साढे दुई दशक बित्दासमेत किन सम्पन्न भएन वागमती करिडोर ?
- गाउँ सहर संवाददाता
- ११ जेठ बिहीबार, २०८० | ११:३०:०० मा प्रकाशित

काठमाडौं । निर्माण सुरु भएको साढे दुई दशक बित्दासमेत अव्यवस्थित बसोबासका कारण वाग्मती करिडोरको निर्माण सकिएको छैन ।
अव्यवस्थित बसोबासीका विषयमा राष्ट्रिय मुद्दा बनेको र यसको समाधान भएपछि मात्रै ती स्थानमा सडक निर्माण गर्न सकिने बागमती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी कमल अर्यालले बताए । सहरको मध्यभागमा समस्या नभएका ठाउँमा ट्र्याक खोलिसकिएको भए पनि तिलगङ्गा, थापाथली, बल्खुलगायतका क्षेत्रमा अव्यवस्थित बस्तीले गर्दा ट्र्याक खुल्न बाँकी छ । तिलगङ्गादेखि सिनामङ्गलसम्म पाँच-छ सय र थापाथलीमा दुई सय ४३ घरधुरीको बसोबास करिडोर सडक निर्माण गर्ने स्थानमा रहेको छ ।
बानेश्वर क्याम्पस क्षेत्रमा एकातिर मात्रै खुलेको छ भने अर्कातर्फ खुल्न सकेको छैन । तिलगङ्गाबाट अगाडि देब्रे सडक मात्रै खुलेको छ । तीनकुने पुलबाट दायाँतर्फ सिनामङ्गल पुल नजिकै दुई किमी सडक खुल्न सकेको छैन ।
राष्ट्रिय भूमि आयोगले पहिले त्यस समस्याको समाधान गरेपछि मात्रै करिडोर निर्माण अघि बढ्नसक्ने सूचना अधिकारी अर्यालले बताए । आयोग र सम्बन्धित स्थानीय तहको भूमिका बढी रहेको उहाँको भनाइ छ । उनले भने, “वास्तविक सुकुम्बासी को हुन् को होइनन् भन्ने भएपछि थप काम गर्न सकिनेछ ।”
तीनकुनेबाट बुद्धनगर हुँदै थापाथलीसम्मका खण्डमा सडक बनिसकेको छ । शङ्खमूलमा च्यासल मैदानबाट मनोहरातर्फबाट आउँदाका खण्डमा ट्र्याक खुल्न बाँकी रहेको अर्यालले बताए ।
शङ्खपार्क क्षेत्रमा काठमाडौँतर्फ ट्र्याक खुलेको छ भने ललितपुरतर्फ खुलेको छैन । शङ्खमूलबाट ललितपुरतर्फ निरन्तर जाँदा चक्रपथ बल्खु हुँदै सुन्दरीघाटसम्म सडक पुग्छ । सुन्दरीघाटबाट पनि अस्थायी बाटो चोभारको मोर्डन इन्डियन स्कुलको अगाडिसम्म पुगेको उनले जानकारी दिए । उनले भने, “थापाथलीमा अस्थायी बसोबासीको घर धेरै हुँदा समाधान नहुँदासम्म गर्न सकिँदैन ।”
विष्णुमती दोभानबाट अघि बढ्दा फलफूल बजारतिर अघि ट्र्याक खुलेको र अबका दिनमा त्यसलाई स्तरोन्नति गरिने समितिको योजना छ । समितिको कार्यक्षेत्र बागद्वारबाट कटुवाल दहसम्म ४४ किमी हो । सुरु र अन्तिम खण्डमा निर्माण हुन बाँकी छ भने बीचका खण्डमा पनि समस्या नभएका खण्डमा मात्रै निर्माणको काम भएको छ ।
करिडोर निर्माणको काम अव्यवस्थित बस्ती भएको ठाउँमा नै बढी बाँकी रहेको समितिले जनाएको छ । अरु कतिपय ठाउँमा अरु संरचनाका कारण पनि करिडोर निर्माण अघि बढ्न नसकेको पाइएको छ । कतै विद्यालय, क्याम्पस र वृद्धाश्रमलगायतका संरचना रहेकाले निर्माण हुन नसकेको उनले बताए । उनले भने, “अहिले त्यो सारेर काम अघि बढिरहेको छ ।”
काठमाडौंका मुख्य सडकमा रहेको सवारी चाप कम गर्नेसँगै बाग्मती र त्यसको सहायक नदीको संरक्षण गर्ने उद्देश्यले सडक निर्माण र नदी संरक्षणको काम सुरु गरिएको थियो । समिति एक्लैले नसक्ने हुँदा अहिले आएका समस्या समाधानमा सरोकार राख्ने सबै निकाय मिलेर गर्नुपर्ने सूचना अधिकारी अर्यालले बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस