खेल

नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मनोज प्रभाकरले दिए राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् ।

प्रभाकरले जिम्मेवारी पाएको चार महिनामै प्रशिक्षकबाट राजीनामा दिएका हुन् । 

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार सामाजिक सञ्जालमार्फत प्रभाकरले तत्कालै लागु हुनेगरी नेपाली टिमको जिम्मेवारीबाट राजीनामा दिएको र क्यानले त्यसलाई स्वीकृत गरेको जानकारी दिएको छ ।

भारतीय टिमका पूर्वअलराउन्डर प्रभाकरले साउनमा नेपाली टिमको जिम्मेवारी पाएका थिए । तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएपछि क्यानले प्रभाकरलाई टिमको जिम्मेवारी सुम्पिने निर्णय गरेको थियो । 

प्रभाकरको प्रशिक्षणमा नेपालले पहिलोपटक ट्वान्टी–२० र एकदिवसीय शृंखलाका लागि केन्या भ्रमण गरेको थियो । जहाँ नेपालले ट्वान्टी–२० शृंखला ३–२ ले जित्दा एकदिवसीय शृंखला भने ‘क्लिन स्वीप’ गरेको थियो ।

सन् २०१८ मा नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएयताको चार वर्षमा पाँचजना प्रशिक्षक परिवर्तन भएका छन् । तीमध्ये चार जनाले सम्झौताको समयावधि अगाडि नै राजीनामा दिएका छन् ।

एक वर्षको सम्झौता गरी साउन अन्तिम साता नेपाल आएका प्रभाकरको प्रशिक्षणमा नेपालले केन्यासँग टी–२० अन्तर्राष्ट्रिय शृंखला तथा एकदिवशीय शृंखला जितेको थियो ।

नेपालले स्कटल्याण्ड र नामिवियासम्मिलित शृंखलामा कुनै पनि खेल जित्न सकेन । पछिल्लो समय क्यानका पदाधिकारीसँग पनि प्रभाकरको सम्वन्ध बिग्रिएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत