स्रष्टा सम्मान तथा वादविवाद प्रतियोगिता सम्पन्न
- जयराम बिडारी
- १७ मङ्सिर शनिबार, २०७९ | २१:३४:०० मा प्रकाशित

काठमाडाैँ । प्रोग्रेसिभ एजुकेसनल फोरमको आयोजना र ज्ञानदीप शिक्षा सदनको संयोजकत्वमा काठमाण्डौ ७ गौरीनगर चावहिल स्थित ज्ञानदीप शिक्षा सदनको प्राङ्गणमा स्रष्टा सम्मान र विद्यार्थीहरुबीच वादविवाद प्रतियोगिता सम्पन्न गरिएको छ ।
कवि समालोचक सीता भट्टराईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा छन्द अभियन्ता, वरिष्ठ कवि तथा समालोचक प्रा. डा रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यताका साथै विद्यालयका संथापक प्राचार्य, निर्देशक, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थीहरूको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
समारोहमा कवि तथा समालोचक डा. रमेश शुभेक्षु र कवि तथा समालोचक धर्म पोख्रेललाइ सम्मानित गरिएको थियो । सम्मानित स्रष्टा रमेश शुभेच्छुले आफू यसरी सम्मानित हुन पाउँदा गौरव बोध गर्दै विद्यालय परिवार र प्रोगेसिभ एजुकेसनल फोरम प्रति आभारी रहेको र जीवनमा अझै धेरै कुरा गर्नका लागि प्रेरणा मिलेको विचार ब्यक्त गरेका थिए । त्यसैगरि अर्का स्रष्टा धर्म पोख्रेलले पनि त्यो क्षणलाई अविस्मरणीय र उर्जामय क्षणका रूपमा लिँदै भविस्यमा अझ केही गर्ने उत्साह र प्रोत्साहन प्राप्त भएको बताएका छन् ।
कार्यक्रममा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले ‘’मानव कल्याण र राष्ट्र विकासका लागि वैज्ञानिक शिक्षा वरदान कि अभिशाप" विषयको वादविवाद प्रतियोगितामा सहभागिता जनाएकाा थिए । विद्यार्थीहरूले आजको युग विज्ञान र प्रविधिको युग भएकाले आजको युगमा वैज्ञानिक शिक्षा अपरिहार्य रहेको औंल्याउँदै यसले समाजलाई रूपान्तरण गर्न विकास गर्न मद्दत गर्ने कुरामा जोड दिएका छन् ।
वैज्ञानिक शिक्षा भन्नाले विज्ञानले आविस्कार गरेको ज्ञान भन्ने बुझिन्छ । आज हामी एक्काइसौँ शताब्दीमा उभिएका छौँ । यो समय भनेको नै विज्ञानसम्मत शिक्षाको चरमोत्कर्षक शिक्षाको विकास भएको समय हो । वैज्ञानिक शिक्षा भन्नाले प्रयोग योग्य र प्रमाणित ज्ञान भन्ने बुझिन्छ । आज संसार नै यस्तै प्रयोग योग्य र प्रमाणित ज्ञानबाट मात्र विकशित हुँदै अघि बढेको छ । समयले कोल्टे फेरिसकेको छ हिजोको ढुङ्गे युग अनि शास्त्रसम्मत ज्ञानलेमात्र आजको युग अगाडि बढ्न सक्दैन । हामीले प्रयोग गर्ने यातायात,पकाउने ग्यास चुलो, उमार्ने बोट बिरुवा, देखि लिएर विश्वको अवलोकन, निरीक्षण, परीक्षण, मूल्याङ्कन, सबै सबै वैज्ञानिक कारण कै उपज हुन् । यसबाट नै मानिसले आफ्नो जीवन,समाजको जीवन र देश, विश्व र अन्तर्राष्ट्रिय जीवनसमेतलाई प्रगति र गतिको मार्ग खोल्न सफल बनेको देखिन्छ भन्ने जस्ता विषयगत रुपमा तार्किक विचार ब्यक्त गरेका थिए ।
विज्ञानसम्मत शिक्षा आजको युगमा अनिवार्य र अपरिहार्य बनीसकेको छ । वैज्ञानिक शिक्षाले गर्दा नै मानिस आज दिन दुइगुना रात चौगुना विकास गर्दै आइरहेको सर्वविदितै छ । यसले गर्दा भौतिक विकासका सामाग्री मानिसले बनाउन सफल भएकोले जीवनलाई पूर्ण सुख सुविधायुक्त बनाउन सफल भयो । आज विस्तारामै सुतिकनै विश्व अवलोकन गर्न सक्ने भयो । चन्द्रमामा वस्ती बसाउन देखि समुद्रमाथि घर बनाउने, रकेट उडाउन हात हातमा मोबाइल, घर घरमा गाडी, टेबुल टेबुलमा ल्यापट कोठा कोठाम एसी, सेकेण्ड सेकेण्डमा फिलिम र मनोरन्जनका साधनको प्रयोग आदि सबै बैज्ञानिक शिक्षाको उपज हो । विश्वको इतिहासलाई पल्टाएर हेर्दा आजका वैज्ञानिक, डाक्टर, इन्जिनियर,अर्थशास्त्री, गणितज्ञ राजनितिज्ञ, दार्शनिकले समाजलाई कसरी प्रगति र गतिका मार्गमा पुर्याउन सफल भए भनेर खोज्ने हो भने यो सबै वैज्ञानिक शिक्षाको कारण सम्भव भएको देखिन्छ । तर विडम्बना के छ भने अझ पनि हाम्रो जस्तो अल्पवपकसित मुलुकमा यस्तो शिक्षाको अभाव नखट्किएको हैन ।
विकट, दुर्गम वस्तीहरूमा छौपडी, बोक्सी, धामी, जस्ता अवैज्ञानिक शिक्षाले नसताएको भने हैन । यस्ता घट्नाले कतिको जीवन अकालमा नै सिद्धिएको हामीले पाएका छौँ । व्यवस्थित जीवन शैली,सम्वृद्ध जीवनका लागि यस्ता शिक्षाले हानी पुग्न गएका घट्नाहरू यत्रतत्र हामीले नदेखेका पनि छैनौं समाजलाई सुधार गर्न, समाजको विकास गर्न र रुढीग्रस्त, अनि अन्धविश्वासयुक्त ज्ञानले गर्दा हाम्रो समाजलाई सही मार्गमा पुग्न अवरोध खडा गरिरहेको छ । मानिस ढुङ्गेयुगबाट विकसित हुँदै विविध चरण पार गर्दै आजको समाजलाई परिवर्तन गर्दै त आयो तर समाजलाई वैज्ञानिक ढङ्गबाट अगाडि बढाउनुपर्छ भन्ने चेतनामा भने अझ पनि हाम्रो समाज पिछडिएको देखिन्छ ।
कतै संस्कारका नाममा, कतै धर्मका नाममा, कतै लिङ्ग र वर्णका नाममा मानिसले मानिस माथि गरिने व्यवहारहरू अवैज्ञानिक शिक्षाका रूपमा अझै पनि हाम्रो समाजमा विकसित भएको पाइन्छ । यसले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै दुर्वल बनाएर वैज्ञानिक सम्पन्न जीवनशैली बाँच्नको लागि कठिनाइ बनाइरहेको पाइन्छ । अबका दिनमा हामीले यस्ता किसिमका अवैज्ञानिक शिक्षालाई हटाउन, उन्मुलन गर्न व्यक्तिगतरूपमा मात्र नभएर शैक्षिक, सामाजिक र राष्ट्रिय रूपमा नै अभियान चलाउनुपर्ने देखिन्छ । मानिसमा चेतना फैलाउन अझ बाँकी रहेको हुँदा यस्ता विषयतर्फ सबैको ध्यान पुग्नु जरुरी देखिन्छ । मानव कल्याण र राष्ट्र विकासका लागि आज वैज्ञानिक शिक्षाको खोजी, अनुसन्धान, प्रयोग प्रत्येक घर, संघ, संस्था, विद्यालय,विश्वविद्यालय देखि राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा नै आवश्यक देखिन्छ ।
कार्यक्रममा विद्यार्थीहरू हर्सित, उल्लासित र उत्सुक देखिन्थे । सोही अवसरमा ज्ञानदीप शिक्षा सदन लगायतका विभिन्न विद्यालयबाट भाग लिन आएका विद्यार्थीहरूले वैज्ञानिक शिक्षालाई जोडदिने पक्षबाट वादविवादमा भाग लिँद नृत्य, गायन र कविता वाचन समेत गरेका थिए ।
प्रोगेसिभ एजुकेसनल फोरमका विद्यालय र सहभागी विद्यार्थीहरु मध्य अनमोल ज्योति विद्यालयकी कक्षा दशमा अध्ययनरत छात्रा समीक्षा बराल प्रथम, न्युमोनिक एकेडेमीकी कक्षा दशमा अध्ययनरत छात्रा राधिका श्रेष्ठ द्वितीय तथा मोक्षदा विद्यालयका कक्षा आठमा अध्ययनरत छात्रा तपस्या खतिवडा तृतीय र दुर्गाभवानी एकेडेमीका कक्षा नौमा अध्ययनरत छात्रा सृष्टि भन्डारीले सान्त्वना स्थान प्राप्त गर्दै पुरस्कृत समेत भएका थिए । कार्यक्रमका संयोजक ज्ञानदीप विद्यालयका शिक्षक बिष्णु कोइराले स्वागत मन्तव्य राखेका थिए ।
प्रोग्रेसिव एजुकेसनल फोरमका सदस्य सचिव लम्बोदर घिमिरले कार्यक्रममा धन्यवाद व्यक्त गर्दै अतिथिहरूको तथा स्रष्टा सम्मान गरिएको थियो । साथै प्रमुख अतिथि प्रा डा. रामप्रसाद ज्ञवालीद्वारा विद्यार्थीहरुलाइ प्रेरणा र प्रोत्साहन युक्त अभिव्यक्ति प्रदान गरिनुका साथै कवि तथा समालोचक डा. रमेश सुभेक्षु अनि धर्म पोखरेल जस्ता स्रष्टाहरुको सम्मान गर्न पाउँदा अत्यन्त खुशी लागेको विचार व्यक्त गर्दै प्रोगेसिभ एजुकेसनल फोरमले विद्यार्थीको भविष्य बनाउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुका साथै विद्यार्थीहरूले पनि आफ्नो जीवन उज्यालो बनाउन सामान्य भएर हैन अझ आफू फरक भएर प्रतिभा देखाउनुपर्ने कुरामा जोड दिनुका साथै अशल चरित्र निर्माण गर्दै सुन्दर भविष्य बनाउनु पर्ने कुरामा जोड दिइएको थियो ।
तीन घण्टासम्म निरन्तर चलेको कार्यक्रममा अतिथिलाई खादा, दोसल्ला ओढाएर सम्मान गरिएको थियो । ज्ञानदीपकी शिक्षिका शुसीला बस्नेत र विद्यार्थी स्वीकृति नेपाल एवम् मनिस रेग्मीद्वारा संयुक्त रुपमा सन्चालन गरिएको उक्त कार्यक्रम करिव तीन घण्टा निरन्तर चलेको थियो । साहित्यकार तथा ज्ञानदीप शिक्षा सदन विद्यालयका प्राचार्य एवं अध्यक्ष सीता भट्टराईद्वारा भविष्यका कर्णाधार सुन्दर कोपिलारुपी विद्यार्थीहरुको सृजनशील,सार्थक र तथ्यपरक प्रस्तुतिले आनन्दित तुल्याएको विचार ब्यक्त गर्दै सफल भविष्यको कामनाका साथ सभा विसर्जन गरिएको थियो ।
प्रतिकृया दिनुहोस