अर्थतन्त्र

वाग्मती प्रदेशमा ६ महिनामा ११ अर्ब १९ करोड खर्च

  • २१ माघ शनिबार, २०७९ | १२:२४:०० मा प्रकाशित

काठमाडाैं । वाग्मती प्रदेश सरकारको कूल बजेटमध्ये चालु आर्थिक वर्षको ६ महिनामा रु ११ अर्ब १९ करोड ६७ लाख ८० हजार खर्च भएको छ ।

वाग्मती प्रदेश सरकार प्रदेश लेखा नियन्त्रकको कार्यालय  हेटौंडाका अनुसार चालु आवमा रु ७० अर्ब ९३ करोड ९२ लाख ९१ हजार बजेट ल्याएको वाग्मती प्रदेश सरकारले चालु आवको छ महिनामा रु ११ अर्ब १९ करोड ६७ लाख ८० हजार खर्च गरेको छ ।  चालु आव २०७९/८० को साउनदेखि पुस मसान्तसम्ममा १५ दशमलव ७८ प्रतिशत कूल खर्च भएको बताइएको छ ।

सो अवधिमा सरकारले रु १६ अर्ब १५ करोड विभिन्न शीर्षकबाट राजस्व संकलन गरेको प्राप्त तथ्यांकले जनाएको छ । चालु आवको छ महिनामा उक्त राजस्व संकलन सरकारको खर्चभन्दा बढी देखिए पनि गत आवको तुलनामा कम रहेको छ । गत आवको छ महिनामा सरकारले रु आठ अर्ब खर्च गरेको थियो भने सो अवधिमा सरकरले रु २३ अर्ब राजस्व संकलन गरेको थियो ।

गत आवको सोही अवधिको तुलनामा प्रदेश सरकारको खर्च बढेको छ भने राजस्व संकलनमा २९ प्रतिशतले कम भएको सो कार्यालयले जनाएको छ । सो कार्यालयका प्रमुख लेखा नियन्त्रक हरिप्रसाद उपाध्यायका अनुसार प्रदेश सरकारको मुख्य आयस्रोत घरजग्गा रजिष्टे«शन, सवारी साधन, मूल्य अधिवृद्धि कर, लोकसेवाको परीक्षा शुल्क, कृषि फार्मको उत्पादन, प्रशासनिक दण्ड जरिवाना, बेरुजु असुललगायत छन् । संघीय सरकारबाट प्राप्त हुने मूल्य अभिवृद्धिकर घट्दा प्रदेश सरकारको आम्दानीसमेत कम भएको  तथा घरजग्गाको रजिष्ट्रेशन शुल्क रु सात अर्ब अनुमानित रहेकोमा सो शुल्क कम भएकाले पनि आम्दानी कम भएको बताइएको छ । 

सरकारको आम्दानी कम भइरहको र खर्च बढी भइरहको विषयमा अध्ययन भइरहेको उनको भनाइ छ । ६ महिनामा खर्च भएकोमध्ये ६ छ अर्ब २१ करोड ८६ लाख १८ हजार पाँच सय ६३ चालु र रु चार अर्ब ३७ करोड ८१ लाख ६१ हजार आठ सय ५९ पुँजीगत खर्च हो । रासस

तपाईँको मत