको लक्ष्य हो र ?

आफूभन्दा फरक मत राख्नेलाई निषेधको राजनीतिले व्यवस्थामाथि नै आक्रोस बढ्दो छ । यो परिवेशमा राष्ट्रियताको जगलाई सुदृढ तुल्याउन, राष्ट्रको मौलिक पहिचानको पर्याय रहिआएको धम संस्कृतिको जगलाई मजवुद बनाउन, राष्ट्र निर्माणमा उल्लेख योगदान दिँदै आएको राजसंस्था पुनस्र्थापना गर्न अब राप्रपाले विलम्ब नगरी आन्दोलनको नेतृत्व गर्नुपर्छ ।

नेतृत्वको छाति कुखुरे हुनुहुँदैन । चौडा र विशाल छाति लिएर तेरो–मेरा नभनी मन खोलेर अगाडि बढ्नुपर्छ । घर घुमेर कानभित्र छिर्ने, गणेशप्रति नेतृत्व चनाखो हुनुपर्छ । जसले नेतृत्वलाई देवत्वकरण गर्छ त्यसले विनास निम्ताउँछ । यो विगतको उदाहरण हो यसलाई नेतृत्वले बुझ्नु पर्छ ।

नेतृत्वमा छलकपट, जालझेल रहनुहुन्न । यो इतिहासले दिएको अन्तिम अवसर पनि हो । यसको सदुपयोग गरी राप्रपालाई आन्दोलन मार्फत राष्ट्रिय राजनीतिमा नेतृत्वदायी दलको रुपमा स्थापित गराउन नसके भावी पुस्ताले माफी गर्ने छैन । नयाँ पुस्ताले नेतृत्व नवीन राप्रपा भित्र सबैको राजनीतिक भविष्य सुरक्षित हुनु पर्छ ।

यसतर्फ वर्तमान नेतृत्वले ध्यान दिनुपर्छ । नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, गौरवशाली इतिहास, राष्ट्रिय चरित्र, कला, संस्कृति, भाषा र भेष संरक्षणको लागि शिक्षा, स्वास्थ, रोजगारी, यातायात, आवास, पिउने पानी, जिउधनको सुरक्षा, महंगी नियन्त्रण र भ्रष्टाचारको विरुद्ध अबको आन्दोलनको नेतृत्व राप्रपाले गर्नुपर्छ । यसको विकल्प देख्नै हुन्न । हेर्नै हुन्न । सुन्नै हुन्न ।

आन्दोलनको पृष्ठभूमिमा उभिएको राप्रपाले जतिजति आफ्ना आन्दोलित विचार अगाडि बढाउँछ, उतिउति जनसमर्थन पाउने निश्चित छ । यो कामको निमित्त कार्यकर्ताको मनोबल उचो हुनु जरुरी छ । अलोकप्रिय व्यक्तिहरुको समूह वा झुन्डलाई लिएर गन्तव्यमा पुग्न सकिँदैन ।

 यो नेतृत्वले ख्याल गर्नु पर्छ।

यसरी अगाडि बढ्दा आउँदो दिन राप्रपाको हो । यसमा शंका छैन । पार्टी स्थापना दिवसको पुनः सबैमा शुभकामना ।

पाठक राप्रपाका निर्वाचित केन्द्रीय सदस्य हुन् ।

तपाईँको मत