मन्त्रालय भागबन्डा टुंग्याउने गरि सत्ता गठबन्धनको बैठक बस्दै
- १४ चैत मंगलबार, २०७९ | ०६:४७:०० मा प्रकाशित

काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ । बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ ।
बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धनका शीर्ष तीन दलका शीर्ष नेताको बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाउन आज साझेदार दलहरूबीच बैठक बस्ने निर्णय गरेका थिए ।
यसअघि सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो ।
बैठकबाटै नयाँ मन्त्रालयको भागबन्डा र मन्त्रीको नामसमेत टुंगो लगाउने तयारी नेताहरूको छ ।
बैठकमा दलहरूबीच मन्त्रालयको भागबन्डा मिले प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिइसके पनि सत्तागठबन्धन आबद्ध दलहरु बीच भागबन्डामा कुरा नमिल्दा सरकार विस्तारमा ढिलाइ भइरहेको छ ।
सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत दल आबद्ध छन् ।
मन्त्रिपरिषद् विस्तार गरेपछि सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी रहेकाे छ ।
प्रतिकृया दिनुहोस