गाउँ सहर

रामेछापकाे भाइरल डम्फूपार्क र मादलबारे भ्रम र यथार्थ

  • १३ फाल्गुण शनिबार, २०७९ | २१:४६:०० मा प्रकाशित

रामेछाप । केही दिनअघिदेखि सामाजिक सञ्जालमा डम्फु-टुङ्ना र मादलकाे प्रतिमा यतिबेला चर्चा (भाइरल) भइरहेकाे छ । रामेछापकाे सुनापति गाउँपालिका वडा नं. ४ बेथान र वडा नं. ३ हिलेदेवीको सङ्गमस्थलको डाँडामा रहेको डम्फु र टुङ्नाकाे प्रतिमा निर्माण गर्दा लागेको खर्चलाई लिएर सामाजिक सञ्जालमा अनेक तर्क-बितर्क भइरहेका छन् ।

जसमा डम्फु र टुङ्ना निर्माण ८० लाखमा निर्माण भएकाे भनेर भनिएको छ । तर सो पार्ककाे निर्माण लागत जम्मा १६ लाख मात्रै भएकाे गाउँपालिका अध्यक्ष ठूलाेकान्छा तामाङले जानकारी दिए ।

उनले भने- ‘सो डम्फुपार्क आ.व. २०७७/०७८ मा विनियोजित रकम रु. १६ लाखबाट निर्माण भएको हाे । पछि पार्क संरक्षणका लागि भनेर टहराे पनि निर्माण भएकाे छ । त्यहाँ थप पाँच लाख जति खर्च लागेकाे छ । उक्त पार्कमा घुम्न आउनेहरूका लागि पानी, खाजा बेच्न पसल भाडामा लगाएर आएकाे आम्दानीले पार्क सरसफाइ र रेखदेख गर्ने गरिएकाे छ’ उनले भने ।

ठुलाेकान्छा तामाङ- गाउँपालिका अध्यक्ष 

यद्यपी सामाजिक सञ्जालमा भने उक्त प्रतिमालाई मात्रै भाइरल बनाइएको अध्यक्ष तामाङकाे गुनासो छ । उनले सम्बन्धित निकायलाई नसोधि जथाभावी रूपमा गलत सूचना सम्प्रेषण गरेकोमा दुखेसाे पोखे ।

‘विकास निर्माणका कामहरू पनि नियमित भइनै रहेका छन् । ती कामहरू नदेख्ने तर रामै मनसायले निर्माण भएका र भइरहेका यस्ता धार्मिक तथा सांस्कृतिक सम्पदा र संरचनाकाे अनावश्यक दुष्प्रचार गरिनु नियाेजित हाे । पालिकाले विकास निर्माणकाे बजेट कटाएर यी काम भएका हाेइनन् । यी संरचनाहरू पनि स्थानीयकाे माग र धर्म, परम्परा तथा आस्थासँग जाेडिएका मानवीय र भावनात्मक कुराहरू भएकाले बन्नु बनाइनु स्वभाविकै हाे । जहाँसम्म खर्चकाे कुरा छ, कुनै पनि पूर्वाधार निर्माण हुँदा जगमाथि देखिनु र त्यसकाे निर्माणमा हुने खर्च तथा संरचना तयार पारिनुमा फरक नै हुन्छ । संरचना त्यतिकै जमिनमा ठडिँदैनन् । वाल उठानेदेखि निर्माण हुनुअघि उक्त भूगाेल कस्ताे अवस्थामा थियाे र कसरी निर्माण याेग्य जग बनाइयाे भन्ने कुरा पनि त्यहीँ नगइ देखिँदैन । निर्माणमा जथाभावी खर्च भएकाे पनि छैन र बाहिर दुष्प्रचार भएजस्ताे पनि हाेइन । हिसाब किताब पालिकासँग स्पष्ट र चुस्त छ । त्यतिकै ८० लाखमा निर्माण भएकाे भनेर दुष्पचार गरियाे जुन सही हाेइन ।’

गीता विष्ट - गाउँपालिका उपाध्यक्ष 

गाउँपालिका उपाध्यक्ष गीता विष्टका अनुसार पालिकामा विभिन्न जाती, समुदायको कला, वेशभूषा, संस्कृति र पहिचानको संरक्षणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताइन् । 

जातीय पहिचान झल्काउने झाँकी, बाजा, भाषा संस्कार र संस्कृतिको संरक्षणमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भएकाले यस्ता संरचनाहरू बनाइएकाे उनको भनाइ छ ।

‘लुभु–बेथान–हिलेदेवी–गाल्वा सडक अन्तर्गत सुनापतिबाट रामेछापका विभिन्न स्थानमा यात्रा गर्नेहरूका लागि डम्फु र टुङ्ना आकृतिको संरचनामा जो कोहीको पनि आँखा टक्क अडिने गर्छ । पछिल्लो समय डम्फू पार्कमा पुग्नेहरू तस्बिर खिचेर रमाउने र टिकटक बनाउन व्यस्त हुने गर्छन् । अहिले उक्त पार्क जिल्लाकै नमूना आकर्षण केन्द्र बनेकाे छ’ उनले दाबी गरिन् ।

डम्फु पार्कबाट पर्यटकीय गन्तव्य शैलुङ, दोलखाको गौरीशङ्कर हिमाललगायतको क्षेत्रको दृश्यावलोकन गर्न सकिने उनकाे भनाइ छ । 

यसरी बन्याे डम्फुपार्क

तामाङ समुदायको बाहुल्य रहेको सुनापति गाउँपालिकामा तामाङ समुदायको संकृति र संस्कार चिनाउने केही कुरा चाहियाे भन्ने स्थानीयहरूकाे माग हुन थालेपछि पालिकाकाे बैठकबाट ‘डम्फुपार्क’ निर्माण गर्ने सर्वसम्मति पछि निर्माण भएकाे र यसले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन मद्दत गरेकाे गाउँपालिकाका पूर्व अध्यक्ष धावा लामाले बताए ।

‘डम्फु’ तामाङ समुदायको सांस्कृतिक बाजा पनि हो । ‘डम्फु’ लाई सांस्कृतिक पहिचानको रूपमा स्थापित गर्न गाउँमा ‘डम्फुपार्क’ निर्माणको अवधारणा ल्याइएको पालिका पूर्वअध्यक्ष लामाकाे भनाइ छ ।

स–साना विकासका योजना, सामाजिक विकास र जागरणका कार्यक्रमहरू, विपन्न वर्गको हितका निम्ति कार्यविधि र स्थानीय भाषा, संस्कार र संस्कृतिको संरक्षणमा स्थानीय तहले भूमिका खेल्नुपर्छ । स्थानीयको पुर्ख्याैली परम्परा त्यस ठाउँको सम्पत्तिका रूपमा हेरिनुपर्ने भन्ने स्थानीयहरूकाे माग अनुसार नै पार्क निर्माण भएकाे वडा नं. ३ हिलेदेवीका पूर्व वडाअध्यक्ष बाबुराम तामाङकाे भनाइ छ ।

बाबुराम तामाङ-  वडा नं.३, पूर्व वडाध्यक्ष 

चारैतिर घना जंगल, चराचुरुंगीको चिरबिर आवाज, गाउँलाई सहर जोड्ने नागवेली ग्रामीण सडक । वनकाे बीच डाँडा निर्माण भएको तामाङ समुदायको सांस्कृतिक पहिचानको प्रतीक ‘डम्फु’ पार्कले सबैको मन तानिरहेको पूर्व वडाअध्यक्ष तामाङ बताउँछन् । 

‘सुनापतिमा लहरेमाने पुनर्निमाण, सेताे मछिन्द्रनाथकाे मूर्ति, गुरू पद्भ सम्भवकाे मूर्ति स्थापना भएका छन् त्यसकारण याे धार्मिक सांस्कृति संरक्षण र प्रवर्धनकाे अभियान नै हाे’ तामाङले भने । 

वडा नं ४ बेथानमा निर्माण भइरहेकाे मादलबारे

डम्फुपार्कसँगै साेही पालिकाकाे वडा नं ४ बेथानमा निर्माण भइरहेकाे मादलकाे प्रतिमाकाे बारेमा पनि चर्चा चुलिएकाे छ । उक्त मादल निर्माणमा १० लाख खर्चिएकाे भन्ने समाचार सार्वजनिक भएपनि पालिका उपाध्यक्ष विष्टले मादलकाे प्रतिमा निर्माणमा रू. ५ लाखमा निर्माण कार्य भइरहेकाे उल्लेख गरिन् । 

निर्माणाधिन मादलकाे प्रतिमाकाे बारेमा उपाध्यक्ष विष्टले भनिन्- ‘बाहिर चर्चा भएजस्ताे ठूलाे खर्चमा हाेइन, जगदेखि निर्माण सम्पन्न गरूञ्जेलसम्मका लागि रू. ५ लाख खर्च छुट्याइएकाे हाे । प्रतिमा निर्माणका लागि मात्रै हाेइन । त्यसैले यसमा कुनै अनियमितता र जथाभावी खर्च गरिएकाे छैन । मादल हामी सबैकाे सांकृतिक बाजा पनि हाे । गाउँघरमा मादल बजाउँने, गाउँने संस्कृति लाेप हुन थालेपछि स्थानीहरूकै मागस्वरूप यसकाे संरक्षण र प्रतिकात्मक रूपमा यसकाे निर्माण गरिएकाे हाे । हल्ला खल्ला मात्रै बढी भयाे । पालिकाभर यस्ता विभिन्न संरचनाहरू निर्माण भइरहेका छन् ।’ 

धार्मिक तथा सांस्कृतिक संग्रहालयकाे अवधारणा

पालिकामा धार्मिक तथा सांस्कृतिक मठ, मन्दिर, गुम्बा तथा पार्कहरू निर्माणकाे माग उठ्न थालेपछि जनप्रतिनिधहरूमाझ बृहत छलफल गरेर कुनै जात वा धर्म विशेषकाे मात्रै भन्दा पनि सबैलाई समेट्ने गरि भूगाेल, माग र जातिय घनत्व अनुसार धार्मिक तथा सांस्कृतिक संग्रहालयकाे अवधारणामा काम गराैँ भन्ने सल्लाहमा कामहरू भइरहेकाे गाउँपालिका पूर्व अध्यक्ष धावा लामाले बताए । 

धावा लामा - गाउँपालिका पूर्वअध्यक्ष

‘चर्चामा तथा डम्फुपार्क र मादलकाे मात्रै कुरा छ तर हामीले पालिकाभर नै धार्मिक तथा सांस्कृतिक संग्रहालयकाे अवधारणामा पूर्वाधार निर्माण र स्तराेन्नतीका काम थालेका हाैँ । मलाई लाग्छ हालका पालिका अध्यक्ष ठूलाेकान्छा तामाङले पनि साे कामलाई निरन्तरता दिनुभएकाे छ । यसमा धेरै हल्ला खल्ला गरेर बदनामै हुने केही गरिएकाे पनि छैन र भएकाे पनि छैन । स्थानीय निकायकाे आम्दानीकाे स्राेत केही हुन्न । गाउँमा पनि आम्दानीकाे बाटाे कृषि बाहेक अन्य खासै हुन्न त्यसैले हामीले बरू बाह्य तथा आन्तरिक पर्यटकहरू घुम्न आउँदा पालिकभर प्रत्यक्ष तथा अप्रत्यक्ष आम्दानी हुने कही न केही आकर्षणकाे पूर्वाधार पनि निर्माण गराैँ र हाम्रा परम्परागत धार्मिक तथा जातीय प्रचलन र सांस्कृतिक कुराहरूकाे पनि जगेर्ना हुने खालकाे याेजना बनाउने क्रममा याेजनाबद्ध रूपमै यी पूर्वाधारहरू निर्माण भएका हुन् ।’ 

विकास बजेट कटाएर प्रतिमा, मुर्ती वा मठ मन्दिर निर्माण नगरिएकाे उनकाे दाबी छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग बजेट माग गरि यस्ता कामकाे थालनी गरिएकाे उनले बताए । 

पूर्व अध्यक्ष तामाङका अनुसार सुनापतिमा लहरेमाने पुनर्निमाण, सेताे मछिन्द्रनाथकाे मूर्ति, सुनापतिमा ठूलाे मन्दिर र त्यहाँसम्म जाने बाटाे निर्माणमासमेत ठूलाे बजेट परेकाे र साे कामहरू भइरहेकाे बताए । 

Raju Khadka लेख्नुहुन्छ १५ फाल्गुण, २०७९ ०९:०८ am

बिकास भनेको यसरि हुनु पर्छ। यो सामान बिदेस बाट मगाको हो । यो बजाउदा पानी जता ततै आउछ।

तपाईँको मत