गाउँ सहर

तीन पटक मन्त्री भएका पाण्डे को हुन् ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे शहरी विकास मन्त्री नियुक्त भएका छन् । गत मंसिर ४ मा चितवन ३ बाट निर्वाचित पाण्डेले विकासे मन्त्रालय पाएका छन् । त्यसो त उनी चितवनमा विकासवादी नेताको रुपमा चिनिन्छन् । विक्रम र विकास एउटै भएको भन्दै चितवनका जनताले एकातिर पाँच दलिय गठवन्धन अर्कोतिर कांग्रेस र एमालेको गठवन्धनलाई चिर्दै उनलाई जिताएका छन् ।

‘उहाँ (पाण्डे) नेतृत्वको कम्पनीले गरेका काम सन्तोषजनक नै छन् । केही कामहरु निर्माण चरणमा रहेकाले अनावश्यक विवाद झिकिएको हो । तर, अध्यक्षले उहाँका कामहरु हेरेर नै शहरी विकास मन्त्रालय दिनु भएको हो,’ राप्रपा स्रोत भन्छ । 

को हुन् पाण्डे ?

जिल्लास्तरदेखि राजनीति सुरु गरेर केन्द्रीय स्तरका नेता बनेका पाण्डे कालिका कन्स्ट्रक्सन प्रा.लिका अध्यक्षसमेत हुन् । उनको राजनीति चितवन जिल्लाको राप्रपा जिल्ला उपाध्यक्षबाट सुरु भएयको हो । राप्रपाको पोखरा महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । राप्रपाका तत्कालीन अध्यक्ष पशुपतिशमशेर जबरासँग हुँदा उनी महामन्त्री र अहिले गत कार्तिकमा सम्पन्न राप्रपा महाधिवेशनमा उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

पाण्डे २०५६ देखि लगातार चितवनबाट ५ पटक राप्रपाको तर्फबाट निर्वाचन लडेका थिए । तर, उनले दुई पटक मात्रै जित हात पारे । 

२०७० र २०७९ मा सांसदमा निर्वाचित पाण्डे तीन पटक मन्त्रीसमेत भएका छन् । ०७० सालपछि उनी भूमीसुधार र वन मन्त्री भएर काम गरे । पाण्डे भूमीसुधार मन्त्री भएका बेला नै सेवाग्राहीहरुलाई सुविधा दिन मालपोत कार्यालय र नापी कार्यालय  जिल्लाको सदरमुकाममा मात्र रहेकोमा त्यसलाई आवश्यकता अनुसार विस्तार गरेका थिए । मालपोत कार्यालयलाई डिजिटल प्रणाली अन्तरगत विस्तार गर्दै मालपोत तथा नापिमा कम्प्युटर सेवा त्यहि समयदेखि सुरु भएको हो ।

चितवनको माडी प्रवेश गर्न लाग्ने कर उनी वन मन्त्री हुँदा हटाएका थिए । जनताले आफ्नै घर जान पनि कर तिर्नुपर्ने बाध्यतालाई हटाउँदै त्यसयता उनी सो क्षेत्रका जनतामाझ लोकप्रियसमेत छन् । पाण्डे विभिन्न कालखण्डमा चर्चामासमेत आउने गरेका छन् । राप्रपा केन्द्रीय सदस्य जनकराज पाठकका अनुसार सिक्टा सिंचाइ आयोजनामा उनलाई राजनीतिक प्रतिसोधका कारण सिध्याउन ठूलै गिरोह सक्रिय रहेपनि अन्ततः विशेष अदालतले उनलाई पुर्ण सफाइ दिएको थियो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उत्तः आयोजनामा भएको भ्रष्टाचारबारे पाण्डेसहित २१ जनाविरुद्ध साढे ८ अर्बभन्दा बढी बिगो, त्यति नै जरिवाना तथा २ वर्ष कैद मागदाबीसहित चार वर्षअघि विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले गत असार ५ मा उनीहरूलाई सफाइ दिइसकेको छ ।

कालिका कन्स्ट्रक्सनले गरेका काम

सामाजिक दायित्व अन्तरगत उनी सम्मिलत कालिका कन्स्ट्रक्सनले गरेको कामहरु रत्न राजमार्ग अन्र्तगत राँझा–कोहलपुर सडक\निर्माण, विराटनगर महानगरपालिका, वीरगञ्ज महानगरमा निर्मित सडक, इनरुवा बसपार्क र सडक निर्माणलगायतका कामहरु प्रसंसनीय छन् ।

उनी सम्मिलित कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट पटक–पटक प्रशंसा पत्र तथा अवार्डहरु प्राप्त गरेका छन् ।

साथै पाण्डेले ०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा भग्नावशेष व्यवस्थापनमा नि:शुल्क रुपमा हेवि इक्युपमेन्ट सहयोग स्वरुप प्रदान गरेका थिए । उनले भग्नावशेष व्यवस्थापनमा खटिएको नेपाली सेनालाई स्काभेटर र लोडरलगायतका हेवि इक्युपमेन्ट तीन महिनाका लागि निःशुल्क प्रदान गरे स्वरुप सेनाले कदरपत्र मार्फत सम्मान गरेको थियो । पाण्डे अध्यक्ष रहेको कालिका कन्स्ट्रक्सनले  तीन महिनासम्म क्याटरपिलर एक्जाभेटर चार वटा र क्याटरपिलर ब्याकहो लोडर चार वटा उपलब्ध गराएका थिए । 

कालिका कन्स्ट्रक्सनले सम्पन्न गर्ने चरणमा रहेका काम

कालिका कन्स्ट्रक्सनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभाग र उर्जा मन्त्रालयसँग ठेक्कामा लिएर करिब ४९ अर्बभन्दा बढीका कामहरु गरिरहेको छ । कन्स्ट्रक्सनले सडक विभागको २७ अर्ब ८७ करोड ६१ लाख २३ हजार र तनहुँ जलविद्युत् आयोजनामा २१ अर्ब ६६ करोडो ठेक्का लिएर काम गरिरहेको हो । साथै सर्वोच्च अदालतको भवन निर्माणको जिम्मेवारी पनि कालिका कन्स्ट्रक्सनले पाएको छ । उसले ५ अर्ब ८७ करोडको ठेक्कामा संयुक्त रूपमा काम गरिरहेको छ । 

कालिकाले ठेक्कामा लिएको बागमती सौन्दर्यीकरणको काम जारी राखेको छ । कालिकाले आगामी फागुनसम्ममा सक्नुपर्ने काममा १८८ रोपनी क्षेत्रको जग्गाको मुआब्जा विवादका कारण ढिलाइ रहेको छ । 

एक अर्ब ५ करोड रुपैयाँमा ठेक्का लिएर जारी उक्त काम मुआब्जा समस्या कारण समयमा सम्पन्न गर्न कठिनाई भएकाले असार मसान्तसम्मको समय मागिएको आयोजनाले जनाएको छ । आयोजनाले नख्खु खोलाको काम पनि अन्तिम चरणमा पुर्याएको छ । 

त्यस्तै गल्छी–बेत्रावती– मैलुङ–स्याफ्रुबेंसी सडक खण्डको काम पनि अन्तिम चरणमा पुगेको छ । उत्तः सडक अन्र्तगत ११ वटा पुल निर्माणको संयुत्तः ठेक्का लिएको कालिकाले ५७ करोड ९५ लाखमा काम सुरु गरेको थियो । 

एक सय ४० मेगावाट उत्पादन क्षमता रहेको तनहुँ जलविद्युत् आयोजनाको काम पनि कालिकाले संयुक्त रुपमा गरिरहेको छ । कालिकाले संयुक्त रुपमा गोकर्ण ब्यारेजदेखि सिनामंगल भत्केको पुलसम्म करिडोर चारआली–केचना सडक, रतुवा–केशल्या सडक, तामाकोसी पुल, मुगिटार रामेछाप वाग्मती मधोपुर–बैरिया पुल, वीरगन्ज–ठोरी सडक, जनकपुर–ढल्केबर सिँचाइ आयोजना, चन्द्रौटा–कृष्णनगर सडक स्तरोन्नति, कटहरी–मोतीपुर–कसेनी बेलबारी सडक, मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुली बजार–हेटौंडा सडक, मध्यपहाडी राजमार्गको वसन्तपुर–मैलुङ सडक स्तरोन्नति, मदन भण्डारी राजमार्गअन्तर्गत इलाम खण्डमा पुल निर्माणलगायतका काम गरिरहेको छ ।

देशभरि राप्रपा भित्र लोकप्रिय नेताको रुपमा पान्डे चिनिन्छन् ।उनी आफ्नो आडानमा अडिग रहने तथा सत्यको पक्षमा सधैँभरि पार्टीमा उभिने नेतामा चिनिन्छन् ।

चितवनको माणि क्षेत्रमा उनले गरेका विकासका नमुनाहरु हेर्न लायक छन।वर्षौ नै राप्ती नदिले कटान गरेर जनतालाई दिइरहेको दु:खबाट मुक्ति दिलाउन उनले राप्ती तटबन्धको योजना अगि सारेका छन् । चितवनमा योभन्दा अगाडि एकै पटक उनले सुकुम्बासीलाई हजारौँ धनी पुर्जा बाँडेका थिए । आफ्नो यो कार्यकाल भरिमा उनि सम्पूर्ण सुकुम्बासीको समस्या समाधान गर्न क्रियाशील रहेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत